चिनियाँ ‘जासुस’ ले अस्ट्रेलियामा मागे शरण

125

सिड्नी । आफू चिनियाँ जासुस भएको दाबी गरेका एक व्यक्तिले अस्ट्रेलियामा शरणका लागि निवेदन दिएको विवरण सार्वजनिक भएका छन् । वाङ विलियम लिकिआङले हङ्कङ, ताइवान र अस्ट्रेलियामा गरिएका जासुसीबारे अधिकारीहरूलाई जानकारी दिएको र जासुसी कार्यमा उनी व्यक्तिगत रूपमा संलग्न भएको बताइएको छ ।

अहिले उनी आफ्ना बच्चा र श्रीमतीसहित सिड्नीमा छन् । घर फर्किए मारिन सक्ने उनलाई डर छ । वाङको पहिचान र उनले लगाएका आरोपहरूको पुष्टि हुन सकेको छैन । तर अस्ट्रेलियाका अर्थमन्त्री जोश फ्राइडनबर्गले वाङको विषय अहिले ‘कानुन कार्यान्वयन गराउने उपयुक्त निकायहरूको हातमा परेको’ पत्रकारहरूलाई बताए । उनले लगाएका आरोपहरू ‘चिन्ताको विषय’ भएको फ्राइडनबर्गको भनाइ थियो । विपक्षी लेबर पार्टीका नेता एन्थोनी एल्बानिजले शरणका लागि वाङको दाबी ‘जायज हुन सक्ने’ बताएका छन् । नाम उल्लेख नगर्ने शर्तमा एक वरिष्ठ अधिकारीले गुप्तचर निकायहरूले अनुसन्धान गर्दा ‘तथ्यलाई कल्पनाबाट अलग गर्नुपर्ने’ अस्ट्रेलियाली प्रसारक एबीसीलाई बताएका छन् । 

वाङका असाधारण खाले आरोपहरू अस्ट्रेलियाली सञ्चारमाध्यममा शनिवार पहिलो पटक आएका हुन् । ‘सिक्स्टी मिनट्स’ नामक कार्यक्रममा उनको अन्तर्वार्ता आइतबार राति टेलिभिजनमा प्रसारण गरिनेछ । अस्ट्रेलियाको गुप्तचर निकाय एएसआईओलाई उनले अक्टोबर महिनामा १७ पृष्ठ लामो बयान दिएको बताइएको छ । त्यसमा उनले गरेका काम र वरिष्ठ गुप्तचर अधिकारीहरूले गर्ने कामकारबाहीबारे उल्लेख गरिएको बताइएको छ । बढ्दो चिन्ताका माझ उनी आफ्नी श्रीमती अध्ययन गर्दै गरेको देश अस्ट्रेलिया गए जहाँ उनीहरू हालसालै जन्मेका आफ्ना छोरासँग बसिरहेका छन् । ‘घर गएँ भने म मर्छु’ अन्तर्वार्तामा उनले भनेका छन् । 

द सिड्नी मर्निङ हेराल्डका अनुसार सन् २०१५ मा अपहरण र पाँचजना पुस्तक विक्रेताको पक्राउ गर्ने काममा आफैँ संलग्न रहेको उनले बताएका छन् । मानिसहरूलाई अपहरण गराएको भन्ने दाबी चीनले अस्वीकार गरेको छ । कानुन कार्यान्वयन गराउने चिनियाँ निकायको क्षेत्राधिकार हङ्कङमा पर्दैन । गत वर्षको सन्दिग्ध अपराधीलाई चीन पठाउन अनुमति दिने एउटा विधेयक हङ्कङमा ल्याइएपछि त्यसले व्यापक विरोध निम्त्यायो । त्यसयता हङ्कङमा पूर्ण प्रजातन्त्रको मागसहित व्यापक प्रदर्शन हुँदै आएका छन् । चीनले हङ्कङको प्रदर्शनमा ‘विदेशी शक्तिहरूको हात रहेको’ आरोप लगाउँदै आएको छ । हङ्कङ चीनकै एउटा हिस्सा भए पनि त्यहाँका नागरिकले चीनमा भन्दा बढी र फरक अधिकारको उपभोग गर्दै आएका छन् ।