किन आए चिनियाँ विदेशमन्त्री ?

काठमाडौं । चीनका विदेशमन्त्री वाङ यी आइतबार अपराहृन काठमाडौं आइपुगेका छन् ।  विदेशमन्त्री वाङ नेपालको तीन दिने भ्रमणका लागि आएका हुन् । वाङलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री डा. सुरेन्द्रकुमार यादव, चीनका लागि नेपाली राजदूत लीलामणि पौड्याल, परराष्ट्र सचिव शंकरदास वैरागी, नेपालका लागि चिनियाँ राजदूत हउ यान्छी लगायतले स्वागत गरे ।  

परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीको औपचारिक निमन्त्रणामा १९ सदस्यीय टोलीको नेतृत्व गर्दै वाङ नेपाल आएका हुन् । उनी पाकिस्तानको इस्लामावादबाट सिधै आएका हुन् । चार वर्षपछि चिनियाँ विदेशमन्त्रीबाट नेपाल भ्रमण भएको हो ।

पराराष्ट्रमन्त्री प्रदीप ज्ञवालीको नेतृत्वमा नेपाली प्रतिनिधि मण्डल र वाङकको नेतृत्वमा चिनियाँ प्रतिनिधि मण्डलबीच सोमबार द्विपक्षीय वार्ता हुने कार्यक्रम छ । सोमबारै परराष्ट्रमन्त्री ज्ञवालीले वाङको सम्मानमा रात्रिभोज आयोजना गर्ने छन् ।   

चीनले अघि बढाएको बेल्ट एण्ड रोड इनिसियटिभ (बिआरआई), चिनियाँ सहयोगमा नेपालमा निर्माणाधीन परियोजनाबारे छलफल हुने परराष्ट्र मन्त्रालयले जनाएको छ ।

परराष्ट्र मन्त्रीस्तरीय द्विपक्षीय वार्तामा तातोपानी र केरुङ नाकाका अध्यागमनमा सहजता, रसुवाको टिमुरेमा बनाइने ड्राइपोर्ट लगायतका भौतिक संरचना, चीन—काठमाडौं रेलमार्ग निर्माण लगायतका विषयमा छलफल हुने एजेण्डा परराष्ट्रले तय गरेको छ ।

प्रतिनिधिमण्डलस्तरीय वार्ता आर्थिक र विकास साझेदारीमा केन्द्रित हुनाका साथै त्यसमा नेपाल–चीन सम्बन्धका विविध पक्षमा गहन समीक्षा हुनेछ । पारस्परिक हित र चासोका सबै विषयमा विचारविमर्श हुने वार्तामा दुई देशबीच भएका सन्धिसम्झौता तथा नेपालमा सञ्चालित विकास–निर्माणका परियोजनाको पुनरावलोकन तथा तिनको द्रुत कार्यान्वयनमा जोड दिइने बताइएको छ । अर्थ मन्त्रालयका एक जना उच्च अधिकारीका अनुसार वार्तापछि शिक्षा तथा स्वाथ्य क्षेत्रमा सहयोग गर्नेसम्बन्धी विनिमयपत्र ‘लेटर अफ एक्सचेञ्ज’ मा हस्ताक्षर राससले जनाएको छ । 

उच्चस्तरीय भेट

नेपाल भ्रमणका क्रममा वाङले राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेटवार्ता गर्ने कार्यक्रम छ । वाङले विपक्षी दलका नेपाली कांग्रेसका नेता शेरबहादुर देउवासँग पनि भेट गर्ने कार्यक्रम छ । 

राष्ट्रपति ‘सी’ भ्रमणको तयारी

चिनियाँ विदेशमन्त्री वाङ को नेपाल भ्रमणलाई चिनियाँ राष्ट्रपति सी चीन फिङको नेपाल भ्रमणको तयारीका रूपमा समेत हेरिएको छ । लामो समयमम्म चिनियाँ उच्च अधिकारीको नेपाल भ्रमण हुन नसकेको अवस्थामा वाङको नेपाल भ्रमण भएको हो । 

लामो समयदेखि चिनियाँ राष्ट्रपतिको नेपाल भ्रमणको चर्चा हुने गरेको भए पनि भ्रमण हुन सकेको छैन । नेपालबाट भने बारम्बार उच्चस्तरीय भ्रमण भएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले चीन भ्रमणका क्रममा चिनियाँ राष्ट्रपतिलाई नेपाल भ्रमणको निम्ता दिएकी थिइन् । नेपालले चीनको बिआरआई योजनामा सहभागिता जनाएको छ । नेपाल र चीनबीच व्यापार र पारवहन लगायतका समझदारी भएकाले विदेशमन्त्री वाङको भ्रमणलाई चासोपूर्वक हेरिएको छ । सम्भवतः यो भ्रमणबाट राष्ट्रपति सि नेपाल आउने नआउने पनि निक्र्योल हुनेछ ।