धान उत्पादन बढाउने चुनौती

128

चालु आर्थिक वर्ष २०७६-७७ मा धान उत्पादन घटेको छ । गत आर्थिक वर्ष हालसम्मकै उच्च ५६ लाख १० हजार मेट्रिक टन धान उत्पादन भएको थियो । यस वर्ष ५९ हजार मेट्रिक टन कम भएको छ, जो एक प्रतिशत हो । गत वर्षभन्दा कम भए पनि आर्थिक वर्ष २०७४-७५ को भन्दा ४ लाख ५९ हजार मेट्रिक टन बढी हो । कुल उत्पादन घटे पनि यस वर्षको उत्पादकत्व भने हालसम्मकै उच्च देखिएको छ । 

गत वर्ष उत्पादकत्व प्रतिहेक्टर ३.७६ मेट्रिक टन रहेकोमा यस वर्ष झिनो वृद्धि भई ३.८ मेट्रिक टन पुगेको छ । उत्पादकत्व बढ्दा कुल उत्पादन पनि बढ्नुपर्ने हो । उत्पादकत्व बढ्नु तर कुल उत्पादन घट्नुको अर्थ हो खेतीको जमिन घट्नु । गत वर्षभन्दा चालु आर्थिक वर्षमा ३२ हजार ८२९ हेक्टर कममा धानखेती भएको छ । धानखेत नघटेको भए यस वर्षको उत्पादकत्वमा ६४ हजार मेट्रिक टन बढी उत्पादन हुने थियो । र, सर्वाधिक उत्पादनको वर्ष हुने थियो । 

आर्थिक वर्ष २०७२-७३ को तुलनामा यस वर्षको उत्पादन करिब २९ प्रतिशत बढी हो । यस अर्थमा सन्तोषजनक मान्न सकिए पनि हाम्रो उत्पादकत्व भने साह्रै कम छ, दुई छिमेकी भारत र चीनको तुलनामा आधामात्रै । हाम्रो खेती प्रणालीमा उत्पादकत्व हृवात्तै बढाउन कठिन छ । विभिन्न कारणले धानखेतको क्षेत्रफल घट्दै गएको छ । चैते धानको उत्पादकत्व बढी छ तर खेती कम हुन्छ । उत्पादन बढाउन चैते धानखेती बढाउन आवश्यक छ । 

चामलमा आत्मनिर्भर हुन अहिलेको धान उत्पादन करिब २५ प्रतिशत बढ्नुपर्छ । वार्षिक कम्तीमा २५ अर्ब रुपैयाँको चामल आयात हुने गरेको छ । नेपालले धानचामल निर्यात गर्नुपर्ने थियो । परम्परागत प्रविधिको खेतीमा पनि करिब चार दशक अघिसम्म निर्यात गरेको पनि हो । त्यसपछि क्रमशः आयात हुन थाल्यो र बढ्दै गयो । जनसंख्या वृद्धिको तुलनामा उत्पादन र उत्पादकत्व बढेन तर धानखेत घट्दै गयो । नयाँ प्रविधि विकासले उत्पादकत्व बढाउन मद्दत गरेको छ तर व्यावसायिकता बढ्न सकेको छैन । 

धानखेत जोगाउनु र उत्पादकत्व बढाउनु दुई मुख्य चुनौती छन् । प्रभावकारी भूउपयोग नीति र कानुन नहुँदा राज्य धानखेत जोगाउन असफल हुँदै गएको छ । सदरदर साढे १४ लाख हेक्टरमा नघटाई धानखेती गर्ने हो भने उत्पादकत्व प्रतिहेक्टर ५ मेट्रिक टन पु¥याउन सकेमात्र बढ्दो जनसंख्याका लागि आत्मनिर्भर हुन सकिन्छ । अहिलेको निर्वाह खेती, परम्परागत प्रणालीको बाहुल्यमा उत्पादन बढाउन कठिन छ । बिउ, मल, सिँचाइ, वातावरण अनुकूलता, उपकरण लगायतको आधुनिक प्रयोगले मात्रै उत्पादकत्व बढ्न सक्छ । 

खेतीको माटोको गुणस्तर ह्रासोन्मुख छ । यस्तोमा उत्पादन बढाउन हाइब्रिड जात, रासायनिक मल र विषादीको बढ्दो प्रयोगले एकातिर रैथाने जात मासिँदो क्रममा छ भने अर्कातिर पारिस्थितिक प्रणालीमा विनाश बढ्दो छ । सन्तुलित ढंगले उत्पादन बढाउन वैज्ञानिक अध्ययन÷अनुसन्धान उत्तिकै आवश्यक छ । यसतर्फ भने सरकारको ध्यान कम छ । पकेट क्षेत्र तोकेर कृषकलाई सहयोग बढाउने सरकारको काम सराहनीय छ । धानखेत जोगाउने कदम अविलम्ब आवश्यक छ ।