नेमारमाथिको बलात्कार आरोपको अनुसन्धान बन्द

1183

साउ पाउलो । ब्राजिलका स्टार नेमारमाथि लागेको बलात्कारको आरोपको अनुसन्धान आवश्यक प्रमाण नपुगेको भन्दै प्रहरीले बन्द गरिदिएको छ । ब्राजिलको साउ पाउलोको अटोर्नी जनरल कार्यालयले प्रमाणका नपुगेका कारण नेमारको अनुसन्धान बन्द गरिएको जनाएको हो । ब्राजिलकी मोडल नाजिला ट्रिन्डान्डेले गत मे मा पेरिसको एक होटलमा बालात्कार गरेको आरोप लगाएपछि नेमारमाथि अनुसन्धान थालिएको थियो । नेमारले भने उनी आफू चर्चित बन्न मुद्दा लगाएको भन्दै सधैं आफ्नो बचाउ गरेका थिए ।

नेमारका प्रवक्ताले एएफपीलाई प्रहरीले मुद्दा बन्द गरेको विषयमा कुनै पनि प्रतिक्रिया दिन नचाहेको बताएका छन् । ती मोडेलले नेमारमाथि बलात्कारको आरोप लगाएपनि नेमार स्वयंले सामाजिक सञ्जालमा ७ मिनेटको भिडियो पोष्ट गर्दै उनले लगाएको आरोप झुठो भएको बताएका थिए । त्यसपछि त्यस खबरले तरंग ल्याएको थियो । नेमारले ती महिलाले पठाएका नग्न तस्वीर र अश्लील म्यासेजहरू पनि सार्वजनिक गरिदिएका थिए । त्यसपछि ती मोडलले पनि होटलमा नेमारसँग भएको घटना भन्दै एउटा भिडियो सार्वजनिक गरिन् । जसमा सुरुमा नेमार र ती मोडल एक कोठामा पुगे पनि लगत्तै ती मोडल नेमारमाथि आक्रामक बनेको देखिएको थियो ।