डा. केसीमा संक्रमणको जोखिम

1348

काठमाडौं । डा. गोविन्द केसीको स्वास्थ्य अवस्था नाजुक बन्दै गएको छ । पुस २५ देखि अनशनमा रहेका उनको शरीर निकै कमजोर भएको र सेतो रगतको मात्रा घटेको चिकित्सकहरूले जनाएका छन् ।शारीरिक कमजोरी तथा रोग प्रतिरोधात्मक क्षमता निकै कम भइसकेका कारण संक्रमणको जोखिमसमेत बढेको भन्दै चिकित्सकहरूले उनलाई सघन निगरानीमा राखेका छन् । डा. केसीले आफ्ना माग पूरा नभएसम्म अनशन नतोड्ने अडान लिइरहँदा सरकारले उनका माग पूरा भइसकेको भन्दै वार्ताको पहलसमेत गरेको छैन ।

डा. केसीको मागलाई समर्थन गर्दै नेपाल चिकित्सक संघले समेत आन्दोलन थालेको छ । चिकित्सकहरूले मंगलबार पनि त्रिवि शिक्षण अस्पताल परिसरमा रिले अनशनलाई निरन्तरता दिएका छन् । सोमबार टेन्ट गाडेर रिले अनशनमा बसेका चिकित्सकहरू रातारात टेन्ट हटाइएपछि मंगलबार खुला आकाशमुनि बसेरै अनशनलाई निरन्तरता दिएका हुन् ।

यसैबीच राष्ट्रिय मानवअधिकार प्रतिष्ठानले डा. केसीसँग फलदायी वार्ता गरी अविलम्ब समस्या समाधानको उपाय खोज्न सरकारलाई आग्रह गरेको छ । डा. केसीसँग विगतमा भएको सहमतिअनुसार राष्ट्रिय चिकित्सा शिक्षा विधेयक पारित हुनुपर्ने, अनशनरत डा. केसीसँग फलदायी वार्ताका लागि पहल गर्नुपर्ने र डा. केसीले अनशन बन्द गर्नुपर्ने सुझाव प्रतिष्ठानले दिएको छ ।