ज्योति मगर र दुर्गेश थापाको विषयमा प्रलेसको ध्यानाकर्षण

खोटाङ । प्रगतिशील लेखक संघ जिल्ला कार्य समिति खोटाङले ‘प्रथम खोटाङ दिक्तेल महोत्सव’ मा आउने कलाकारहरुको विषयलाई लिएर आयोजकको ध्यानाकर्षण गराएको छ । केही कलाकारहरुको प्रस्तुतिले समाजलाई बिकृति र बिसङ्गतितर्फ धकेल्ने भन्दै आयोजक खोटाङ उद्योग वाणिज्य संघको ध्यानाकर्षण गराएको हो ।

फागुन २ गतेदेखि १२ गतेसम्म दिक्तेलको माटिकोरे खेलमैदानमा आयोजना हुने ‘प्रथम खोटाङ दिक्तेल महोत्सव’मा गायिका ज्योति मगर र गायक दुर्गेश थापाजस्तो कलाकारको प्रस्तुतीले समाजलाई बिकृति र बिसङ्गतितर्फ धकेल्ने भन्दै यस्ता कलाकारको आगमन र प्रस्तुती रोकिनुपर्ने जनाएको छ । बुधबार संघको कार्यालयमा प्रलेस जिल्ला अध्यक्ष चित्रकुमार सुवेदी र प्रलेसका जिल्ला इन्चार्ज तथा केन्द्रीय सदस्य ओमप्रकास घिमिरेले ध्यानाकर्षण पत्र पेश गर्दै उक्त कलाकारहरुको आगमन रोकेर स्थानीय कलाकार र खोटाङगे माटोले जन्माएका कलाकारलाई महोत्सवमा विशेष प्राथमिकता दिनुपर्ने बताएका छन् ।

यस्तै, महोत्सवमा साहित्यिक, चेतनामूलक कार्यक्रम समेत थप गरिनुपर्ने प्रलेसको जोडदार अपिल छ । महोत्सव खोटाङको पहिचान, संस्कृति, सम्पदा, धार्मिक स्थलहरुको प्रचारप्रसारमा जिवन्त परिचय बन्नुपर्ने र त्यस कार्यमा प्रलेस सहयोगी भूमिका खेल्न तयार रहेको ध्यानाकर्षण पत्रमा जनाईएको छ ।

संगीत क्षेत्रलाई व्यवस्थित गर्नका निम्ति केही संघसंस्था र केही व्यक्तिहरुलाई व्यवस्थापनका लागि आग्रह गरिएको, उनीहरुको छनौट र अगुवाईमा बनेका प्रचारप्रसार सामग्रीमा एकदुई जना कलाकारहरुको वारेमा टिकाटिप्पणी आएदेखि नै ध्यानाकर्षण भईसकेको खोटाङ उधोग वाणिज्य संघका अध्यक्ष उपिनकुमार राईले बताए । ज्योति मगर, दुर्गेश थापा आउने÷नआउने सेड्युल बनेको छैन । राईले भने, ‘यस विषयमा गम्भीर रुपमा बुझेर समाजलाई बिकृतितिर धकेल्ने, अशिष्ट, अश्लिल ढंगको कुरा प्रस्तुत गरेर समाजलाई भड्काउने खालका प्रस्तुति हुन नदिन सचेत छौ ।’