दूधको मूल्य १० रुपैयाँ बढाउन कार्यदलको सिफारिस

1506

काठमाडौं । सरकारले दूधको मूल्य बढाउने भएको छ । दुग्ध किसान तथा डेरी उद्योगीको चर्को दबाबपछि सरकारले दूधको मूल्य बढाउन लागेको हो । मूल्यकै सन्दर्भमा कृषि तथा पशुपन्छी विकास मन्त्रलालयद्वारा गठित कार्यदलले सोमबार मूल्य बढाउनुपर्ने सुझावसहितको प्रतिवेदन मन्त्री चक्रपाणि खनाललाई बुझाएको छ । डेरी व्यवसायीकै मागअनुसार नयाँ मूल्य सिफारिस गरेको  कार्यदलले दूधको दुई थरी मूल्य निर्धारण गर्न सुझाव दिएको छ । व्यवसायीहरुले प्रतिलिटर १० रुपैयाँ मूल्यवृद्धिको माग गरेका थिए । कार्यदलले पनि सुक्खायाम चैतदेखि भदौसम्म प्रतिलिटर कच्चा दूधको मूल्य १० रुपैयाँ र असोजदेखि फागुनसम्मको मूल्य प्रतिलिटर ६ रुपैयाँ वृद्धि गर्न सुझाव दिएको मन्त्री खनालका प्रेस संयोजक वोललाल गिरीले जानकारी दिए । सोहीअनुसार मूल्य वृद्धि भएमा उपभोक्ता मूल्य प्रतिप्याकेट ४५ रुपैयाँ पर्नेछ । हाल प्रतिप्याकेट उपभोक्ता मूल्य ३५ रुपैयाँ रहेको छ । 

मन्त्रालयले उक्त प्रतिवेदन दुग्ध विकास संस्थान (डिडिसी) पठाउने र डिडिसी सञ्चालक समितिको बैठकले नयाँ मूल्य कार्यान्वयनमा ल्याउनेछ । मन्त्रालयले दुग्ध विकास संस्थानका निमित्त कार्यकारी निर्देशक बाबुकाजी पन्तको संयोजकत्वमा कार्यदल गठन गरेको थियो । कार्यदलमा नेपाल डेरी एसोसिएसन, डेरी उद्योग संघ, मन्त्रालयका प्रतिनिधि, केन्द्रीय दुग्ध सहकारी संघका प्रतिनिधिको संलग्नता रहेको थियो । कार्यदललाई मूल्य निर्धारणको आधार विश्लेषण, क्षेत्रगतरूपमा दूधको उत्पादन लागत विश्लेषण, दूध ढुवानी र चिस्यान खर्च तथा दूध उत्पादनमा मौसमी प्रभावजस्ता नौवटा विषयको अध्ययन तथा विश्लेषण कार्यादेश दिइएको थियो । त्यसैगरी, दूधको गुणस्तर, आन्तरिक तथा बाहृय बजारसँग प्रतिस्पर्धा, मुद्रा स्फीतिदर र विगत दुई वर्षको बजार मूल्य वृद्धि, विगतका ५ वर्षमा दूधको मूल्यको अवस्था र दूधको मूल्य समायोजनमा उपभोक्तामा असर विश्लेषणबारे पनि कार्यदलले अध्ययन गरेको थियो ।

दुग्ध किसानले दूधको मूल्य बढाउनुपर्ने माग गर्दै भदौ पहिलो सातासम्म अल्टिमेटम दिएका थिए । केन्द्रीय दुग्ध सहकारी संघले बजारमा अन्य उपभोग्य वस्तुलगायत पशु आहारा ढुटो, दाना, चोकर र कृषि श्रमिकको निरन्तर मूल्यवृद्धि भएकोले दूधको मूल्य हुनुपर्नेमा माग गरेको हो । हाल नेपालमा दैनिक ४ लाख लिटरको हाराहारीमा दूध उत्पादन हुँदै आएको छ । तर बजार माग भने दैनिक ५ लाख लिटर दूधको रहेको व्यवसायी बताउँछन् । करिब एक लाख लिटर दूध बजारमा अपुग रहेको छ । बजारमा पाउडर दूधको माग २५ सय देखि ३ हजार मेट्रिकटनको हाराहारीमा रहेको छ । ३ वटा पाउडर प्लान्टबाटसमेत पाउडर दूधको माग पूरा गर्न सकिएको छैन । हाल दैनिक १ हजार देखि १२ सय मेट्रिकटनको हाराहारीमा पाउडर दूध उत्पादन हुने गरेको व्यवसायीले बताएका छन् । पाउडर दूध प्रतिकेजी ५ सय ५० रुपैयाँ रहेको छ । गतवर्ष पाउडर दूधको मूल्य ४ सय ५० रुपैयाँ प्रतिकेजी थियो । 

मूल्यबृद्धिविरुद्ध उपभोक्ताकर्मी

उपभोक्ताकर्मीले भने मूल्य बृद्धिको विरोध गरेका छन् । सरकारले डेरी व्यवसायी र व्यवसायिक कृषकको दवावमा कच्चा दूधको मूल्य बढाउन लागेको उनीहरुले आरोप लगाएका छन् । किसानको नाममा मूल्य बृद्धि गरिएपनि साना कृषकले मूल्य नपाउने, डेरी व्यवसायी र व्यवसायिक किसानमात्रै मोटाउने राष्टिय उपभोक्ता मञ्चका अध्यक्ष प्रेमलाल महर्जनले बताए । मूल्यबृद्धिबाट सर्वसाधारण उपभोक्ता थप मारमा पर्ने उनको भनाइ छ । उनले हिमालय टाइम्ससँग भने– सरकारले डेरी व्यवसायी र व्यवसायिक कृषकको पृष्ठपोषण हुने गरी जुन मूल्य बढाउने तयारी गरेको यसले सर्वसाधारण उपभोक्ता मर्कामा पर्नेछन् । अनुचितरुपमा मूल्य बढाएर सरकार आफैले कालोबजारी गरिरहेको छ, उपभोक्तालाई ठगिरहेको छ । उनका अनुसार सरकारले मूल्य बढाएपनि साना किसानले प्रतिलिटर ५० रुपैयाँ पनि पाउने गरेका छैनन् ।