कोल्हवीका नगरप्रमुखनै ठेक्कापट्टा(दलाली)को काममा संलग्न।

127

बारा:= कतिपय जनप्रतिनिधिहरू विकास निर्माण कार्यको ठेकेदारीमा आफै संलग्न भएको भन्दै आलोचना भइरहेका बेला बाराको कोहल्वी नगरपालिकामा पनि त्यस्तै प्रवृत्ति देखिएको छ ।

विगतमा ठेक्कापट्टाको काम गर्दै आएका नगरप्रमुख भरतबहादुर भण्डारीले जनप्रतिनिधि भइसकेपछि पनि त्यसलाई निरन्तरता दिएको आरोप लागेको छ । नगरप्रमुख भण्डारीले नातागोता र आफन्तमार्फत विकासका काममा एकाधिकार जमाएको भन्दै कोहल्वी नगरपालिकामा विरोधसमेत सुरु भएको छ ।
अधिकारको दुरुपयोग तथा कर्मचारीसमेत अस्तव्यस्त बनेपछि नगरप्रमुख भण्डारीविरुद्ध अन्य जनप्रतिनिधि र स्थानीयवासी आक्रोशित बनेका हुन् । बाटोको ठेक्का लिई मनलाग्दी खन्दै हिँड्ने, कामको उचित मूल्याङ्कन नगर्ने तथा ठेक्का प्रणालीलाई प्रश्रय दिने गतिविधिमा नगरप्रमुख भण्डारी संलग्न भएको स्थानीयवासीको आरोप छ ।

(नगरप्रमुख : भरत बहादुर भण्डारी)

नगरप्रमुख भण्डारीले आफ्नै सालालगायतका व्यक्तिमार्फत गत साउनमा निर्माण गरेको सडकको कालोपत्र काम पूरा नहुँदै उप्किएको स्थानीयवासी प्रेमा अधिकारीले बताउनुभयो । नगरपालिकाभित्रका काममा मात्र नभई प्रदेश सरकारअन्तर्गतका काममा समेत नगरप्रमुख भण्डारीको अनुचित संलग्नता देखिएको स्थानीयवासीको आरोप छ ।     
नगरप्रमुख भण्डारीले कमाउने धन्दामा भन्दा पनि इमान्दारपूवर्क जनताको सेवामा लाग्नुपर्ने जनप्रतिनिधि बलराम अधिकारीले बताउनुभयो । उपभोक्ता समितिमा आफन्त र आफू अनुकूलका व्यक्तिलाई राखिएको र त्यही माध्यमबाट काममा अनियमितता भइरहेको नगरवासीले आरोप लगाएका छन् ।

विकासका काममा आफूसँग भएका उपकरणहरु प्रयोग गर्न वडाहरुले लैजाने गरेको तर आफ्नो कुनै संलग्नता नरहेको नगरप्रमुख भण्डारीको जिकिर छ । स्थानीय र अन्य जनप्रनिधि भने विकास बजेट नगरप्रमुख भण्डारीले आफ्ना आसेपासेलाई मनलाग्दी बाँडेको आरोप लगाइरहेका छन् ।
निर्वाचित जनप्रनिनिधिमाथि यस्ता गम्भीर आरोप लगाइँदा पनि नियामक निकायले छानबिनमा तदारुकता नदेखाउनु झन् समस्या रहेको स्थानीयवासी र जानकारहरुको भनाइ छ ।रासस