घुमफिर : पच्याङमा पछारिँदै पञ्चासे

1065

अन्य दिनझैँ त्यो दिन पनि सूर्योदय त भयो किन्तु सहज गोचर हुन सकेन, बादलसँग लुकामारी गरेका कारण । क्षितिज उधिनेरै खस्यो उज्यालो सधैँझैँ । मेरो मन भने अन्य २३ जना फिरन्तेझैँ त्रिशूलीको प्रवाहमा प्रवाहित भइरहेको थियो, जलयात्राका सम्भावित पल सम्झेर । त्यसो त जलविहार मनोरञ्जनात्मक जोखिम पनि हो र साहसिक खेल पनि । यो सारा संयोग जुराइदिने मित्र हुन्, अड्भेन्चर थर्डपोलका सञ्चालक तथा ‘यात्राका पाइला’ का नियात्राकार राजेन्द्रमान डंगोल । उनैको रुचिले मिलेको अद्भूत अवसर थियो, जलयात्रा र पदयात्राको मेलो । त्यसबेला झट्ट याद आयो–गन्तव्य कुन हो भन्नेभन्दा पनि तिमी कोसँग यात्रा गर्दै छौं भन्ने कुरा बेसी महŒवपूर्ण हुन्छ भन्ने अज्ञात व्यक्तित्वको सारगर्भित कथन । 

यात्रा थालनी 

अमर होटलबाट थालनी भयो यात्रा । मुग्लानपारिका बीसजना यायावरसँगै शुभारम्भ भयो, पाँचदिने रोमाञ्चक विचरण । समुद्रपारका बहुसंख्यक फिरन्ते थिए, अंग्र्रेजी मातृभाषा भएका गैरफिरंगीहरू । कालिमाटीमा ‘पर्यटकमात्र’ लेखेको बसमा पाइला राख्नासाथ धीमा गतिमा गुडीहाल्यो बस । यात्रुहरू चुपचाप छन्, शोकमग्न मलामीसरि । सबैको प्रतीक्षा छ, रबरको नाउमा चढेर त्रिशूलीको जलप्रवाहमा हेलिने । एकतमासले बगिरहेकी छे, शीतप्रभा चट्टानलाई चुनौती दिँदै भलै नांगिँदै गएका बगरलाई दृष्टिपात गर्दै समुद्र भेट्ने यात्रामा आफूलाई किन सामेल गर्नु नपरोस् र पनि समुद्रसँग मिल्ने कुनै हतारो छ भन्ने अनुभूत हुँदैन, अवलोकन कर्तालाई । 

आखिर जीवनको गति पनि यस्तै न हुने हो, सास फेर्न सम्झेको घडीसम्म । यस्तै आभास हुन्छ मलाई र अविराम नियालिरहन मन लाग्छ शीतप्रभाको अविरल यात्रा । कल्पनाको भूँमरीमा फस्दै गर्दा पो झसंग हुन्छु, आइ नै सकेछ फिस्लिङ । ओहो ¤ झ्वास्स झुल्किए फिस्स हाँस्दै सुरज अधिकारी, जलयात्राका पथप्रदर्शक ।

शीतप्रभाका सहेली सुरज 

त्यसो त गतिशीलता नै अस्तित्वको कारण हो । हिँडौँ, पौडौँ, कुदौँ, कर्म गरौँ, वा अन्य क्रियाकलापमा संलग्न होऔँ–यी सबै सबै गतिशीलताका उदाहरण हुन् । यही यात्राका सिलसिलामा भेटिएका एउटा पात्र हुन् सुरज अधिकारी । मुस्किलले निमाविसम्मको अध्ययन तुर्दै गर्दा आफूलाई अन्यायविरूद्ध उभ्याउने सिलसिलामा गुरूको टाउकोमा निसाना दागेका उनको औपचारिक शिक्षाको अध्याय अनायासै तुरियो । आफन्तलाई हारगुहार गरे उनले । प्रारब्धले उनलाई नाविक बनायो जसमा उनी मनग्य रमाइरहेका छन्, रंगिला जीवनको यथेष्ट अनुभव सँगालिरहेछन् । चाङका चाङ विश्वविद्यालयीय प्रमाणपत्रको तंगिन नभएकोमा कुनै गुनासो छैन सुरजलाई, न त कुनै पछुतो । जलयात्राकै दर्मियानमा जिस्किएर एउटा फिरिंगीको खुट्टा झण्डै भाँचिएकोमा भने किञ्चित ग्लानि छ उनलाई ।

 त्यसरी नै केही महिनाअघि मात्र प्राणान्त भई त्रिशूलीको भूँमरीमा तैरिरहेकी चेलीको, मरणोपरान्त नै किन नहोस्, उद्धार गर्न सक्दा प्रफुल्लित भएको याद छ उनीसँग । ठुटे अंग्र्रेजी भाषा त जेनतेन सिके, भाषान्तर गरिएका बजारु पुस्तकका सहायताले किन्तु सहज बोल्ने र लेख्ने अंग्र्रेजी भाषा सिक्ने हुटहुटीले लखेटिरहेकै छ हरपल सुरजलाई । एकदिन चर्चित जलयात्राविज्ञ बन्ने रहरले बरोबर मथिंगल रिंगाउँछ उनको ।

जोखिमपूर्ण जलयात्रा  

फिस्लिङबाट प्रारम्भ भयो जलविहार । सुरजले केकसो गर्ने भन्नेबारे लामै प्रवचन दिए, टुटेफुटेको फिरिंगी भाषामा । अनि मखलेल भए आफैँमा । यस्ता कुरा उनका निम्ति नौला थिएनन्, परन्तु हाम्रा लागि भने नितान्त नौला । सुरु भयो जलयात्रा । त्रिशूलीको छालका गतिमा बेगियौँ हामी साहसिक यात्रु । सुरज भट्याउन थाले फरवार्ड, स्टप, फास्ट फरवार्ड, ब्याकवार्ड, ……, रेपिड आदि इत्यादि । सबैले भन्नुपथ्र्याे नै । दुईदिन उही उपक्रम चल्यो । उही यात्रा, उही आदेशको प्रतिध्वनि, उनै यात्रुहरू, उही जलमार्ग र उस्तै मूल ध्येय । 

किनारामा उभिएका हाम्रा मूल नेतृत्व राजेन्द्रमानलाई हेरेँ, उनी त एकतमासले हामीमाथि नजर हुर्याइरहेका थिए । लाग्यो, खडा भएर पानीमा हेर्दैमा नदी तर्न नसकिँदो रहेछ । पथप्रदर्शक जयनाथ सकी नसकी छायांछवि कैद गरिरहेका थिए, ड्युटीमा खटिएको इमानदार सिपाहीझैँ । अर्कातिर ठगेन्द्र रावल ठगठागविनै ड्रोन उडाइरहेका थिए । मोहक थियो माहोल । अपराहृन त्रिशूलीको किनारमा टहलिँदा जयनाथले बडो सटिक टिप्पणी गरे । कुरा प्रिय नभए पनि यथार्थ थियो ।

कागजको कप यो नियात्राकारले त्रिशूलीमा बगाएकोमा उनको शालीन आपत्ति थियो जसलाई विनाहिच्किचाहट तुरुन्तै सच्याएकोमा भने उनी प्रफुल्ल देखिन्थे । सीमा सच्याउन अन्यथा नसोच्नु महानता हो भन्ने उनको बुझाइ थियो जुन सर्वथा समुचित थियो पनि । लगत्तैको रात्रिकालीन क्याम्पफायर पनि कम रोचक थिएन । उनै सुरज खटिए बार्बिक्युका निम्ति र अतिथि देवो भवः व्यवहारमै पुष्टि गरे । तन्नेरी वयका शारीरिक चाहना तृप्तिका निम्ति उनले अँगालेका उपायबारे पनि खुलेरै प्रस्तुत भए । समाजको बक्रदृष्टिलाई बेवास्ता गर्दै गरेका कर्मबारे जिब्रो मिठ्याई मिठ्याई बताए ।

लुट्न सके लुट गीतको जीवन्त याद 

रोमान्टिक थियो, होटल रोमान्टिकाको एकराते बसाइ । चार तलामाथिको बास । तलमाथि लिफ्टबाटै गर्न सकिने । समुद्रपारका पाहुनाहरू ज्यास्ति प्रफुल्ल । भालेको डाकोसँगै सुरु भयो पदयात्रा, अष्ट्रेलियन क्याम्प भेट्ने गन्तव्यतर्फ । हेम्जाबाट खेवारा भयो, उकालिने पैदल यात्रा । भान हुन्थ्यो, जीवनका हर यात्रा आफैँमा कुनै न कुनै संयोग नै त हुन् । समग्रमा फगत् देश बुझ्नु या कमसेकम बुझ्न लालयित हुनु । फेरि घुमघामका निम्ति जन्मिसकेका निम्ति संसार घर नै त हो आखिर । 

अस्ताम गाउँ पुगेर खुइय सुस्केरा हाल्दा सामुन्ने देखियो ढिकुरपोखरी, पूर्वप्रधानमन्त्री तथा नेपाली मुक्तियुद्धका सर्वोच्च नायक पुष्पकमल दाहाल (प्रचण्ड)को जन्मथलो । प्रचण्ड अर्थात् एउटा कालखण्डमा देशीविदेशी प्रतिक्रियावाद, साम्राज्यवाद र विस्तारवादलाई थर्कमान पार्ने अजेय हुण्डरी । यतिबेला कम्युनिष्ट मूल आदर्शबाट च्यूत भई हेगमा उभिएर हिरो बन्ने सपना कोरलेका बहुजनको मनका खलनायक । सम्मानको टाकुराबाट खसेर घृणाको रसातलमा बिसौनी बनाएका पूर्वकमाण्डर । यस्तै यस्तै सोच्दै तन्द्रामा पो परेछु म त । यता टोली भने अगाडि बढ्यो अस्तामबाट धम्पुसतिर । 

स्वादिलो लन्चपछि अनेकन् चन्दनका रुखहरू र थुप्रै बेनामे जडिबुटीका पोथ्राहरू छिचोल्दै पुगियो एउटा सुरम्य चौर । चौपारीमा सुस्ताउँदै गर्दा पुनः ड्रोनले कैद गर्न थाल्यो हाम्रा छवि, आकाशका अनेकौं कुनाहरूबाट । पाहुनाहरू मखलेल थिए, प्राकृतिक सौन्दर्यपान गरेर । क्षणभरमै पुगियो ठूलाखर्क । १९५० मिटरमा अवस्थित ठूलाखर्कलाई विदेशी पर्यटकहरू अष्ट्रेलियन क्याम्प भनेर चिन्ने गर्छन् । सुरुवाती चरणमा अष्ट्रियनले क्याम्पिङ गरेकाले अष्ट्रियन क्याम्प भनिएको ठाउँ पछि अष्ट्रेलियनको आवतजावत बढेपछि एकाएक अष्ट्रेलियन क्याम्प बनेको बताउने स्थानीय कथनमा कहीँ न कहीँ दम छ झैँ लाग्छ । प्रकृतिको कलात्मक काखमा अवस्थित ठूलाखर्कमा पाइने प्रगाढ हरियाली, प्रकृति र जीवनको अनुपम मिलनलाई विरलाकोटी आयाम पनि अथ्र्याउन सकिन्छ ।

त्यसमाथि आकाशमा भ्वाङ परेझैँ निरन्तर जल झरेपछि आनन्द आफैँ दिलखुस हुन नसकेको प्रतीत हुन्थ्यो । यस्तै यस्तै अनुभूति भयो हाम्रो जम्बो टोलीलाई । जुकाको साम्राज्यलाई छिचोलेर ठूलाखर्कमा खर्किएका हामी स्वदेशी एवं विदेशी पदयात्रीहरू त्यहाँ होटेलका मालिकहरूको महँगी आक्रमणमा प¥यौँ । भोजनको मूल्यसूची देखेर धेरैपटक जिब्रो टोक्नुपर्ने स्थिति रहेछ, सामान्य हैसियतका पदयात्रीलाई । बासस्थान अनेक, मूल्यसूची एक । सालाखाला राजमार्गबाट पैदल यात्रा गर्दा एक घण्टामा पुगिने दूरीमा अण्डाको मूल्य एक सय रुपैयाँ भन्यो भने हतपत विश्वास गर्न कठिन । एउटा अपत्यारिलो विशेषता किन्तु यथार्थता । त्यतिबेला स्मरण भयो पशुपति शर्माको ‘लुट्न सके लुट कान्छा, लुट्न सके लुट, अरू देशमा पाइँदैन नेपालमै हो छुट’ गीत । 

राजमार्गबाट पैदल यात्रा गर्दा दुई घण्टामा पुगिने त्यो ठाउँको त्यस्तो छ हालत । यता सरकार भ्रष्टाचारविरूद्ध शून्य सहनशीलताको गाना गाइरहेछ । शब्द र कर्मबीचको अनपेक्षित बेमेल । ….लाई भन्दा देख्नेलाई लाजझैँ प्रतीत हुन्थ्यो त्यो क्षण । जे होस्, बादलुको घुम्टो र मौसमको रोदनका कारण अनेक दर्शनीय स्थलको दर्शनबाट हामी चुक्यौँ, प्रकृतिले हामीलाई जिल्लाराम पारिन् । निःसन्देह त्यहाँको स्वच्छ वातावरणले भने हामीलाई सम्मोहित पारि नै रहृयो, बेहद लठ्याइ नै रहृयो ।

आकाशको रोदन जुकाको आक्रमण 

काँडेबाट उकालिने बित्तिकै मौसम पुनः ठुस्किन थालेको अनुमान गर्न कठिन थिएन । साउनको संकेत गोचर हुन थालिसकेको थियो । तर हामी भने भदौरेले प्रतीक्षा गरेर बसेको खाना बुत्याउने ताकमा थियौँ । मानाँै कि हामी लगभग दुई दर्जन फिरन्ते खानकै निम्ति बाँचेका हौँ । भदौरेबाट उकालिनु पनि, आकाशले डाँको छोड्नु पनि सँगसँगै ¤ सायद यो एउटा संयोगमात्र पनि हुनसक्छ अपितु हाम्रा निम्ति पीडाको सुस्केरा नै बन्यो । ध्येय थियो, अनमोल प्रकृतिका अंगप्रत्यंगमा चुम्बनको घनघोर वर्षा गर्ने तर म ताक्छु मुढो, बञ्चरो ताक्छ घुँडो भइदियो । 

पुनः अनामनगर पश्चिमतिरको परिसरका भन्दा पनि खतरनाक जुकाले अविराम आक्रमण गर्न थाले । हाम्रो प्रत्याक्रमणको तयारी भने निम्छरो थियो । नुनको ससानो पोकाबाहेक रतिभर केही थिएन । न भूगोल विशेषको भरपर्दो सूचना दिने मान्छे फेला पर्थे, न जुकासँग पौंठेजोरी खेल्ने भरोसालाग्दा उपाय । यसैबीच अचानक भेटिए, चानचुन चालीस वसन्त छिचोलेका एक बटुवा । स्याङ्जा बासस्थान बताउने ती अपरिचित मनुवाले त्यतिखेर अचम्भित पारे जतिखेर हामी उनले आफूसँग ल्याएको गोरु जंगलमा छोडेर आफू रित्तो हात फर्कँदै थिए । भने ‘बलिया बांगा बाघलाई, लुरे लांग्रे माघलाई ।’ त्यो बुढो गोरु हिंस्रक जंगली जनावारको आहाराको निम्ति छोडेको उनको तर्कले मान्छेहरूको प्रवृत्ति कति नीच हुन्छ, अवर्णनीय लाग्थ्यो ।

रगतपच्छे हुँदै पञ्चासे 

‘तगारोमा रुमाल राखी बाटो छेक्यौ तिमीले । त्यही रुमालमा पञ्चासेको फूल राखेँ मैले…..।’ विनोद गौचनको यही सुमधुर स्वर सुन्दै उकालिएका थियौँ हामी पञ्चासेसँग मितेरी गाँस्नका निम्ति । धेरै सूचना नभए पनि हामी जानकारीविहीन अवश्य थिएनौँ ।

२११७ मिटर उचाइमा अवस्थित पञ्चासे पर्वत, कास्की र स्याङ्जाको संगमस्थल हो । रमाइलो कुरा त के भने पञ्चासेको नामबारे स्थानीयवासीको मतैक्यता पाइन्न । पाँचवटा डाँडाको शिर भएकाले ‘पञ्चशिर’ भन्दाभन्दै अपभ्रंश भई पञ्चासे भनिएको भन्ने कथनले जति ओज राख्छ, त्यति नै महŒव राख्छ, पाँचवटा हरियाली पहाडहरूको मिलनविन्दु अर्थात् ‘पञ्च’ र ‘आसन’ को संयुक्त शब्द पञ्चआसन भन्दाभन्दै अपभ्रंश भई पञ्चासे भनिएको दाबीले ।

लोकोक्ति भन्छ, अयोध्याका राजा दशरथका भाञ्जा श्रवणकुमारका मातापिता दृष्टिविहीन थिए । बेसहारा उनीहरूको एकमात्र सहारा श्रवणकुमारले नै वृद्ध बुबाआमालाई तीर्थव्रत गराउने गर्थे । यसै सिलसिलामा वरपर बस्ती नभएकाले उनीहरू ओडारमा बास बसे । बुबाआमाको प्यास मेटाउन पानीको स्रोत खोज्दै भौँतारिँदा एउटा तलैया देखे । सोही तलैयाबाट पानी उघाउँदै गर्दा मृग भएको भ्रमवस दशरथले तीर उजाई निसाना दागे । तीर लागेर श्रवणकुमार सख्त घायल भए । मानव आवाज सुनी आवाज आएतिरै गएका दशरथले जब आफ्नै भाञ्जालाई सामुन्ने देखे, उनी पीडाले आफैँ छट्पटाउन थाले । जीवन र मृत्युको दोसाँधमा छट्पटाइरहेका श्रवणकुमारको आग्रहमा दशरथ दृष्टिविहीन वृद्ध दम्पती भएको स्थानमा पुगे । 

जब वृद्ध दम्पतीले आफ्नो प्राणप्यारो सन्तानबारे दशरथलाई सोधे तब दशरथ नाजवाफ भए । आफ्नो एक्लो सहारा गुमेको भेउ पाएपछि उनीहरूले दशरथलाई ‘तिम्रा कुनै सन्तान नहुन्’ भनी श्राप दिए । त्यसरी नै उनीहरूलाई अयोध्या लैजाने दशरथको प्रस्ताव पनि अस्वीकार गरिदिए, वृद्ध दम्पतीले । उनीहरूको पीडा र वेदनाका अश्रुधाराले नै अन्धाअन्धी दह बनेको र त्यहीँबाट सुरु भएर बग्ने खोलालाई आँधीखोलाको नामले पुकार्न थालियो । 

यस्तै प्राकृतिक छटाले भरिपूर्ण छ पञ्चासे । करिब करिब १६० खाले चराचुरुंगी, चानचुन ११३ प्रजातिका सुनाखरी, ५८९ किसिमका फूलफुल्ने वनस्पति, १५० औषधीजन्य जडिबुटी, ५६ प्रकारका जंगली च्याउ पाइने पञ्चासेमा दर्जनभन्दा बेसी खर्कहरू छन् भन्ने जानकारीसँगै केही खर्कहरू देखा परे, पञ्चासेको सेरोफेरोमा । बादलुको घुम्टोका कारण गुर्जा हिमाल, गणेश हिमाल, अन्नपूर्ण, लमजुङ हिमाल र धौलागिरि हेर्ने हाम्रो उत्कट अभिलाषाले मूर्तरूप भने लिन पाएन । फगत् २ सय मिटर लामो र ७५ मिटर चौडा पञ्चासे ताल नियालेर जबर्जस्त मेटाइयो रहेपहेको तृष्णा ।

पञ्चासेका पर्दापछाडिका पाटा 

भनिन्छ, सपना देख्नेका निम्ति कुनै स्थान दूर हुँदैन । त्यसो त पञ्चासे पनि कहाँ नै पो दूर थियो र । अनौठो संयोग त ठूलाखर्कमाझैँ पञ्चासेका बासस्थानमा पनि खाना र बासको मूल्यसूची उस्तै देखियो, उही र एकैखाले हरेक होटलमा । सापेक्षिक ढंगले विश्लेषण गर्दा आन्तरिक पर्यटकलाई परोक्षरूपमा निषेधै गर्नेगरी बनाइएको सूची हाम्रा लागि उतिसारो ग्राहृय लागेन, न त तर्कपूर्ण नै । ढुवानी, सुविधा र दूरीका दृष्टिकोणले जेजति हुँदा समयसापेक्ष हुन्थ्यो, त्यहाँ त्यस्तो महसुस हुँदैनथ्यो, बरू विल्कुल असहज । 

व्यापारका आधारभूत सिद्धान्त र करका न्यूनतम दायरालाई धोती लगाइएको आभास हुनु अस्वाभाविक थिएन, जहाँ त्यसै वरपरको भूगोलमा जन्मेका पशुपति शर्माको ‘लुट्न सके लुट कान्छा’ गीतको स्मरण भइहाल्थ्यो । पञ्चासेले अधिकतम आन्तरिक पर्यटक भिœयाउनुपथ्र्याे र पर्छ पनि परन्तु खर्चका हिसाबले त्यस्तो महसुस भएन हाम्रो टोलीलाई । 

राज्य आगामी वर्ष न्यूनतम २० लाख बाहृय पर्यटक भिœयाउने गुड्डी हाँक्दै छ अपितु यो योजना फगत् नारामा सीमित हुने छनक यत्रतत्र देखिसकिएको छ । झिनामसिना कुरामा समेत ख्याल गरिएन भने बाहृय पर्यटक बढाउने कुरा त छोडौं आन्तरिक पर्यटनमा समेत ह्रास आउने लगभग पक्कापक्की छ । कुराकानीमा आकाशपाताल जोडेरमात्र केही लछारपाटो नलाग्ने रहेछ भन्ने गम्भीर पाठ हाम्रै विगतले पढाइसकेको छ ।

 र अन्त्यमा 

‘यादहरू लिएर जानुस् र पदचापहरू छोडेर’ भन्ने कुरालाई दिलैदेखि मनन गर्दै र पुनः पञ्चासेलाई सुम्सुम्याउने कसम खाँदै ओरालियो हाम्रो टोली पोखरा गन्तव्य भेट्न । लाग्यो, हजारौं पटक सुन्नुभन्दा एकपटक हेर्नु राम्रो । यही थियो पञ्चासे परिभ्रमणको गुढ ध्येय ।