पुस्तक : सावित्री थापा अभिनन्दन ग्रन्थ

हालै साहित्यकार तथा समाजसेवी सावित्री थापाको हिरक जयन्तीको सन्दर्भमा ‘सावित्री थापा अभिनन्दन ग्रन्थ’ प्रकाशित भएको छ । जंगम प्रतिष्ठानले सावित्री थापा ७५ वर्ष पुगेको सन्दर्भमा उनको सम्मानमा यो पुस्तक प्रकाशित गर्ने निर्णय गरी यसको प्रकाशनको जिम्मेवारी लिएको थियो र यसको तयारी यस प्रतिष्ठानअन्तर्गत ‘हिरक महोत्सव समारोह समिति’ ले गरेको थियो । 

भक्तपुरका टौमढी टोलका जंगमहरू खान्दानी थिए । गोविन्दहरि जंगम त्यहाँका धनीमानी र प्रतिष्ठित मानिन्थे । उनी २००७ सालको प्रजातन्त्रअघि नै २००४ सालमा गठित नगरपालिकको प्रमुख भइसकेका थिए । त्यसपछि, उनी तत्कालीन व्यवस्थापिकको सदस्य पनि भए । यही व्यवस्थापिकाले २००७ सालमा राजा त्रिभुवनलाई पदच्युत गर्ने र ज्ञानेन्द्रलाई राजा घोषाण गर्ने काम गरेको थियो । यस्तो निर्णय भएको तीन महिनामै उक्त निर्णय पनि उल्टियो । यसरी उनी त्यस समयका प्रभावशाली व्यक्ति हुन् भन्ने थाहा हुन्छ । 

उनको घर बजारमा धेरै चोक भएको र राणाको निवासहरूसँग दाँजिने खालको थियो । हो त्यही परिवारकी छोरी हुन् सावित्री जंगम थापा । गोविन्दहरि जंगम र जमुना जंगम सावित्रीकी बुबाआमा हुन् । पुस्तकको सम्पादन गरेका छन् साहित्यकार हरि मञ्जुश्रीले । 

जंगम प्रतिष्ठानको अध्यक्ष प्रसिद्ध साहित्यकार भरत जंगम हुन् । पुस्तकमा सम्पादकीय पछि अध्यक्ष भरत जंगमले प्रकाशकीय लेखेका छन् । पुस्तक कडा गाता (हार्ड कभर) मा ६ सय पृष्ठको छ तर मूल्य उल्लेख छैन । यसको मतलव यो निःशुल्क वितरणका लागि हो भन्ने बुझिन्छ । अग्र आवरणमा सावित्री थापाको फोटो राखिएको छ भने पृष्ठ भागमा प्रतिष्ठानले थापामा समर्पण गरेको अभिनन्दन पत्र रहेको छ । पुस्तक नौ खण्डमा विभाजित छ ।

पहिलो खण्डमा सावित्री जंगम थापाको जीवनी र व्यक्तित्वसम्बन्धी दुइवटा लेख छन् । पहिलो लेख उनको जीवनी झल्किने गरी उनकै भाइ तथा जंगम प्रतिष्ठानका अध्यक्ष भरत जंगमले लेखेका छन् । यस लेखमा सावित्री थापाको बाल्यावस्था, शिक्षादीक्षा, बसाइँसराइ, लेखन तथा साहित्य सिर्जना, सामाजिक सेवा, विवाह आदि कुराको चर्चा गरिएको छ । लेखको शीर्षक ‘दिदी सावित्री थापाको जीवन यात्रा’ रहेको छ । दोस्रो लेख ‘सावित्री जंगम थापाको जीवनी र ‘व्यक्तित्वको अध्ययन’ शीर्षकमा रञ्जना शर्माले लेखेकी छन् । यो लेखमा पनि उनका शिक्षा, विवाह, सेवा, बसाइँसराइ, लेखन, पुरस्कार, व्यक्तित्व, समाजसेवा, अध्यात्म आदिको चर्चा छ । 

पुस्तकको दोस्रो खण्डमा ‘सावित्री जंगम थापासँगका संस्मरणहरू’ रहेका छन् । यस खण्डमा ३७ वटा लेख रचनाहरू विभिन्न शीर्षकमा विभन्न व्यक्तिले लेखेका छन् । खण्ड तीनमा ‘सावित्री थापाको व्यक्तित्व मूल्यांकन’ रहेको छ । यस खण्डमा ५२ वटा लेख रचनाहरू रहेका छन् । खण्ड चारमा ‘सावित्री जंगम थापाको कृतित्व मूल्यांकन’ रहेको छ । यस खण्डमा ११ वटा लेख रचना रहेका छन् । 

खण्ड पाँचमा ‘सावित्री जंगम थापामाथि अंग्रेजी भाषामा अभिव्यक्ति’ रहेको छ जसमा अंग्रेजी भाषामा उनीबारे लेखिएका पाँचवटा लेख रचना समावेश गरिएको छ । खण्ड ६ मा ‘सावित्री जंगम थापामाथि फुटकर लेखन’ रहेको छ । यस खण्डमा ६ वटा लेखहरू रहेका छन् । खण्ड सातमा ‘सावित्री थापाका फुटकर लेख रचना’ शीर्षक रहेको छ र यसअन्तर्गत १२ वटा लेखहरू संलग्न गरिएका छन् । यी रचनाहरू उनका विभिन्न समयमा विभिन्न पत्रपत्रिकाहरूमा प्रकाशित भएका रचनाहरू हुन् । 

आठौं खण्डको शीर्षक ‘सावित्री जंगम थापासँग लिइएका अन्तर्वार्ता’ रहेको छ । यहाँ उनका प्रकाशित पाँचवटा अन्तर्वार्ता संलग्न गरिएको छ । अन्तिम खण्ड वा खण्ड नौमा ‘सावित्री जंगम थापाले प्राप्त गरेका सम्मान र केही तस्वीरहरू रहेका छन् । यसमा उनले पाएका सम्मान तथा अभिनन्दन पत्रहरूका फोटा र यो पुस्तकमा संलग्न १ सय ३० वटा लेख रचनाका लेखकहरूमध्ये ७६ जनाका फोटाहरू वर्णानुक्रममा राखिएका छन् । पुस्तकमा केही वर्षपहिले नै दिवंगत भएका केही व्यक्तिहरूका लेख रचनाहरू पनि समावेश छन् । उनीहरूले सावित्रीका विषयमा पहिले नै पत्रपत्रिकामा प्रकाशन गरेका रचनाहरू यसरी यहाँ साभार गरिएको हो । 

यो मोटो पुस्तकको छपाइ स्तरीय छ । कागज पनि राम्रो प्रयोग भएको छ । जंगम परिवारकी ज्योतिका रूपमा उनलाई चित्रण गरिएको छ । जंगम परिवार र नातागोताका लेखहरू पनि निकै संख्यामा पुस्तकमा छन् । 

पहिलो संस्करणका रूपमा २०७५ सालमा प्रकाशित यो अभिनन्दन ग्रन्थ पाँच सयको संख्यामा प्रकाशित भएको जनाइएको छ । अंगुरबाबा जोशी, कमलराज रेग्मी, कमल राणा, कल्याणी शाह, ज्योति जंगम, दुर्गा घिमिरे, ध्रुव मधिकर्मी, भुवनेश्वरी पन्त, राधेश्याम कमारो, विश्वबन्धु थापा, आरडीप्रभास चटौत, डा. केदार न्यौपाने, डा. खेम कोइराला बन्धु, गम्भीरबहादुर हाडा, गीता केशरी, दीनबन्धु अर्याल, ध्रुव सापकोटा, नीलकण्ठ भट्टराई, पदमा माथेमा, परशु प्रधान, पुरुषोत्तम दाहाल, बमकुमारी बुढा मगर, मित्रसेन दाहाल, मिना सुवेदी, विमला तुम्खेवा, शान्ता मानवी, शैलेन्द्र साकार, हिरण्यकुमारी पाठक, खेमराज केशवशरण, घटराज भट्टराई, चेतनाथ धमला, तोया गुरुङ, प्रयागराज वाशिष्ठ, प्राडा.बेन्जु शर्मा, डा. वासुदेव त्रिपाठी, सहाना प्रधान, यज्ञेश्वर निरौला, उषा लोहनी, डा. कृष्णप्रसाद भŁट्टराई, हरि मञ्जुश्री लगायतका लेखक साहित्यकार तथा राजनेताहरूका लेख रचनाहरू पुस्तकमा समेटिएका छन् । 

नेपालको पहिलो महिला महाप्रवन्धक, लेखक साहित्यकारलगायत बहुमुखी व्यक्तित्वकी धनी हुन् सावित्री थापा । उनको ओखलढुंगा निवासी भोलामानसिंह थापासँग विवाह भएको थियो । उनका पति भोलामानसिंह पञ्चायत कालको अन्त्यतिर मन्त्री पनि भएका थिए । 

पुस्तकमा यति धेरै लेखकहरूका यति धेरै रचनाहरू समावेश भएर पनि सावित्री थापाका भाइ चर्चित संगीतकार दीपक जंगमको लेख रचना पुस्तकमा नरहनु खट्किने विषय हो । जंगम प्रतिष्ठानका सदस्य तथा पदाधिकारीहरूको तस्वीरसहितको चिनारी दिएको भए ग्रन्थ अझै स्तरीय हुन सक्थ्यो । सावित्री थापाको अभिनन्दन समिति र यो अभिनन्दन ग्रन्थ प्रकाशन समितिका सदस्यहरूको नाम र तस्वीर पनि पुस्तकमा समावेश गरेको भए सुनमा सुगन्ध हुने थियो । ती नामावलीहरू छुट्नाले पनि केही नपुगेको जस्तो देखिएको छ । ती कुराहरू समावेश भएको भए राम्रो मानिने कुरा निर्विवाद छ । यसैगरी, अभिनन्दित व्यक्तित्व सावत्री जंगम थापाको घरपरिवारतर्फको चिनारी पनि अपुग भएको जस्तो देखिन्छ । ओखलढुंगाका नाम चलेका खान्दानी थापा परवारको चिनारी दिइएको भए ग्रन्थको स्तर अझै बढ्थ्यो । ग्रन्थमा जति चिनारी छ त्योभन्दा बढी चिनारी गराइएको भए अझै राम्रो हुन्थ्यो । 

समग्रमा जंगम परिवारले आप्mना कुलकी चेली सावित्रीको यसरी जुन अभिनन्दन ग्रन्थ प्रकाशित गरी उनको सम्मान गरेको छ, यो सराहनीय काम हो । यसबाट अरूलाई पनि यसरी आप्mना कुलदीपकहरूको सम्मानका लागि प्रेरणा पुग्ने कुरा निर्विवाद छ ।