तपस्वी बमजनलाई पक्राउ गर्ने प्रयास असफल

99

काठमाडौं । बलात्कार र हत्यासहित विभिन्न अपराध गरेको आरोप लागेका ‘तपस्वी’ भनेर चिनिने रामबहादुर बमजनलाई पक्राउ गर्न प्रहरी असफल भएको छ । सर्लाही जिल्ला अदालतबाट बमजनलाई पक्राउ गर्ने अनुमति पत्र लिएर सिन्धुलीस्थित बमजनको आश्रममा पुगेको प्रहरी बमजनलाई नभेटेपछि रित्तै फर्किएको हो ।

बिहीबार बेलुकीसम्म बमजन आश्रममै रहेको सूचनाका आधारमा प्रहरीले घेराबन्दी गरे पनि प्रहरीले उनलाई फेला पार्न सकेन । ‘हामी शुक्रबार बिहान ६ बजे नै बमजनको आश्रममा छिरे पनि उनी भेटिएनन्,’ सिन्धुली प्रहरी प्रमुख, प्रहरी उपरीक्षक रञ्जु सिग्देलले भनिन्, ‘उनी बस्ने ठाउँमा हेर्दा तत्कालै नभएर केही दिन पहिले नै आश्रम छोडेको जस्तो देखिन्छ ।

बमजनले प्रयोग गर्ने बाथरुम लगायतका ठाउँ सुक्खा रहेकाले उनी केही दिन पहिले नै त्यो ठाउँ छोडेर गएको हुन सक्ने सिग्देलले बताइन् ।

सर्लाही प्रहरीले बिहीबार राति मात्र बमजनलाई पक्रेर बुझाउन आफूहरूलाई आग्रह गरेको सिग्देलले जानकारी दिइन् ।

सिन्धुलीको कमलामाई नगरपालिका–८, बेसारे भन्ने ठाउँमा बमजनको आश्रम छ । ४० बिघाभन्दा धेरै क्षेत्रफलमा फैलिएको आश्रमलाई चारैतिरबाट पर्खाल र काँडेतारले घेरिएको छ । सिग्देलले सोधपुछका लागि एक जनालाई नियन्त्रणमा लिए पनि सोधपुछपछि उनलाई छोडिएको जानकारी दिइन् । खोजी जारी रहेकाले बमजन चाँडै नै पक्राउ पर्ने उनको भनाइ छ ।

बमजन पक्राउ बारेको सूचना प्रहरी स्रोतबाट पहिले नै चुहिएपछि उनी भाग्न सफल भएको आशंका प्रहरी स्रोतले गरेको छ । बमजनमाथि थुप्रै अनुयायीमाथि यौन दुराचारको अभियोगमा प्रहरीमा जाहेरी परेको छ । 

बमजनमाथि एक अनुयायीको हत्या र तीन जना बेपत्ता पारेको आरोप छ । केही अनुयायीले उनीमाथि यौनशोषणको आरोपसमेत लगाएका छन् ।

गत वर्ष पुसमा पनि प्रहरीले उनको खोजी गरेको थियो । सो क्रममा सिन्धुपाल्चोकस्थित उनको एक आश्रममा प्रहरीले छापासमेत मारेको थियो । त्यतिबेला पनि उनलाई पक्राउ गर्न प्रहरी असफल भएको थियो ।