कृषकलाई आधुनिक हाते ट्याक्टर

बझाङ । खप्तडछान्ना गाउँपालिकाले कृषिलाई आधुनिकीकरण गर्दै लैजाने उद्देश्यले किसानहरूलाई हाते ट्याक्टर वितरण गरेको छ ।

 श्रम र समयको बचत तथा कम जनशक्तिबाट धेरै काम हुने भएपछि कृषकहरु हाते ट्याक्टरको प्रयोगतर्फ आकर्षित भएका छन्  । 

गाउँपालिकाले चालू आर्थिक वर्षमा विनियोजित बजेटबाट गाउँपालिकाका विभिन्न वडाका १५ जना कृषकहरुलाई हाते ट्याक्टर वितरण गरेको हो । 

गाउँपालिकाले यस आर्थिक वर्षको कृषि आधुनिकरण कार्यक्रम अन्तरगत प्रति ट्याक्टर १ लाख १० हजारका दरले १५ वटा हाते ट्रयाक्टर खरीद गरेको थियो । परम्परागत रूपमा गरिँदै आएको कृषि प्रणालीको विकास गर्ने उद्देश्यले कृषकहरूलाई हाते ट्याक्टर वितरण गरेको हो । बझाङमा कृषि क्षेत्रमा सम्भावना धेरै भए पनि बैदेशिक रोजगारको मोहका कारण कृषिमा लगाव नभए पछि गाउँपालिकाले यन्त्रीकरण मार्फत कृषि क्षेत्रमा युवाको सक्रियता गराउन यस्तो कदम चालेको हो । 

परम्परागत प्रणालीमा गरिने कृषिलाई अन्त्य गरी कृषिलाई आधुनिक यान्त्रिकीकरण गरी व्यवसायिक कृषि प्रणाली अपनाएर कृषि क्रान्ति गर्ने उद्देश्यले हाते ट्याक्टर वितरण गरिएको गाउँपालीका प्रमुख वर्क रोकायाको भनाइ रहेको छ । उनले भने ‘परम्परागत कृषि प्रणालीलाई रूपान्तरण गर्न सकेनौं भने समृद्धि हासिल गर्न सकिदैन । कृषिबाट समृद्धि हासिल गर्न र कृषिलाई निर्वाहमुखी परम्परागत खेती मात्र नभई व्यावसायिक खेती प्रणाली अपनाउनका लागि गाउँपालीकाले ट्याक्टर वितरण गरेको हो ।

 यो कृषि क्षेत्रका लागी बझाङमै नयाँ अभ्यास हो गाउँपालीकाले पहिलो पटकलाई हाते ट्याक्टर वितरण गरेको छ । कृषि क्षेत्रको विकासका लागी निकट भविश्यमै धान र गहुँ झार्ने थ्रेसर मेसिन, मकै छोड्याउने कर्न सेलर, बीउ तथा अन्न भण्डारण गर्ने ब्याग लगायतका कृषि उपकरण भित्र्याउने लक्ष्य रहेको उनको भनाइ छ ।

हाते ट्याक्टर पाए पछि खप्तडछान्ना गाउँपालीका वडा नं ६ पाटादेवलकी कृष्णा देवी थापा खुसी भएकी छन् । श्रीमान बैदेशिक रोजगारीका लागी घर बाहिर हुँदा उनलाई खेत जोत्ने समयमा समस्या हुन्थ्यो । गहुँ, मकै लगायतका अन्न बाली छर्ने समयमा मानिसहरु खोज्नु पर्ने बाध्यता थियो । 

उनी भन्छिन ‘अब कुनै चिन्ता छैन । म आफैले काम गर्न सक्छु । खेत जोत्ने समयमा मानिसहरु पाईदैनकी भन्ने चिन्ता हट्यो म खुसी छु ।’ अहिले हाते ट्याक्टर पाए पछि सबै समस्या हटेको उनको भनाइ छ । खेत जोत्दा हलो, गोरु, कुटो, कोदालोको प्रयोगले कृषि क्षेत्रमा झुकाव नराख्ने युवाहरु हाते ट्याक्टरको प्रयोग संगै व्यवसायिक कृषिमा लागेको वडा नं ७ का युवा विष्णु जोशीको भनाइ थियो। 

उनले भने ‘हलो र गोरुको प्रयोग गरि चार पाँच दिन लगाएर खेत जोत्ने गरेका थियौ । हाते ट्याक्टरको प्रयोगले अहिले एकै दिनमा सकिन्छ ।’ हाते ट्याक्टरको प्रयोगले समयको बचत संगै कम जनशक्तिमा पनि काम गर्न सजिलो भएको छ । हाते ट्याक्टर पाए संगै युवाहरु व्यवसायिक कृषिमा लागेको उनले बताए ।

गाउँपालिकाले कृषिलाई आधुनिक यान्त्रिकीकरण गर्दै व्यावसायिक र बजारीकरण समेत गर्ने लक्ष्य रहेको छ । स्वरोजगारको अवस्था सिर्जना गर्न र युवा हरुलाई कृषि क्षेत्रमा आर्कषित गर्न गाउँपालिकाले नयाँ प्रविधिको सुरुवात गरेको हो । अहिले व्यवसायिक तरकारी खेती र अन्य खेतीको प्रयोजनका लागी हाते ट्याक्टरको प्रयोग हुँदै आएको छ ।