प्रश्नोत्तर नभएकोमा विपक्षको आपत्ति

1151

काठमाडौं । मुख्य विपक्षी दल नेपाली कांग्रेसले प्रधानमन्त्री केपी शर्मा ओलीले संसदमा गरेको सम्बोधनपछि प्रश्नोत्तरको कार्यक्रम नराखिएकोभन्दै आपत्ति जनाएको छ । आइतबार संसद्मा प्रधानमन्त्री ओलीले सम्बोधन गरेका थिए ।

संसद सञ्चालन नियमावलीअनुसार प्रश्नोत्तरको समय उपलब्ध नगराइएको भन्दै कांग्रेस सांसद डा. मीनेन्द्र रिजालले सभामुख महराप्रति कटाक्ष गरे । ‘प्रधानमन्त्रीको सम्बोधनको क्रममा प्रधानमन्त्रीलाई तन्दुरुस्त र स्वस्थ देखेर म यति खुशी भएँ कि प्रश्न सोध्नै बिर्सेछु । अरू साथीहरूलाई पनि त्यही परेछ,’ व्यंग्यात्मक शैलीमा सभामुख महराको ध्यानाकर्षण गराउँदै उनले भने, ‘सभामुखले नियमावली अनुसार प्रश्नोत्तरको समय त पक्कै दिनुभएको थियो । सभामुखज्यूले नियमावली मिच्नुहुन्न, मलाई विश्वास छ । म भिडियो रेकर्ड पनि चेक गर्दिनँ ।’

रिजालले प्रधानमन्त्रीको अभिव्यत्तिमा पनि आपत्ति प्रकट गरे । ‘लोकतन्त्रका लागि लडेको सरकार’ भनेकोमा उनको आपत्ति थियो । उनले एकपटक लोकतन्त्रका लागि लड्दैमा जीवनभर जे गर्न पनि ‘लाइसेन्स’ नपाइने बताए । ‘प्रधानमन्त्रीज्यूले लोकतन्त्रका लागि लडेको सरकार हो भन्नुभयो, प्रधानमन्त्रीको वाम आन्दोलन, त्यसपछिको लोकतान्त्रिक आन्दोलनमा गरेको योगदानको सम्मान गर्छु,’ उनले भने, ‘तर भिन्नता हेक्का रहोस् प्रधानमन्त्रीज्यू, सरकार लडेको होइन, लडेका मान्छेहरूले बनाएको सरकार होला ।’ 

सम्बोधनका क्रममा प्रधानमन्त्री ओलीले आफूहरू लोकतन्त्रका लागि लडेर आएको भन्दै लोकतन्त्रप्रतिको प्रतिबद्धतामा प्रश्न नउठाउन आग्रह गरेका थिए । प्रधानमन्त्रीले सम्बोधनमा अर्को चुनाव नभएसम्म सरकार नफेरिने भन्दै सडकमा सरकार उल्टाउने सपन नदेख्न गरेको आग्रहप्रति टिप्पणी गर्दै रिजालले अर्को चुनावपछि कांग्रेसको सरकार बन्ने दाबी गरे । 

‘प्रधानमन्त्रीले भन्नुभयो अर्को चुनाव नभएसम्म यही सरकार रहन्छ । ठीक हो प्रधानमन्त्रीज्यू । यस्तो काम देखेपछि त अर्कोपल्ट कांग्रेसबाहेक अरू कसको सरकार बन्छ ?, उनले भने ।

सांसद रिजालले सरकार सञ्चालनको परीक्षामा प्रधानमन्त्री ओली असफल भएको आरोप लगाए । सरकारले संसदसँग गरेको कार्यसम्पादन करार पूरा गर्न नसकेको उनको भनाइ थियो । 

बजेट कार्यान्वयन सरकारले संसदसँग गरेको कार्यसम्पादन भएको र त्यो पूरा हुन नसकेकाले प्रधानमन्त्री शासन सञ्चालनको परीक्षामा असफल भएको रिजालले तर्क गरे । एक वर्षमै पानीजहाज र रेलको सपना देखाउने सरकार तिथिमिति तोकेर सत्तापक्षले निम्ता गरेको स्मरण गराउँदै उनले अहिले भने आधार वर्ष भनेर आर्थिक वृद्धिको बारेमा हल्का टिप्पणी नगर्न प्रधानमन्त्रीलाई सचेत गराए । 

‘प्रधानमन्त्रीज्यू, तपाईंले मन्त्रीसँग गरेको कार्यसम्पादन करारका बारेमा त औला उठाउनुहोला, मन्त्री फेर्नुहोला । तर जनताले प्रधानमन्त्रीसँग गरेको कार्यसम्पादन करार खै ? हिजो जनताले निर्वाचनमा गरेको कार्यसम्पादन करार पूरा भएन प्रधानमन्त्रीज्यू,’ रिजालले भने, ‘त्यतिमात्रै होइन, संसदले गरेको थियो कार्यसम्पादन करार अघिल्लो वर्ष । बजेट कार्यसम्पादन करार हो संसद र सरकारको, पूरा गर्न सक्नुभएन प्रधानमन्त्रीज्यू । यो परीक्षामा असफल भइसक्नुभयो । आउने दिन सफलता प्राप्त होस् शुभकामना व्यक्त गर्छु ।’