पोखरा रंगशालाको क्षमता २० हजार पु-याइने

पोखरा (रासस) । शिलान्यासको एक वर्षपछि पर्यटकीय शहर पोखरामा देशकै सबैभन्दा ठूलो फुटबल रंगशाला निर्माण अन्तिम चरणमा पुगेको छ ।

गत वर्ष फागुन अन्तिम साता १६ हजार ५ सय दर्शक क्षमताको अन्तर्राष्ट्रिय मापदण्डको रंगशाला चार महिनामा बनाउने लक्ष्यसहित शिलान्यास भएकामा लामो समय रंगशालाको ढाँचा तयार नहुँदा काममा ढिलाइ भएको थियो ।

हाल निर्माणाधीन रंगशालाको ९० प्रतिशत हाराहारी काम सकिएको बताइएको छ । आगामी चैत १५ भित्रमा सम्पन्न गर्ने गरी म्याद थप गरिएको थियो । रंगशालामा अघिल्लो सम्झौता भन्दा तीन हजार ५ सय सिट थप गरिने भएको छ । पर्यटकीय तथा फुटबल आकर्षण रहेको शहर पोखरामा कम्तीमा पनि २० हजार क्षमताको रंगशाला निर्माण गर्न खेलकर्मी माग गर्दै आएका थिए ।

राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्यसचिव रमेशकुमार सिलवालले आगामी तीन महिनाभित्रमा २० हजार दर्शक क्षमताको प्यारापिट तयार गर्नेगरी काम अघि बढेको बताए । यहाँको फुटबल माहोल, प्राकृतिक सुन्दरता आदिका कारणले रंगशालाको क्षमता वृद्धि गर्ने योजनामा पुगिएको उनको भनाइ थियो ।

रंगशालाभित्रसमेत आवश्यकता अनुसार विभिन्न खेलका पूर्वाधारको स्तरोन्नति गरिने सिलवालको भनाइ छ । एक अर्ब २८ करोड लागतमा फुटबल रंगशाला निर्माणको लागि राखेप र एमए कन्स्ट्रक्सन तथा ग्रेट स्पोट्स इन्फ्रा (जेभी)बीच सम्झौता भएको थियो ।

निर्माण चरणमै रहे पनि हिमशृंखला सहितको मनमोहक रंगशालाको सुन्दर तस्वीर यतिबेला स्वदेश तथा विदेशमा चर्चित बनेको छ । सुन्दर शहरमा अन्तर्राष्ट्रियस्तरको आकर्षक फुटबल रंगशाला बनेपछि यसलाई पोखरेलीले गौरवको रूपमा लिएका छन् ।

साउनयता निर्माणकार्यले गति लिएर सागको महिला फुटबल यही खेलाइए पनि अधिकांश काम बाँकी रहेको थियो । सागमा तीन हजार ५ सय सिट जडान गरी प्यारापिट तयार भएकामा हाल मैदानको चारैतिर गरी १६ हजार ५ सय दर्शक अट्ने गरी प्यारापिटमा सिट जडान गरिसकिएको निर्माण कम्पनीले जनाएको छ । रंगशालाको उत्तरमा तीन हजार ४४४, दक्षिणमा तीन हजार ६९०, पश्चिममा तीन हजार ८१४ र पूर्वीभागमा पाँच हजार २६८ सिट जडान गरिएको छ ।

त्यसैगरी अति विशिष्ट कक्षमा २८, विशिष्ट कक्षमा २२८ तथा अशक्तका लागि २८ सिट जडान गरिएको पश्चिमाञ्चल क्षेत्रीय खेलकुद विकास समितिका इञ्जिनियर प्रनिश ताम्राकारले जानकारी दिए ।

निर्माणाधीन रंगशालामा १८औं संस्करणको आहा रारा गोल्डकप फुटबल प्रतियोगिता सम्पन्न भयो । स्वरूप फेरिएको रंगशालाको सुविधासम्पन्न प्यारापिटमा बसेर दर्शकले खेलको मज्जा लिएका छन् । आहा रारामा कोरोना संक्रमणको त्रासका कारणले दर्शक केही कमी भए पनि रंगशाला पुग्ने दर्शक व्यवस्थित रंगशाला देखेर मोहित हुने गरेका छन् ।

‘जुन रंगशाला तयार भएको छ । यो विश्वको अन्य कुनै पनि देशमा यति सुन्दर छैन । बाँसको अस्थायी प्यारापिटमा बसेर खेल हेर्ने हामीहरू अहिले खुशी छौँ,’ फुटबल समर्थक अङ््कित पोखरेलले भने ।

पोखरा फुटबल रंगशाला परियोजनाका प्रबन्धक दीपक बरालले अघिल्लो सम्झौताअनुसार अब केही काम मात्र बाँकी रहेको बताए । थप संरचना निर्माणका लागि काम अघि बढेको उनी बताउँछन् ।्

‘खेलकुदमन्त्री, यहाँका खेलप्रेमी सबैको चाहना पोखरामा बढीभन्दा बढी क्षमताको रंगशाला बन्नुपर्दछ भन्ने छ, यही अवस्थामा समेत २० हजार पु¥याउन सकिन्छ । सोही अनुसार प्यारापिट सामग्री तयार गर्ने कार्य सुरु भएको छ’, प्रबन्धक बरालले भने, ‘अति विशिष्ट प्यारापिटमा छानो छाउने, शौचालयको फिनिसिङ, अति विशिष्ट प्यारापिटको तल कपडा फेर्ने (चेञ्जिड रुम), रेफ्री, मेडिकल कोठा, कन्फ्रेन्स हल, सिष्टम कन्ट्रोल कक्ष, भिआइपी लाउण्ज एण्ड रेष्टुरेन्ट र मिडिया कक्षको काम भइरहे पनि कोरोना भाइरस संक्रमणको त्रासले काममा ढिलाइ भएको निर्माण कम्पनीको दाबी छ ।

तोकिएको समयभित्रमा बाँकी सबै काम सम्पन्न गर्ने तयारी थियो । तर घर गएका भारतीय कामदार कोरोना भाइरसको संक्रमणको डरले आइनपुग्दा अवरोध सिर्जना भएको बताइन्छ । रंगशालाको क्षमता वृद्धि गर्ने तयारी भएपछि फ्रान्समा प्यारापिटका सामग्री निर्माणको लागि ‘अर्डर’ भइसकेको निर्माण कम्पनीले जनाएको छ । 

निर्माण कम्पनीले फ्रान्सबाट रंगशालाका निर्माण सामग्री ल्याउने गरेको छ । विसं २०३९ मा निर्माण गरिएको फुटबल रंशालाको विशिष्ट कक्ष विसं २०७२ को विनाशकारी भूकम्पबाट क्षति पुगेको थियो । सागको महिला फुटबल पोखरामा सञ्चालन गर्ने तय भएसँगै आधुनिक र अन्तर्राष्ट्रिय मापदण्डको फुटबल रंगशाला निर्माण शुरुआत गरिएको हो ।