थारुहरुले मनाउने माघ नै हो । माघी कसको हो थाहा छैन:इन्दु थारु।

थारुहरुले मनाउने माघ नै हो । माघी कसको हो थाहा छैन । पश्चिम तराईमा थारुहरुले माघ मनाउछन् । बिच भागमा खिचडा, पूर्वी तराईमा तिला संक्रान्ति भन्छन् । गैर थारु समुदायले माघे संक्रान्ति वा मकर संक्रान्ति भन्छन् । फेरी माघी कहाँ बाट आयो ? साहित्यकार छविलाल कोपिला भन्नुहुन्छ थारुहरुले माघ मनाउछन् । माघी कसको हो, जसले मनाउछ उसैले जानुन । ‘
वास्तवमै हो पनि थारुहरुले मनाउने त माघ नै हो । थारुहरुको मौलिक शब्द माघलाई रुपान्तरण गरि माघी बनाइयो । माघ होइन माघी हो भनेर जिद्धी गर्नेहरु एकपटक पश्चिम तराई पुगेर अध्ययन गरे हुन्छ । यदि कसैको तिर, कसैको जिल्लातिर माघी भनिन्छ भने पनि स्पेसिफिक भई खुलाउन पर्यो माघी यहाँ, यसरी मनाइन्छ भनेर । होइन भने थारुहरुले माघी मनाउछन् भनेर थारु मौलिक शब्द र पर्वमा एसिड नछरौं ।

कतिपयले कुतर्क गर्ने गर्छन् माघ त महिनाको नाम हो, पर्वलाई त माघी भन्छन् । पश्चिम तराईमा माघ नै भन्छन् । माघी कसैको मौलिक पर्व हो भने माघी भने हुन्छ तर थारुहरुको पर्व माघीनै हो भनेर थारुहरुको मौलिक शब्दमाथि आक्रमण गर्न छुट थारुहरुले कसैलाई पनि दिन हुदैंन ।

हुन त माघी भन्दैमा र लेख्दैमा अहिलेसम्म के बिग्रेको छ र ? जताततै माघी लेखिदै आएको छ, केही बिग्रेको छ ? थारुहरुको ‘घोरीघोरा’ लाई घोडाघोडी बनाइयो, केही बिग्रेको छ ? थारुहरुको ‘अटवारी’ लाई अइटवारी बनाइयो, केही बिग्रियो ? थारुहरुको मौलिक शब्द ‘बरघर’ लाई बडघर लेख्ने र भन्ने गरिन्छ, खोइ अहिलेसम्म केही त बिग्रेको छैन । खस भाषी, नेपाली भाषीहरुले थारु मौलिक शब्दहरु रुपान्तरण गर्दै जान्छन् । अनि हामी थारु तिनकै पछि लाग्दै जान्छौ । आफ्नो भाषामाथि आक्रमण भएको समेत हामी थाहा पाउदैनौ । आफ्नो मौलिक शब्द माथि आघात पुगेको हामी महसुस सम्म गर्दैनौ । जसले यी आवाज उठाउछ, जसरी हुन्छ उसको मनोबल गिराउन तिर लाग्छौ बरु ।
उदेक त त्यति बेला लाग्छ, जतिबेला माघी कहिल्यै नमाउने, तिला संक्रान्ति मात्र मनाउनेहरुले माघीको वकालत गर्छन् । आक्रोशित त्यतिबेला बनाउछ, जतिबेला माघे वा मकर संक्रान्ति मात्र मनाउनेहरुले माघीनै हो भनेर दम लगाएर भन्ने गर्छन् । माघ मनाउनेहरुले हामी माघ मनाउछौ, माघी मनाउदैनौ भन्दा जबरजस्त रुपमा तिनलाई गलत साबित गर्न एउटा तप्का जोडसंग बल लगाइरहेको हुन्छ । यो भन्दा अर्को दुर्भाग्य माघ मनाउनेहरुका लागि के हुन सक्छ ?

माघ र माघीको बहस पनि जो फेसबुक चलाउन जानेको छ, टाइप गर्न जानेको छ, पढ्नलेख्न जानेको छ, यिनीहरुले नै गर्ने हुन् । अरुले त चुपचाप माघ मनाइरहेकै छन् , तिला संक्रान्ति मनाइरहेकै छन्, माघे वा मकर संक्रान्ति मनाइरहेकै छन् परम्परा अनुसार । र माघ होइन माघी हो भनेर पनि ठूलो स्वरमा तिनै उफ्रिन्छन् , जसले कहिल्यै माघ मनाएनन । जसले थारुका लागि माघ के हो भन्ने बुझ्दै बुझेनन् । थारुको माघ बारे अध्ययन गदैनन् वा गर्नै चाहदैनन् । माघमा तिलको लड्डु खाएर मात्रै थारुको माघको अर्थ बुझिदैन । तिलको लड्डु खाएर माघीको वकालत भने पक्कै गर्न सकिएला । तर माघलाई बुझ्न ढिक्री खानपर्छ, सिढ्रक चटनी खान पर्छ, बिहानै नुहाएर ठूलालाई ढोगभेट गर्नपर्छ, गाउँको खेल (बैठक)मा गएर भलमन्सा, बरघरिया, गुरुवा भर्रा, चिरकिया चुन्नु पर्छ । अरु थुप्रै गतिविधीबारे जान्न जरुरी हुन्छ ।

माघको महत्व बुझ्न थारु भाषा संस्कृति विज्ञको संगत पनि गर्नपर्छ कि त पश्चिम तराईका थारु गाउँहरु पुग्नैपर्छ । ठूला शहर वा देश बाहिर बाट माघी माघीको रटानले मात्रै तर्क गर्न पर्याप्त हुदैन । माघ मनाउने समुदायबिचमा गएर, त्यहाँका बृद्धबृद्धाहरुसंगको कुराकानी र बुद्धिजीविहरुसंगको बहसपछि मात्र माघको वकालत गर्नेहरुसंग जोहारी खेल्दा राम्रो हुन्छ ।
थारुहरुको जनसंख्यामात्रै देशको चौथो ठूलो जनसंख्या होइन, थारु भाषा पनि देशको चौथो ठूलो भाषा अन्तर्गत पर्छ । थारु भाषीहरुको संख्या १,५२९,८७५ रहेको छ । यो संख्या ५.७७ प्रतिशत हुन आउछ ।
यति ठूलो संख्यामा रहेका थारु जातीको भाषामा औपचारिक शिक्षा दिने गरेको पाइदैन, न त थारु बाहुल्य क्षेत्रमा थारु भाषालाई सरकारी कामकाजको भाषा बनाएको पाइएको छ । केही स्थानीय तहले थारु भाषालाई पनि सरकारी कामकाजको भाषाको रुपमा घोषणा गरेता पनि कार्यान्वयन पक्ष निकै फितलो रहेको छ ।

यस वर्षको आदिबासी दिवस विश्वका आदिबासीका भाषाहरुमा केन्द्रित रहेको थियो । जसको प्रमुख उदेश्य आदिबासीका भाषाहरुलाई राष्टिय र अन्तराष्टिय तहमा पुनर्जीवन दिने , संरक्षण गर्ने र प्रवद्र्धन गर्ने र विशेषज्ञ र अन्तरक्रियात्मक प्यानल मार्फत राम्रो अभ्यासहरु साझा गर्ने र आदिबासी भाषाहरुमा नवीन पहलहरुको प्रस्तुतीकरणको महत्वपूर्ण आवश्यकतालाई उजागर गर्नु थियो । विश्वमा (७००००) सात हजार जति आदिबासीका भाषा रहेका छन् । यी मध्ये धेरै आदिबासी भाषाहरु हराइरहेका छन् । नेपालमा पनि आदिबासी कुसुण्डा, बनकरिया लगायतका भाषा लोप हुने अवस्थामा रहेका छन् । यी भाषा जोगाउन नसक्ने हो भने उक्त भाषा हराउने स्थितीमा पुगेका छन ।

थारु भाषा अहिलेनै लोप हुने स्थितीमा नरहेता पनि थारु भाषाको प्रायेगमा नेपालीकरण हुने दर डरलाग्दो छ । यसो हुदाँ थारु भाषाको आफ्नो मौलिकतामा आँच पर्न जान्छ । थारु मौलिक शब्दहरुको नेपालीकरण हुन जादा भोलीका सन्ततीहरु आफ्नो मौलिक भाषा र शब्दप्रति अपरिचित हुन जान्छन् । थारु भाषा संस्कृतिका विषयमा चासो राख्ने तप्काबिचमा गम्भिर विचारविमर्श हुन जरुरी छ ।

थारु भाषामा पाठ्यक्रम भइदिएको भए, थारु भाषा सरकारी कामकाजको भाषाको रुपमा प्रयोग भैदिएको भए थारु भाषा र थारु मौलिक शब्दहरु स्थापित भैसक्ने थिए । जुन बहस गर्नुपर्ने विषयनै होइन, माघ र माघीको, यस्तो बहसनै हुने थिएन । जस्तो माथिनै मैले उल्लेख गरिसकेको छु , यो बहस फेसबुकमा खुबै देख्न सकिन्छ । तर माघ माघीको बहस नगर्नेहरु चुपचाप माघ मनाउछन् गाउँघरमा । ति चुपचाप माघ मनाउनेहरुलाई लाग्दो हो, ‘ठूला शहरमा पो माघी मनाउछन् , माघीको नाममा ठूला माघी महोत्सव मनाउछन्, हामी गाउँमा बस्नेले मनाउने त माघ हो ।’ शहरका केही तथाकथित बुद्धिजीवि तप्काले तिनका माघलाई माघी भनि घोषणा गरि दिदैमा, तिनको माघ कहाँ माघी भैहाल्छ र ? ठूला शहरका बुद्धिजीविले आफ्नो ब्यानरमा माघी लेख्न सक्लान् तर माघ मनाउने थारुको जनजिब्रोमा किला ठोकेर माघी झुण्ड्याउन भने सक्दैनन् ।