फेसबुक दुरुपयोग बढ्दो

काठमाडौं । उनी काठमाडौंमा बसेर कोरियाली भाषा परीक्षा तयारीमा थिइन् । परीक्षा नजिकिँदै थियो । केही समयका लागि सामाजिक सञ्जालबाट टाढै थिइन् उनी । उनलाई एकजना आफन्तको फोन आयो । फेसबुक म्यासेन्जरबाट जे पायो त्यही किन पठाएको भनेर ती आफन्तले गाली गरे । त्यो सुनेर उनी छक्क परिन् । आफूले केही दिनदेखि फेसबुक नचलाएको बताइन् ।

लगत्तै आफ्नो फेसबुक खोल्न खोजिन् तर पासवर्ड मिलेन भन्ने जानकारी आयो । उनलाई आफन्त, चिनजानका मान्छेबाट फोन आइरहृयो । सबैको एउटै प्रश्न थियो, ‘म्यासेन्जरमा जे पायो त्यही म्यासेज, तस्वीर किन पठाएको ?’ फेसबुक म्यासेन्जरबाट अश्लील तस्वीर र म्यासेज गएका थिए । उनलाई तनाव भयो ।

समस्या लिएर उनी महानगरीय अपराध महाशाखा टेकुमा पुगिन् । दाङका रामकृष्ण चौधरीले उनको फेसबुक हृयाक गरेको प्रहरी अनुसन्धानबाट खुल्यो । प्रहरीलाई दोषी पत्ता लगाएर पक्राउ गर्न एक साता लाग्यो । ‘एक हप्तासम्म त मैले न राम्रोसँग खाना खाएँ न सुतेँ’, पीडित महिलाले भनिन्, ‘यति तनाव झेल्नुप¥यो कि भनेर साध्यै छैन ।’

चौधरीविरुद्ध प्रहरीले साइबर अपराधअन्तर्गत मुद्दा चलाएको छ । ती युवती कोरिया जाने दिन नजिकिँदै छ । चौधरीलाई काठमाडौं जिल्ला अदालतले ५० हजार धरौटीमा रिहा गरेको छ । कोरिया जानुपूर्व मुद्दा फैसला हुँदैन कि भन्ने चिन्ता छ उनलाई ।

काठमाडौंकी एक युवती र गोरखाका दिनेश रानामगर फेसबुकमा साथी बने । उनीहरूबीच अन्तरंग कुरा हुन थाल्यो । दिनेशले बिहेको प्रस्ताव राखे । युवतीले स्वीकार गरिन् । भेट भयो र शारीरिक सम्पर्क पनि भयो । दिनेशले त्यसको भिडियो खिचेछन् । विवाहको प्रलोभन देखाएर दिनेशले भिडियो दुरुपयोग गर्न थाले । युवती न्याय खोज्दै प्रहरीको शरणमा पुगिन् । प्रहरीले दिनेशलाई पक्राउ गरेर साइबर अपराधअन्तर्गत मुद्दा चलाएको छ । 

यी दुई पछिल्ला उदाहरण हुन् । प्रहरीका अनुसार सामाजिक सञ्जालबाट साइबर अपराध बढेको छ यद्यपि, अधिकांश उजुरी मेलमिलापमै टुंगिने गरेका छन् ।

महानगरीय प्रहरी अपराध महाशाखाको तथ्यांकअनुसार पछिल्लो चार वर्षमा साइबर अपराधका करिब ६ हजार उजुरी दर्ता भएका छन् । मुद्दा भने थोरैमा मात्र चल्ने गरेको छ । जिल्ला अदालत काठमाडौंको तथ्यांकअनुसार साइबर अपराधमा वार्षिक ५०–६० वटा मात्र मुद्दा चलेका छन् । साइबर अपराधमा ९० प्रतिशतभन्दा बढी घटना फेसबुकबाट भएको प्रहरीको तथ्यांकले देखाउँछ । साइबर अपराधबाट पीडित हुनेमा अधिकांश महिला छन् । पुरुष पीडितको संख्या थोरै छ ।

महानगरीय प्रहरी अपराध महाशाखाका प्रहरी निरीक्षक लीलाराज डाँगीका अनुसार फेसबुक आइडी हृयाक गरेर अश्लील फोटो, भिडियो आफन्तलाई पठाउने, गोप्य म्यासेज सार्वजनिक गर्ने घटनाबाट महिला बढी पीडित छन् । डाँगीले भने, ‘कतिपय महिला त मानसिक यातना सहन नसकी आत्महत्या गर्ने सोचसम्म पुगेका भेटिए ।’

पुरुष भने भाइबर, इमो, हृवाट्स एप जस्ता सामाजिक सञ्जालका माध्यमबाट बढी ठगिने गरेका छन् । चिठ्ठा परेको प्रलोभन देखाएर बाहिरी मुलुकबाट पैसा माग्नेबाट थुपै्र मानिस ठगिने गरेका छन् । पीडक र पीडित दुवै १८ देखि ३० उमेर समूहका बढी छन् । 

महानगरीय प्रहरी अपराध महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक सहकुल थापा भन्छन्, ‘हातहातमा मोबाइल फोन र इन्टरनेटको पहुँच पुग्यो तर त्यसको दुरुपयोगले आइपर्ने जोखिमबारे ज्ञान नहुँदा अपराध बढेको छ ।’ नम्बर नदेखिएको फोन, चिठ्ठा परेको खबर, पासर्वड फेर्न आएको म्यासेज आदिबाट सजग हुनुपर्ने सुझाव थापाको छ ।

सूचना प्रविधिसम्बन्धी अपराधको अनुसन्धान झन्झटिलो हुन्छ । सामाजिक सञ्जालसँग सरकारको सम्झौता नहुँदा अपराध अनुसन्धानमा केही अप्ठ्यारो भएको प्रहरीको भनाइ छ । साइबर अपराधका मुद्दा काठमाडौं जिल्ला अदालतमा मात्र चल्ने भएकाले फैसलामा पनि ढिलो हुने गरेको छ । काठमाडौं जिल्ला अदालतका श्रेस्तेदार आनन्दप्रसाद श्रेष्ठ अदालतमा मुद्दाको बढ्दो चापले न्याय निरूपणमा ढिलाइ भइरहेको बताउँछन् ।