प्रधानमन्त्री कपः सेमिफाइनल समिकरण पूरा

काठमाडौं । प्रधानमन्त्री कप एकदिवसीय क्रिकेट प्रतियोगिताको सेमिफाइनल समिकरण पूरा भएको छ । सोमबार प्रदेश ३ ले सुदूरपश्चिम प्रदेशलाई पराजित गरेसँगै दोस्रो चरणमा पुग्ने चार टोलीको टुंगो लागेको हो । समूह ‘ए’ बाट प्रदेश ३ समूह विजेता र एपिएफ समूह उपविजेता तथा समूह ‘बी’बाट नेपाल पुलिस क्लब समूह विजेता र त्रिभुवन आर्मी क्लब समूह उपविजेताका रूपमा सेमिफाइनलमा प्रवेश गरेका हुन् ।

बुधबार हुने सेमिफाइनलको पहिलो खेलमा प्रदेश ३ र त्रिभुवन आर्मी क्लब तथा बिहीबार हुने दोस्रो सेमिफाइनलमा नेपाल पुलिस क्लब र एपिएफ क्लब भिड्नेछन् । दुवै खेल त्रिवि मैदानमा हुनेछ । दुवै सेमिफाइनलको विजेता टोली शनिबार त्रिवि मैदानमा उपाधिका लागि भिड्नेछन् ।

सुदूरपश्चिम प्रदेशलाई ६ विकेटले पराजित गर्दै पारस खड्काको टोली प्रदेश ३ सेमिफाइनलमा पुग्ने अन्तिम टोली बन्यो । मूलपानी मैदानमा सोमबार सुदूरपश्चिमले दिएको १ सय ५५ रनको लक्ष्य प्रदेश ३ ले ३३.२ ओभरमा ४ विकेट गुमाएर भेट्टाएको थियो ।

युवा ब्याट्सम्यान इशान पाण्डेले ५३ रनको पारी खेल्दै प्रदेश ३ लाई सेमिफाइनलमा पुर्याएका थिए । ८४ बल खेल्दै उनले ६ चौका प्रहार गरे । यस्तै, आदिल खानले ३३ तथा पारस खड्काले १२ रन जोडे । सुदूरपश्चिम प्रदेशका महेश अधिकारी, विनोद लामा, शेर मल्ल र विकाश आग्रीले समान १–१ विकेट लिए ।

त्यसअघि, टस जितेर ब्याटिङ रोजेको सुदूरपश्चिमले ४५.१ ओभरमा सबै विकेट गुमाएर १ सय ५४ रन मात्रै जोड्न सक्यो । उसका खड्क बोहराले ४०, रोशन अधिकारीले २७, नरेश बोहराले २६ तथा शेर मल्लले १४ बाहेक अन्यले दोहोरो अंक जोड्न सकेनन् । प्रदेश ३ का सूर्या तामाङले ३ तथा प्रतिश जिसी र जितेन्द्रसिंह ठकुरीले समान २–२ विकेट लिए । यस्तै, नन्दनकुमार यादव र पारस खड्काले १–१ विकेट लिए ।

जितपछि ४ खेलमा ६ अंकसहित पारसको टोली समूह विजेता बन्दै सेमिफाइनलमा प्रवेश गरेको हो । त्यति नै अंक भएपछि रनरेटमा पछि परेको एपिएफ उपविजेता बन्यो । सुदूरपश्चिम प्रदेशले १ अंकसहित चौथो स्थानमा छ । सुदूरपश्चिमले अन्तिम खेल मंगलबार गण्डकीविरुद्ध खेल्नेछ ।

अनिलको शतक छायामा

प्रधानमन्त्री कपमा सोमबार नै भएको अर्को खेलमा अनिल गुरुङले शतक प्रहार गरे पनि गण्डकी प्रदेश पराजित हुँदा उनको शतक छायामा परेको छ । गण्डकीलाई प्रदेश ५ ले अन्तिम बल बाँकी रहँदा ३ विकेटले पराजित गरेको हो । त्रिवि क्रिकेट मैदानमा अनिलको शतकसँगै टस जितेर ब्याटिङ गरेको गण्डकीले ४९.२ ओभरमा सबै विकेट गुमाएर २ सय ३४ रन बनाएको थियो । जवाफमा प्रदेश ५ का सौरभ खनालले ९० र प्रनित थापामगरले ४५ रनको पारी खेल्दै टोलीलाई जित दिलाए । त्यसबाहेक टोलीमा निश्चल चौधरीले ३३ र सन्दीप सुनारले १७ रनको योगदान दिए ।

गण्डकीका ओपनर अनिल गुरुङले १ सय १५ रनको पारी खेल्ने क्रममा १ सय ५२ बल खेल्दै ५ चौका र १ छक्का प्रहार गरे । यो जारी संस्करणको तेस्रो शतक हो । यसअघि, प्रदेश ३ का ज्ञानेन्द्र मल्ल र नेपाल पुलिस क्लबका अमित श्रेष्ठले शतक प्रहार गरिसकेको छन् ।

अनिलसँगै गण्डकीका गोविन्द प्रधानले २६, दीपेश श्रेष्ठले २८, मेखबहादुर सेनले २३ तथा किशोर महतोले २० रन जोडे । प्रदेश ५ का अनिल खरेलले ५ तथा कृष्ण कार्की र विक्रम भुसालले २–२ विकेट लिए । प्रतियोगिताको अन्तिम खेल गण्डकीले मंगलबार सुदूरपश्चिमसँग खेल्नेछ ।

राष्ट्रिय खेलकुद परिषद्को आयोजना तथा नेपालयको व्यवस्थापनमा जारी प्रतियोगिताको विजेताले २० लाख तथो उपविजेता टोलीले १० लाख हात पार्नेछ । यसैगरी, उत्कृष्ट खेलाडीले एक थान मोटरसाइकल र उत्कृष्ट ब्याट्सम्यान तथा बलरले समान ५०–५० हजार पुरस्कार पाउने आयोजकले जनाएको छ ।