प्लास्टिक भाँडामा दूध बोक्न नपाइने

1964

काठमाडौं । खाद्य, प्रविधि तथा गुण नियन्त्रण विभागले प्लाष्टिकको भाडामा दूध बोक्न रोक लगाउने निर्णय गरेको छ । स्टिल, आल्मुनियम तथा अन्य धातुको भाँडामा राखिएको प्लास्टिकको भाँडामा राखिएको दूध छिटो दूषित हुने भएकाले यस्तो रोक लगाउन लागेको विभागको भनाइ छ । 

प्लास्टिकका भाँडाभित्र राखिएको दूधमा कीटाणु संक्रमण हुने सम्भावना बढी हुनुकोसाथै दूध छिटो फाट्नेजस्ता समस्या देखिएकाले प्लास्टिकका भाँडामा दूध बोक्न रोक लगाउने निर्णय गरेको खाद्य अनुसन्धानका अधिकृत शिवप्रसाद भण्डारीले बताए । उनका अनुसार विभिन्न दुग्ध चिस्यान केन्द्र तथा दूध संकलन केन्द्रमा अनुगमन गर्दा धेरै किसानले प्लास्टिकको भाँडामा दूध बोकिरहेको पाइएपछि विभागको धुलिखेल डिभिजन कार्यालयले यस्तो निर्णय गरेको हो । काभ्रे धेरै दूध उत्पादन हुने जिल्लामा पर्दछ । 

दूध तथा दुग्ध पदार्थ उत्पादन मापदण्ड निर्देशिका–२०७५ प्लास्टिकको भाँडामा दूध बोक्न नपाउने प्रावधन छ । यसको कार्यान्वयन नभएको विभागको भनाइ छ । अब काइको साथ कार्यान्वयन गर्ने प्रतिबद्धता विभागको छ । 

भण्डारीका अनुसार केही व्यवसायीले स्टिल तथा आल्मुनियमका भाँडा बनाउन अनुदान मागेका छन् । यस विषयमा विभागमा छलफल चलिरहेको छ । डिभिजन कार्यालयले काभ्रेका पनौती नगरपालिकाको कुशादेवी, पाँचखाल र मण्डन देउपुरमा रहेका दुग्ध चिस्यान केन्द्र र संकलन केन्द्रको अनुगमन गरेको थियो । त्यस क्रममा संकलिन नमुना बबरमहलस्थित खाद्य, प्रविधि तथा गुण नियन्त्रण कार्यालयको प्रयोगशालामा पठाइएको छ । दूधमा मानिसले खाने सोडा तथा साबुन बनाउन प्रयोग हुने काष्टिङ सोडा मिसाउने गरको जनगुनासो आएको भण्डारीले बताए । 

अनुगमनका क्रममा दूधमा रासायनिक वस्तु नमिसाउन तथा प्लाष्टिकका भाडामा दूध नबोक्न तथा भण्डारण नगर्न सचेत गराइएको छ । दूध तथा दुग्ध पदार्थ उत्पादन मापदण्ड निर्देशिका–२०७५ अनुसार प्लाष्टिकका भाडामा दूध बोक्न तथा भण्डारण गर्न नपाइने र बासी दूध पनि बिक्री गर्न नपाइने व्यवस्था छ ।