किरात ज्योतिर्विद रन्धोज नेम्वाङ

129

रन्धोज नेम्वाङ किरात ज्योतिर्विद हुन् । उनी तत्कालीन किरात नेपाल अधिराज्यको पूर्वाञ्चल पल्लो किरात लिम्बुवानको मेची अञ्चल, जिल्ला पाँचथर जिल्लाको थुम निबु उत्तर याम्बोङ (इम्बुङ)–२ को सानो रमाइलो याक्थुङ गाउँमा जन्मेका थिए । स्कुल पढ्ने व्यवस्था थिएन । ग्रामीण लिम्बू समाजमा कुसंस्कार, कुसंस्कृति, अन्धविश्वास, रुढीवादी व्याप्त थियो । त्यही परिवेशमा उनी हुर्किएका थिए । दाउरा, घाँस, गाईवस्तु चराउनु, डण्डीबियो खेल्नु, छेलो हान्नु, फालहान्नु, बाँसुरी बजाउनु, केलाङ–याराक्मा अर्थात ढोल–च्याब्रुङ घन्काउनु, धान नाच्नु, हलो जोत्नु, मेलापात, खेतीपातीमा जानु त्यस समाजको दिनचर्चा थियो । 

किरात वंश मनातेम्बेबाट सावायेत्हाङ मेसेरे मेन्छाम्गेन नाम्याप्मीका कुलुशानबंशीहरू नै कालान्तरमा लाशावंशी भए । लाशाहाङ वंशवृक्ष लतिप्पा र चुक्मिवा दुई शक्तिशाली याक्थुङबाका सन्तानहरू याङसोवा, सारताप्पा, फेजङ, नाम्लाक्पा र याङदेम्बामध्ये याङदेम्बा थरका सुब्बा भर्तदलको कान्छा छोरा महाचन्द्र हुन् । 

महाचन्द्रको जेठा छोरा रामचन्द्र, रामचन्द्रको जेठा छोरा नारदको श्रीमती फिपरानी लाओतीको जेठा छोराको रूपमा विसं १९७४ पौष १९ गते पाँचथर याम्बोङ गाउँमा रन्धोज नेम्वाङको जन्म भएको थियो । बालककालदेखि नै भावुक, नम्रभाषी, एकान्तप्रेमी, आध्यात्मिक रन्धोजको बाल्य स्वभाव गाउँघरका अन्य साथीभाइ भिन्दा प्रकृतिको थियो । ज्ञानको प्यासले छट्पटाएको बालकको बानी व्यहोरा, चरित्र दार्शनिक लक्षणले युक्त थियो । उनी जिज्ञासु थिए । 

रन्धोजले तिलोकसिंह नेम्वाङबाट देवनागरी लिपि र बाजे रामचन्द्रबाट किरात लिपि सिके । उमेर बढ्दै जाँदा, संयोगवस जग्गा मुद्दामा ताप्लेजुङ अमिनमा तारिख खेप्नुपर्दा त्यहीँ बसेर लेख्ने, पढ्ने, कानुन सोध्ने, वकालती बन्दोवस्त अध्ययन गर्ने र प्रशासन आदि स्याहास्रेस्ताको ज्ञान सिक्ने मौका पाएका रन्धोजले धेरै आधारभूत शिक्षा साधना गर्ने मौका पनि पाएका थिए । 

साङदाङगेन वारुम (दीक्षा ग्रहण)

विसं १९७० मा पितामाता सपरिवार किरात साम्जिक मुन्धुमअनुसार मुहिगुम अङ्सीमाङ् महागुरु फाल्गुनन्दबाट साङ्दाङ्गेन वारुमधामा शब्दी एवं ध्यान, ज्ञान, जप, तप, शिक्षा, दीक्षा ग्रहण गरी जीवनमा उनको नयाँ साधना प्रारम्भ भयो । त्यसबेला मुहिगुम अङ्सीमाङ् फाल्गुनन्दले रन्धोजलाई विवाह नगर्ने सल्लाह दिएको भए पनि पाँचथर चोकमागु गाविस जौवारीकी चन्द्रमती तुम्बापो र पछि तेह्रथुम आठराई निगुरादेनकी देवान याक्खामासँग दोस्रोपटक उनले विवाह गरेका थिए । 

महागुरु तपस्वी फाल्गुनन्दको समीपमा रहेर अनेकौं ध्यान, ज्ञान, र योग साधनारत संसारिक व्यवहारमय रन्धोजले दैनिक एक छाकमात्र खाना खाने गरेका थिए । उनले विसं २०१५ कार्तिक २२ देखि हाङ्यकमुनि विशाल भीर ढुंगाको ओडारमा तीन–चार महिना एकान्तमा गुफा बसी, आठ तले हाङ्साम् थेबा साङ्बे बनाएर सेवागरी सिद्धि प्राप्त गरेका थिए । काठको फब्ल्याटो खोपेर किरात वर्णमाला, किरात मुन्धुम खाइक, ज्योतिष संग्रहजस्ता अति उपयोगी मुन्धुम ज्ञान सिद्ध गरेका उनको साधना र ज्ञान किरात समुदायको लागि अनमोल उपहार, ज्ञानको मोती तथा किरातको साझा सम्पत्तिका रूपमा रहेको छ । 

किरात धर्म, भाषा, लिपि, संस्कृति, ज्योतिष आदिको प्रचार गर्ने क्रममा पात्रो निकाल्ने, भाषा अन्बेशक युरोपको विद्वान आरके स्प्रिङ र उनकी श्रीमती स्प्रिङलाई मुन्धुम सिकाउने, पाँचथर याम्बोङ–२ धारापानीमा सत्यहाङमा धार्मिक मेला गराई चासोक तङ्नाम वार्षिक परम्परा बसाल्ने जस्ता ऐतिहासिक काम उनीबाट भएका थिए । विसं २०१६ मा सत्यहाङमा प्राथमिक विद्यालय स्थापनाका अग्रज व्यक्तित्व रन्धोजको शिक्षामोह उच्च थियो ।

शिक्षाप्रेमी ज्योतिषका ज्ञाता रन्धोजद्वारा स्थापना गरिएको स्कुल हाल उच्च माविमा परिणत भई बिएसम्म अध्ययन अध्यापन हुन्छ । यिनै फाल्गुनन्दको उपनाममा सत्यहाङ्मा रहन गएको इतिहास युगयुगसम्म अमर रहन्छ । उनीद्वारा तुम याक्थुङ निङ्वाफू साप्ला, किरातेश्वर याक्थुङ साप्ला, लिङ्योक कोतुम, किरात याक्थुङ इछाप, मुन्धुम खाइकलगायतका पुस्तक लेखिएका छन् । काँचो ताउ कागजमा लेखी मूल प्रति तयार गर्ने किरात ज्योतिषको प्रथम प्रतिपादक नै उनी हुन् । 

पाण्डुलिपि, हस्तलिपि तथा महागुरु फाल्गुनन्दद्वारा प्रतिपादित मुन्धुमहरू सम्पादन गर्ने, लेख्ने, टिपोट गर्ने काम उनले गरेका थिए । विसं १९८८ वैशाख २४ गते पाँचथरको लब्रेकुटीमा १७ थुम १० लिम्बूवानको बृहत् चुम्लुङले निर्णय गरेका ७ बुँदे सत्यधर्म मुचुल्कालाई कार्यान्वयन गर्ने अहम् भूमिका उनको रहेको छ । रन्धोजको एकान्त साधना गुफा लाबेलुङ्धुङ् नाम्भेलुङ्धुङ् ओडारबाट गणितीय ज्ञान, फलित ज्ञान, सैद्धान्तिक ज्ञान, साधनाबारे अनुसन्धान हुनु आवश्यकता खट्किएको छ । 

महागुरु फाल्गुनन्दका साथमा विभिन्न ठाउँमा घुमी घुमी किरात धर्म र ज्योतिषको प्रचारक ज्योतिर्विज्ञानका साधकले आफ्नो मृत्युवरणको पनि भविष्यवाणी गरेका थिए । विसं २०१८ साल मंसिर २१ गते हरिबोधिनी एकादशीको पवित्र तिथिमा ४४ वर्षको अत्पायुमै ३ छोरा, २ छोरी, २ श्रीमतीलाई छोडी उनी परमधाम भए । उनको लेखनका पाण्डुलिपिहरू बैरागी काइँला, चन्द्रकुुमार सेर्मा, ज्ञानोदय लाओती, वीर नेम्वाङ, विरही काइँलालालगायत व्यक्तिसँग रहेको पाइएको छ । उक्त पाण्डुलिपिभेला गरी व्याख्या विश्लेषण गर्न र पुस्तकको आकारमा प्रकाशन गर्न जरुरी छ । 

उनको विषयमा लेखिएको रन्धोजको जीवनी मलिसा याक्थुङ्बाबाट र नेपाल सरकार शिक्षा तथा खेलकुद मन्त्रालय पाठ्यक्रम बिकास केन्द्रबाट प्रकाशन भएको ‘आनी चोवा साम्वाङ’ थक्सुम पुस्तकमा १० जना लिम्बुहरूको जीवनीमा रन्धोजको पनि समावेश भएको छ । आज उनको जन्मजयन्ती मनाएरमात्र हाम्रो कर्तव्य पूरा हुँदैन । 

उनीप्रति श्रद्धा, आस्था र विश्वास दर्शाउन केही चुनौतीहरूको सामाना गर्दै अमर व्यक्तित्व, किरात युगपुरुष, ज्योतिर्विद, मुन्धुमविद र किरात ज्योतिष विभूतिका रूपमा स्थापित गराउन निम्न कार्यहरू गर्नुपर्ने हुन्छ । ज्ञानसार, ज्योतिषसारका अपरिहार्य शसिमुन्धुम दर्शनशास्त्र प्रतिपादन गरी उनको नाम अमर राख्नसके मात्र उनको अमूल्य योगदानको उचित कदर गरेको ठहरिने छ । 

यस्ता कार्यहरूमा किरात ज्योतिर्विद आइकसावा रन्धोज प्रतिष्ठान स्थापना, किरात ज्योतिष विद्यालय प्राइमरीदेखि विश्वविद्यालयसम्म स्थापना, रन्धोजको चित्रांकित हुलाकटिकट तथा जीवनी प्रकाशन, रन्धोजकृत प्रकाशित र अप्रकाशित कृतिहरूको पुनः प्रकाशन पर्दछन् । 

वर्तमान सन्दर्भमा पहिलो चरणमा यही पाँचबुँदे विषयअन्तर्गत केन्द्रीभूत रहेर कार्य संयोजन गर्न रन्धोज प्रतिष्ठान समितिको पहलकदममा वा किरात ज्योतिष उत्थान संघको अगुवाइमा अगाडि बढ्न सम्पूर्ण किरात तथा ज्योतिष एवं दाजुभाइ दिदिबहिनीको सक्रियता आवश्यक छ । यसका साथै शिक्षा र ज्योतिषप्रेमी सबैले यस कार्यलाई सहयोग गर्नुपर्ने हुन्छ । 

अन्त्यमा उनै नेम्वाङको १०३औं जन्म जयन्तीको अवसरमा उनीप्रति आस्था, श्रद्धा र भक्तिपूर्वक हार्दिक श्रद्धाञ्जलि सेवारो चढाउँछु । 

(लेखक मुन्धुमविद् एवं ज्योतिर्विद् हुन् ।)