जंगलका राजाका सत्यतथ्य कथा

2084

युवा साहित्यकार रामकृष्ण आचार्य ‘विशेष्य’ द्वारा रचित ‘आदिविम्ब’ नामक कथा संग्रहले नेपाली साहित्यका फाँटमा एउटा नौलो गोरेटो कोर्न सफल भएको छ । प्रस्तुत कृतिमा भएका जीवन्त चरित्रले एक्काइसौं शताब्दीको युगलाई नै चुनौती दिएका छन् । पाठकलाई पत्यार नलाग्ने गरी वर्तमानको ढुंगेयुगमा पु¥याएको छ । यसो हुनुको प्रमुख कारण दैलेखमा जन्मिएका रामकृष्ण आचार्य सानैदेखि समाजबाट उपेक्षित मानव राउटेसँग धेरै नजिकबाट परिचित रहे । 

राउटे हिजो, आजसम्म पनि जंगललाई नै आफ्नो प्राणतŒव सम्झिँदै जीवन गुजार्न बाध्य छन् । राउटेहरूले किन जंगललाई आफ्नो सर्वस्व सम्झेका छन् ? जीवनको आदि र अन्त्य किन जंगललाई नै सुम्पन्छन् भन्ने तथ्यलाई कथाकारले देखाउन चाहेका छन् । 

आचार्यको कृतिभन्दा पहिले राउटेको अध्ययनका लागि कतिपय राष्ट्रिय र अन्तर्राष्ट्रिय संघसंस्थाहरूले हरिया डलरको खेती गरे । तर ती अध्ययनबाट न राउटेको जीवन उँभो लाग्यो न उनीहरूको जीवनशैलीमै परिवर्तन आयो । ती त केवल बहानामा सीमित रहे तर आचार्यको यो पुस्तकले राउटे जातिको जनजीवनका यथार्थतालाई प्रस्तुत गरी जनसमक्ष ल्याउन सक्दो प्रयास गरेको छ । 

उनीहरूका जीवनमा जन्मदेखि मृत्युसम्म गरिने कर्मकाण्ड, रीतिरिवाज, रहनसहन, लवाइखुवाइ र जीवनका भोगाइलाई नजिकबाट नियालेर सत्य तथ्यलाई प्रस्तुत गर्न अत्यन्तै सफल भएका छन् । यस्तो लाग्छ पाठकहरू समेत राउटेसँगसँगै उठबस गरिराखेका छन् । यस संग्रहका कथामा मार्मिक, कारुणिक र जीवन्तता प्रदान गरिएको छ । जुन शब्दले व्यक्त गर्न सकिँदैन । 

प्रस्तुत कथा संग्रहमा बीसवटा शीर्षक रहेका छन् । यी विभिन्न कथाहरूमा कथाकारले राउटे जातिका जीवनका विविध पक्षलाई उजागर गर्दै तिनका आर्थिक, सामाजिक, धार्मिक, सांस्कृतिक र भाषिक पक्षलाई विशेष महŒवका साथ देखाउन चाहेका छन् । 

राउटेसँगको संवादको क्रममा नेपाली भाषाको प्रयोगमा उनीहरूको आफ्नैपन पाइन्छ । जस्तो ‘क्या हेर्न आयाका हुनन् ? आयाका आयै छन्’ आदि । आर्थिक रूपबाट नियाल्दा कुनै आर्थिक स्रोत नहुने, केवल काठका भाँडा बनाएर बेच्नुबाहेक र जाडो, गर्मी जहिले पनि शरीर अर्धनग्न अवस्थामा राख्नुपर्ने चाहे ती सुत्केरी हुन् वा बिरामी, रोबोटको युगमा ढुंगाले हानेर बाँदरको मासु खाएर जीविकोपार्जन गर्नुपर्ने अति कटु सत्यलाई उद्घाटित गरिएको छ । 

सांस्कृतिक र धार्मिक रूपमा वैवाहिक जीवनमा बाँधिन प्रेम नै गरे पनि भाग्न नहुने, मागेर नै विवाह गर्नुपर्ने, केटीको घरमा जाँदा मीठामीठा खानेकुराहरू लिएर जानुपर्ने, यदि केटी पक्षका परिवारले लगेका खानेकुरा नखाइदिए विवाह नहुने र विवाह भइसकेपछि खोलामा गएर नुहाउनुपर्ने जस्ता उनीहरूका अनेकौं सत्य र रोचक जानकारी पनि यो पुस्तकमा पाइन्छ । 

राउटे जातिले सधैँ जंगलमा फिरन्ते जीवन बिताउन चाहनु, परिवारमा कसैको मृत्यु भएमा त्यो ठाउँ नै छोडेर हिँड्नु र प्रधानमन्त्रीले घर बनाइदिन्छु भन्दा पनि ‘तिमी कोट र नोटका राजा हौ हामी बोटका राजा हौँ, हामीलाई जंगलमा नै बस्न र काठ काट्न देऊ’ भन्नुको आन्तरिक मर्म कसैले बुझ्ने प्रयास अहिलेसम्म गरेको पाइँदैन । जंगलमा वर्षामा बाढी पस्दा, पहिरो जाँदा, जीवजन्तुले टोक्दा, अर्धनग्न बस्दा, अकालमा बालबच्चा र सुत्केरीको मृत्यु हुँदा कुनै पनि सरकार, संघसंस्था र विकसित देशका आधुनिक मानवले उनीहरूप्रति दया, माया, प्रेम, करुणा र सद्भाव नदेखाएकाले राउटेहरूको विश्वास सभ्य भनाउँदा मानवप्रति नरहेको देखिन्छ । आडम्बरी र मुकुण्डोधारी मानवताविहीन मानवबाट केही कुराको अपेक्षा गर्नु व्यर्थ हुन्छ भन्ने कुराले उनीहरूको मन मस्तिष्कमा गहिरोसँग जरा गाडेको छ । कुनै पनि मानिसमा स्वाभिमान हुन्छ चाहे ऊ शिक्षित होस् वा नहोस् । तर शिक्षित भनाउँदा वर्गबाटै उनीहरूले अपमानित हुनुपरेको, दुव्र्यवहार खप्नु परेको र समाजबाटै तिरस्कृत भई जंगलमा बस्न बाध्य पारेको अत्यन्तै मार्मिक र तितो सत्यलाई यस कृतिमा कृतिकार आचार्यले देखाउन चाहेमा छन् । कक्षाकोठामै गुरुद्वारा राउटेहरूप्रति गरिएका व्यवहारको चित्रण पनि पुसतकमा भएको छ । 

नारी नभए वंश रोकिन्छ भन्ने थाहा पाएर पनि राउटे जातिमा नारीमाथि गरिएको शोषण, अन्याय, अत्याचार, हिंसा र बलात्कारबाट अत्यन्तै पीडित नारीहरूको अवस्था देख्दा जो कसैको हृदय पनि मर्माहत हुन्छ । ज्ञान भए पनि शैक्षिक चेतनाको कमीले उजिल्याउन नसकेको अधकल्चो ज्ञानले स्वघोषित राजा बनेको राउटे मुखियाको शोषण, दमन र थिचोमिचोले गाउँ नै ग्रसित हुँदा पनि उसको विरोधमा कसैले बोल्न नसक्नु र उसका सन्तानबाट समेत हेपिनु, थिचिनु र किचिनुको वास्तविकतालाई धेरै वर्षसम्म नजिकबाट नियालेका कथाकार आचार्यले छर्लंग पार्न खोजेका छन् । यस्ता अनगिन्ती कुसंस्कार र कूरीतिहरू हटाउन प्रयास गर्ने, आर्थिक, सामाजिक र शैक्षिक अवस्था सुधार गरी उनीहरूको मनोभावना बुझ्ने आफ्नै राष्ट्र, संघसंस्था र व्यक्ति कोही नभएका अवस्था पनि कथामा देखाउन खोजिएको छ । राउटे आज रोबोटको युगमा पनि जंगलमै बस्न रुचाउँछन् भन्ने कथाकारको ठम्याइ छ । निष्कर्षमा कथासंग्रह अत्यन्त रोचक, मर्मस्पर्शी र यथार्थपरक छ ।