दासता विरुद्ध जित हासिल गरेकी उर्मिला चौधरी !(एकचोटि अवश्य पढ्नुस)।

दाङको साबिस गढवा गाविसकी उर्मिला चौधरी साढे ५ वर्षको उमेरमै मालिकको घरमा कमलरी बस्न बाध्य भइन् । १२ वर्ष नारकीय कमलरी जीवन बिताएकी उनी २०६२-०६३ को आन्दोलनताका कमलरी जीवनबाट मुक्त भइन् । मुक्त भएसँगै उर्मिलाले आफूजस्तै कमलरी जीवन बिताइरहेकाहरूलाई मुक्त गर्न निक्कै संघर्ष गरिन् । उनी अध्यक्ष रहेको मुक्त कमलरी विकास मञ्चको पहलमा साढे १२ हजार कमलरी मुक्त भए । मानवअधिकार र स्वतन्त्रताको पक्षमा गरेको संघर्षबापत उनले कैयन अन्तर्राष्ट्रिय ‘अवार्ड’ समेत पाएकी छिन् । उनको कमलरी जीवन गाथा उनकै शब्दमा :

म कमलरी बस्दा साढे ५ वर्षकी मात्र थिएँ । वर्ष भने याद छैन । जीवनमा मलाई पहिलोचोटि नयाँ फ्रक र चप्पल दिइएको थियो । जीवनमा पहिलोचोटि नयाँ कपडा पाएकोमा म दंग थिएँ । त्यति वेला हामी खाली खुट्टै हिँड्ने गथ्र्यौँ ।  मालिकका छोराछोरीले लगाएका झुत्रा कपडा लगाउँथ्यौँ । कपडा पाएको भोलिपल्टै मसहित ९ जना बालिकालाई त्यसैगरी नयाँ कपडामा सजायर हाम्रो गाउँ गढवा गाविसको मानपुरबाट घोराही लगियो । त्यसअघि म कहिल्यै घर छाडेर बाहिर गएकी थिइनँ ।

मलाई अनौठो लागिरहेको थियो । मैले मोटरगाडी देखेको पनि त्यति वेलै हो । हामीलाई लमही बजारबाट गाडी चढाएर घोराहीसम्म ल्याइयो । त्यहाँ बिहेको भोज रहेछ । हामीले टन्नै पहिलोपटक मीठो खानासमेत खान पायौँ । बिहेपछि जन्ती बिदाइ गर्ने वेला मलाई दुलहीसँगै काठमाडौं लगियो । घरबाट मसँगै आएका दाजु र बहिनी पनि सँगै जान्छन् होलाजस्तो लागेको थियो । तर, उनीहरू गएनन् । बिदा हुँदै गर्दा दाजुका आँखाभरि आँसु थिए ।

समाचार सुनिसकेपछि बल्ल पो मेरा आँखा खुले । यतिका वर्ष मलाई गैरकानुनी रूपमा बन्धक बनाइएको रहेछ भन्ने चाल पाएँ । त्यसपछि घरबाट बाहिर निस्कने उपायको खोजीमा लागेँ ।

म पनि एक्लै परेपछि रुन थालेँ । तर, मेरा आँसुको त्यहाँ कुनै अर्थ थिएन । पछि थाहा पाएँ, मलाई दुलहीसँगै ‘दाइजो’ स्वरूप काठमाडौं पठाइएको रहेछ ।  त्यो समय घरमा कमलर–कमलरी राख्नु ठूलाबडाका लागि प्रतिष्ठाको विषय थियो । धनीका घरमा गरिबका चेलीबेटी बन्धकजस्तै राखिन्थे ।

गाउँका धनीमानी जमिन्दार छोरीको विवाह गरेर पठाउँदा गरिबका छोराछोरी दाइजोका रूपमा सँगै पठाउँथे । मलाई पनि त्यस्तै दाइजोका रूपमा कमलरी बस्न पठाइएको थियो । काठमाडौं पुगेपछि मेरो दिनचर्या पूरै फेरियो । ठूलाबाट पाउने माया, स्नेह सबै हरायो । दिनरात काम र मालिकको सेवामा नै बिताउन थालेँ ।

खाना बनाउने, भाँडा माझ्ने, कपडा धुने, केटाकेटीलाई विद्यालय पु‍-याउने सबै काम मैले गर्नुपथ्र्यो ।  मलाई नाम लिएर कसैले बोलाउँदैनथे । सबैले ‘ए थरूनी’ भन्थे । दिनरात नभनी काम गरे पनि जस दिँदैनथे । एकचोटि काम बिगार्दा मेरो जिउमा तातोपानी खन्याइयो । अर्कोचोटि छात्तीमा चोट लाग्ने गरी लडाए । कलिलै उमेरमा चोट लागेकाले होला अहिले पनि जाडोमा छाती दुख्ने गर्छ । मैले थाहा पाएअनुसार पढाउने सर्तमा दुलहीसँगै काठमाडौं पठाउन मेरा अभिभावक राजी भएका थिए । तर, मलाई कहिल्यै स्कुल पठाइएन् । 

त्यो समय बुबाआमासँग पनि मलाई भेट गर्न दिएनन् । पूर्णतः टुहुरो र कष्टप्रद जीवन थियो मेरो । कतिचोटि त आत्महत्यासमेत गरुँजस्तो लाग्थ्यो । तर, गर्न सकिनँ । जीवनमा एकचोटि आमाबुबा र दाजुबहिनीसँग भेट्ने आशाले गर्दा आत्महत्या गर्न सकिनँ । 

१२ वर्षपछि दाजुसँग भेट 

जीवन पीडाको भुमरीमा नै अल्झिएको थियो । पीडा सहनु नै जिन्दगीजस्तो लाग्थ्यो । मालिकका छोराछोरीले पाएको स्याहारले मन पोल्दथ्यो । गाउँको याद आउँथ्यो । आमाबुबाको याद आउँथ्यो । तर, ती याद मालिकको आदेशसँगै भताभुंग हुन्थे । २०६२÷०६३ को जनआन्दोलनपछि एक दिन टेलिभिजनमा ‘मुक्त कमलरी’सम्बन्धी समाचार देखेँ । त्यो समाचार दाङकै थियो । लुकिछिपी हेरेको समाचारमा मैले बर्को ओढेका आफ्नै दाजुलाई देखेँ । दाजुलाई देख्नेबितिक्कै खुसीले आँखाबाट आँसु झरे । 

समाचार सुनिसकेपछि बल्ल पो मेरा आँखा खुले । यतिका वर्ष मलाई गैरकानुनी बन्धक बनाइएको रहेछ भन्ने चाल पाएँ । त्यो दिनपछि घरबाट बाहिर निस्कने उपायको खोजीमा लागेँ ।  साहुनीसँग बाहिर जाने जिद्दी गर्न थालेँ । जान नदिए घरभित्रै आत्महत्या गर्नेसमेत धम्की दिएँ । तर, उनीहरूले मलाई घरबाट बाहिर निस्कन दिएनन् । तर, मेरो आँट डगमगाएन । 

एक दिन जसोतसो घरबाट निस्केर सोधखोज गर्दै काठमाडौंमा मुक्त कमैयाले आन्दोलन गरिरहेको ठाउँसम्म पुगेँ । त्यही आन्दोलनमा दाजुसँग मेरो भेट भयो  । करिब १२ वर्षपछि दाजुलाई भेट्दा आँखामा आँसु आए ।  हामी दाजुबहिनी एकै ठाउँमा बसेर खुब रोयौँ । त्यही दिन दाजुले गाउँका सचिवको फोन नम्बर लेखेर दिनुभयो । मैले घर फर्केर सम्पर्क गरेँ । त्यसको केही दिनमै दाजु काठमाडौं लिन आउनुभयो । ०६३ माघ १ गते करिब १२ वर्षको कमलरी जीवनबाट म मुक्त भए । 

१७ वर्षमा अक्षर चिनेँ 

त्यति वेला गाउँमा कमलरी मुक्ति आन्दोलन चर्केको थियो । काठमाडौंबाट फर्केर गाउँ पुग्नेबित्तिकै म आन्दोलनमा सहभागी भएँ । आफूले जस्तै अरूले अब यस्तो पीडा व्यहोर्न नपरोस् भन्ने मनमा थियो । आन्दोलनका क्रममा धेरै स्थानबाट कमलरीलाई मुक्त गरियो । 

एकातर्फ सामाजिक आन्दोलनमा सहभागी थिएँ भने अर्कोतर्फ आफ्नो भविष्यबारे पनि सोच्नुपर्ने बाध्यता थियो । त्यति वेलासम्म अक्षर चिनेकी थिइनँ । पम्प्लेटमा लेखेको नारा अरूले पढेर सुनाउथे । म त्यही याद गरेर नारा लगाउँथे । १७ वर्षको उमेरमा विद्यालय भर्ना भएँ । सुरुमा दुई महिना गाउँकै घोडाहा भन्ने ठाउँको इइपी कक्षा (ब्रिज कोर्स) मा पढेँ । त्यहाँ कखरा अक्षर र प्लस, माइनस चिह्न सिकेँ । दुई महिनापछि गढवा जनता उच्च माविमा भर्ना भएँ ।

कक्षा ३ र ४ एकै वर्ष पार गरेँ । पढाइ राम्रो भएकाले अर्को वर्ष ५ कक्षामा भर्ना हुन पाएँ । कक्षा ५ मा तेस्रो भएँ । कक्षा ७ मा प्रथम भएँ । त्यसपछि झनै हौसला बढ्यो । यसरी पढ्दै गर्दा आज म स्नातक तहमा कानुन विषयको अध्ययन गर्दै छु । विगतका कहालीलाग्दा दिन सम्झँदा अहिले पनि मन भारी हुन्छ । अबका दिनमा कसैले यस्तो भोग्नु नपरोस् भन्ने लाग्छ । मुक्त कमलरी विकास मञ्चको पहलमा करिब साढे १२ हजार कमलरीहरू मुक्त भएका छन् ।

कमलरीहरू मुक्त भए पनि जीवनयापनमा भने उस्तै कठिनाइ छ । कानुनमा मुक्त, तर कार्यान्वयन निकै सुस्त छ । लुकिछिपी कति स्थानमा अझै पनि कमलरी राख्ने प्रचलन कायमै छ । हामीले मुक्त कमलरीलाई आइपर्ने समस्या सुल्झाउन संस्थागत रूपमा नै पहल गरिरहेका छौँ । यद्यपि, हाम्रो प्रयासले मात्र यो सम्भव देखिँदैन । मुक्त भएका कमलरीलाई सर्वप्रथम दक्ष र आत्मनिर्भर बनाउन आवश्यक छ ।(नयाँ पत्रीकाबाट)