पुरुष क्रिकेटमा श्रीलंकासँग पहिलो खेल

116

काठमाडौं । दक्षिण एसियाली खेलकुद (साग)अन्तर्गत पुरुष क्रिकेटमा नेपालले पहिलो प्रतिद्वन्द्वीका रूपमा श्रीलंकालाई पाएको छ । राष्ट्रिय खेलकुद परिषद्ले जारी गरेको खेल तालिका अनुसार त्रिवि क्रिकेट मैदानमा नेपालले पहिलो खेल श्रीलंकाको यु–२३ टोलीसँग मंसिर १८ गते खेल्नेछ ।

सागको पुरुष क्रिकेटमा पाकिस्तान र भारतबाहेक बंगलादेश, भुटान, श्रीलंका, माल्दिभ्स र नेपालको सहभागिता रहनेछ । टेष्ट राष्ट्र बंगलादेश र श्रीलंकाको यु–२३ टिम र बाँकी देशको राष्ट्रिय टोलीबीच प्रतिस्पर्धा हुनेछ ।

यस्तै अर्को खेल नेपालले मंसिर १९ मा नेपालले भुटानसँग खेल्नेछ । मंसिर २० मा नेपालले माल्दिभ्ससँग खेल्नेछ । मंसिर २१मा नेपालले बंगलादेश यु २३सँग खेल्नेछ । मंसिर २३मा कास्य पदका लागि लिग चरणका तेस्रो र चौथो स्थानका टोलस् भिड्ने छन् । मंसिर २४मा स्वर्ण पदका लागि लिग चरणका शीर्ष दुई टोलीबीच प्रतिस्पर्धा हुनेछ । सबै खेल टियु क्रिकेट मैदानमा हुनेछन् । फाइनल, पहिलो खेल, र कास्य पदका लागि खेल बिहान ११ बजेबाट सुरु हुनेछ । लिग चरणका खेल बिहान ९ र दिउँसो १ बजेपछि सुरु हुनेछ ।

राउन्ड रोबिनका आधारमा सबै टोलीले एक अर्कासँग खेलिसकेपछि समूहको शीर्ष दुईमा रहने टोलीहरू सिधैं फाइनल खेल्नेछन् । यस्तो दोस्रो र तेस्रो स्थानमा रहने टोलीबीच तेस्रो स्थानका लागि प्रतिस्पर्धा हुनेछ । सागका लागि नेपालले यसअघि नै ज्ञानेन्द्र मल्लको कप्तानीमा टोली घोषणा गरिसकेको छ ।

टोलीमा ज्ञानेन्द्रसँगै पारस खड्का, सन्दीप लामिछाने, दीपेन्द्र सिंह ऐरी, करण केसी, सोमपाल कामी, बिनोद भण्डारी, अभिनास बोहरा, सन्दीप जोरा, आरिफ शेख, पवन सर्राफ, ललित नारायण राजवंशी, कुशल भुर्तेल, सुशन भारी र राशिद खान छन् । 

महिला क्रिकेटमा चार देशमात्रै

यस्तै महिला क्रिकेटमा ४ देशलेमात्रै सहभागिता जनाउने भएका छन् । राष्ट्रिय खेलकुद परिषद्ले जारी गरेको खेल तालिका अनुसार पोखरा रंगशाला क्रिकेट मैदानमा नेपालले पहिलो खेल माल्दिभ्ससँग मंसिर १७ गते खेल्नेछ ।

सागको महिला क्रिकेटमा पाकिस्तान, भारत र भुटानबाहेक बंगलादेश, श्रीलंका, माल्दिभ्स र नेपालको सहभागिता रहनेछ । राउण्ड रोबिनका आधारमा सबै टोलीले एकअर्कासँग खेलिसकेपछि समूहको शीर्ष दुईमा रहने टोलीहररू सिधंै फाइनल खेल्नेछन् । यस्तो दोस्रो र तेस्रो स्थानमा रहने टोलीबीच तेस्रो स्थानका लागि प्रतिस्पर्धा हुनेछ । 

साग खेल्ने नेपाली टोलीमा रुविना क्षेत्री (कप्तान), सीता रानामगर, इन्दु बर्मा, काजल श्रेष्ठ, करुणा भण्डारी, अप्सरी बेगम, सोनु खड्का, सरस्वती चौधरी, ममता चौधरी, अञ्जली चन्द, सरिता मगर, शान्ति खतिवडा, रोमा थापा, डली भट्ट र कविता कुवँर छन् ।