गीत हिट भएरमात्र फिल्म चल्दैन

काठमाडौं । दशकअघिका चलचित्रमा समावेश गीतहरूको बोल आहिले पनि धेरैलाई याद हुन्छ । ठाउँठाउँमा बजिरहेका हुन्छन् । मिडियाहरूमा स्थान पाइरहेका हुन्छन् । तर आजभोलिका सिजनअनुसार बन्ने गीत दर्शक तथा स्रोताले लामो समयसम्म दिमागमा राख्ने प्रकारका बन्न सकेका छैनन् ।
पछिल्लो समय नेपाली चलचित्रका निर्माताले चलचित्र हिट बनाउन पहिले गीत हिट बनाउन कम्मर कस्न थालेका छन् । दर्शकले चलचित्रबारे जानकारी गराउन गीत नै उत्तम माध्यम हुने भन्दै चलचित्रमा समावेश हुने गीतका लागि निकै खर्चिने गरेको पनि पाइन्छ ।
पाँच लाखभित्रै निर्माण हुने एक गीतलाई छायांकन लोकेशन र कलाकारलाई ध्यान दिँदै पछिल्लो समय बीस लाखसम्म पनि खर्चिन थालिएको छ । झट्ट सुन्दा श्रोताको मुखमै झुण्डिने गीत बनाइदिन् प¥यो भन्दै चलचित्रका निर्माता गीतकार, संगीतकारका ढोकासम्म धाउने गर्छन् ।
पछिल्लो केही समययता केही चलचित्रमा समावेश भएका गीत निकै हिट भए र चलचित्र पनि सफल भए । तीनै उदाहरणले गर्दा पछिल्लो समय एकपछि अर्को चलचित्रमा गीतमा ध्यान दिइन थालिएको छ । तर दर्शक तथा श्रोतालाई कस्ता प्रकारका गीत मनपर्छ भन्ने विषयमा स्वयं गीतकार तथा संगीतकारले आफूहरूलाई थाहा नभएको बताउँदै आएका छन् । ‘कहिलेकाँही ठूलो आशा गरेर गीत बनाएका हुन्छौं तर दर्शक श्रोतामाझ त्यो राम्रो मानिँदैन’, केही समयअघि एक संगीतकारले चलचित्रको कार्यक्रममा भनेको कुरा हो ।
विशेषगरी चलचित्रमा एकवटा लोकलयको गीत हुनैपर्छ भनेजस्तो देखिन थालेको छ । लोकलयका गीत नेपाली दर्शकको मस्तिष्कमा छिटो बस्ने भएकाले पनि चलचित्रका निर्माता तथा निर्देशकले लोकलयका गीतमा जोड दिन थाले । तर लोकलयका गीत हिट भए पनि चलचित्र फ्ल्प भएका उदाहरण धेरै छन् । पछिल्लो केही महिनाअघिमात्रै प्रदर्शनमा आएका चलचित्र ‘सुश्री सम्पत्ती, कोहलपुर एक्स्प्रेस, भइरे, मेला’मा समावेश भएका लोकलयका गीत युट्युवमा निकै हिट भए । तर चलचित्रले लगानीसमेत उठाउन सकेनन् ।
‘सुश्री सम्पत्ती’मा समावेश ‘हुकुम बक्सियोस्’ गीत हिट भयो । सुरेश अधिकारीको शब्द तथा संगीत उक्त गीतमा मेलिना राई र विशाल राईको स्वर सुन्न सकिन्छ । निकै रुचाइएको यस गीतको भिडियोलाई ५० लाखभन्दा बढीपटक युटुबमा हेरिएको छ । तर शुक्रबार प्रदर्शन भएको चलचित्र आइतबारै हलबाट बाहिरिने अवस्थामा आयो ।
निर्देशक सुव्रतराज आचार्यले चलचित्रको गीत हिट हुँदा चलचित्र हेर्न दर्शक हलसम्म आउलान् भन्ने ठूलो आशा बोकेका थिए तर गीत हिट हुँदैमा चलचित्र हिट हुँदैन भन्नेमा उनी पनि प्रष्ट भए ।
यस्तै नायिका केकी अधिकारीले ‘कोहलपुर एक्स्प्रेस’ चलचित्र बनाएर पहिलोपटक चलचित्र निर्माणमा हात हालिन् । ‘सिओडब्लु काउ’ बोलको गीत निकै हिट भयो । युट्युवमा करोडभन्दा बढीपटक हेरियो । राजनराज सिवाकोटीले संगीत दिएको ‘सिओडब्लु काउ’ हिट हुँदा केकीले केकसमेत काटेकी थिइन् । चलचित्र सफल हुने ठूलो आशा लिएकी थिइन् । तर चलचित्र हेर्ने दर्शकको संख्या हेर्न होसै उड्यो ।
मिलन चाम्सले निर्माण तथा निर्देशन गरेको चलचित्र ‘हृयाप्पी डेज’मा समावेश भएको ‘चेप्टे चेप्टे पेरुङ्गो’ बोलको गीत लोकप्रिय बन्यो । तर यो गीत कुन चलचित्रमा समावेश छ भन्ने धेरै दर्शकलाई थाहा पनि भएन । अर्को चलचित्र ‘भइरे’मा यम बरालको संगीतमा रहेको ‘सनम माया लाको’ बोलको गीतले पनि राम्रो चर्चा पायो । युट्युवमा पचास लाखभन्दा बढी दर्शकले चलचित्र प्रदर्शन हुनुभन्दा अघि नै हेरियो । तर जब चलचित्र प्रदर्शनमा आयो दर्शकको खडेरी नै लाग्यो । अधिकांश दर्शक तथा समिक्षकले चलचित्रको कथालाई लिएर चलचित्रको कमजोरी बताइदिए । त्यस्तै एक्सन अभिनेता निखिल उप्रेतीको मुख्य भूमिका रहेको चलचित्र ‘पिंजडा व्याक अगेन’मा समावेश ‘कु कु कु’ बोलको गीतले राम्रै चर्चा पाएको थियो तर चलचित्रले हावा खायो ।
अर्जुन पोखरेलको संगीतमा बनेको ‘परिचय पाऊ’ बोलको गीतले युट्युवमा करोड भ्युज पायो तर अधिकांश दर्शकले यो गीत कुन चलचित्रको रहेछ भन्ने थाहा पाएनन् । कतिले यो पनि फिल्मकै गीत रहेछ भन्दै कमेन्ट गरे । ‘मेला’मा समावेश यो गीतमात्र हिट भयो तर चलचित्र फ्ल्पकै लिस्टमा पुग्यो ।
नेपाली चलचित्रको गीतहरूमा संगीत भर्न अत्यधिक व्यस्त हुनेमा राजनराज सिवोकाटी, अर्जुन पोखरेल र वसन्त सापकोटा पर्छन् । उनीहरूले पनि चलचित्रमा हिट हुने गीत बनाइदिनु प¥यो भन्दै आउने निर्माता प्रसस्तै भएको बताउँछन् । विशेषगरी लोकलयको गीत बनाइदिन निकै अफर आउने गरेको संगीतकारको भनाइ छ । आफूहरूले राम्रो ‘लभसङ’ बनाएर राख्दा लोकलयका गीतकै लागि प्रेसर आउने गरेको बताउँदै आएका छन् ।
चलचित्रका गीत हिट हुँदा चलचित्र हिट नभएका भने होइनन्, तर गीतलेमात्र हिट भएको भनेर बुझ्न मिल्दैन । चलचित्रको कथा, कलाकार, मेकिङजस्ता कुरालाई गीत जत्तिकै ध्यान दिनुपर्छ । सुरुमा गतिलो प्रमोशन र गतिलो गीत बनाइएका चलचित्र फितलो भइदिँदा ‘माउथ पब्लिसिटी’को नराम्रो असरले चलचित्रलाई घाटा पु¥याउँछ ।
चलचित्र ‘छक्का पञ्जा’का सिरिजमा सबै गीत हिट छन् । उक्त चलचित्र पनि हिट छ तर चलचित्रमा कलाकार चयन, विषयवस्तु र मेकिङलाई पनि उत्तिकै ध्यान दिइएको छ । यस्तै रमेश उप्रेतीले निर्माण गरेको ‘ऐश्वर्य’मा समावेश ‘तिमी रोएको पल तिमीलाई’बोलको गीत लोकप्रिय बन्यो र पछि चलचित्र पनि सफल भयो । चलचित्रको मेकिङ निकै उत्कृष्ट भन्दै समीक्षक तथा दर्शकबाटै प्रतिक्रिया आएको थियो ।
अहिले प्रदर्शन भइरहेको चलचित्र ‘सय कडा दश’मा समावेश ‘दाइलाई कुरा लाइदिनी’बोलको गीतले पनि निकै चर्चा पाएको गीत हो । अहिले चलचित्रले मध्यम हिसाबले ब्यापार गरिरहेको छ । यस्तै आउनेक्रममा रहेका चलचित्रका गीत चर्चामा छन् । ‘भिजिट भिसामा’बोलको गीत चलचित्र ‘दालभात तरकारी’मा समावेश गीत हो । यो गीत युट्युवमा सार्वजनिक भएको एक महिना नपुग्दै ५४ लाख बढीले हेरिसकेका छन् । वैशाख १३ गतेबाट प्रदर्शनमा आउने ‘दालभात तरकारी’ कत्तिको सफल रहला त्यो भने कुर्नै पर्ने हुन्छ ।