जातीय छुवाछुतको आरोपमा उजुरी दर्ता

कालिकोट । जिल्ला नरहरिनाथ गाउँपालिका –७ का दलवहादुर वुढाले वडा अध्यक्ष दलबहादुर विश्वकर्मामाथि जातीय छुवाछुत गरेको अभियोगमा उजुरी दर्ता भएको छ ।

आरोपी वुढाविरुद्ध जातीय छुवाछुत भेदभाव गरेको भन्दै पीडित वडाध्यक्ष विकले मंगलबार जिल्ला प्रहरी कार्यालय कालिकोटमा उजुरी दर्ता गराएका हुन् । 

फागुन २९ गते वडा कार्यलयमै पीडित विश्वकर्मालाई डुम कोमारा भन्दै हातपात तथा गाली गलौज र जातीय विभेदित शब्द प्रयोग गरेको पीडितले उजुरीमा उल्लेख गरेका छन् । वडा अध्यक्ष विश्वकर्माले पूर्वप्राविधिक सहायक समेत रहेका आरोपी वुढाले कार्यालयमा वडाध्यक्षकै कार्यकक्षमा आई कुटपिट गर्नुका साथै जातीय भेदभावको शब्द प्रयोग गरेको आरोप लगाएका छन् ।

जातीय छुवाछुत तथा भेदभावपूर्ण व्यवहार सम्वन्धी जाहेरी आएकाले आरोपीलाई पक्राउ गरी अनुसन्धान गर्ने कालिकोट प्रहरी प्रमुख डिएसपी श्यामवावु ओलियाले जानकारी दिए ।