बाँके घटनाका दोषीलाई कारबाही गर्ने प्रतिबद्धता, संसद् अवरोध अन्त्य

काठमाडौं । सरकारले प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसको राष्ट्रिय जागरण अभियानका क्रममा बाँकेमा आयोजित सभामा भएको आक्रमणका दोषीलाई कारबाही गर्ने प्रतिबद्धता जनाएसँगै प्रतिनिधिसभा बैठकको अवरोध हटेको छ । प्रतिनिधिसभाको बुधबारको बैठकमा कानुनमन्त्री भानुभक्त ढकालले दोषीलाई कानुनी दायरामा ल्याएर कारबाही गर्ने प्रतिबद्धता जनाएसँगै प्रमुख प्रतिपक्षी कांग्रेसले आइतबारदेखि गर्दै आएको अवरोध अन्त्य गरेको हो । 

‘घटनामा संलग्न व्यक्तिलाई कानुनी दायरामा ल्याउने कुरामा म सभामुखमार्फत सांसदहरूलाई आग्रह गर्दछु,’ प्रतिनिधिसभा बैठकमा मन्त्री ढकालले भने, ‘कानुनको दायरामा ल्याएर कारबाही गर्न सरकार प्रतिबद्ध छ ।’ उनले घटनामा संलग्नलाई कारबाहीका लागि दिएको निवेदन प्रहरीले दर्ता गरिसकेको जानकारी दिँदै गल्ती गर्ने कोही पनि उम्किन नपाउने बताए ।

मन्त्री ढकालले विपक्ष र सत्तापक्ष दुवैलाई आश्वस्त तुल्याउने गरी दोषी उम्किन नपाउने र निर्दोष नफस्ने बताएका थिए । सत्तापक्षका एक सांसदले कांग्रेसले झुठो बोलेको र हात नभाँचिएको जिकिर गर्दै आन्दोलन गर्ने चेतावनी दिए पछि प्रतिनिधिसभामा अवरोध लम्बिएको थियो । 

बाँके घटनामा संलग्नलाई कारबाही गर्ने विषयमा प्रधानमन्त्री केपी ओलीले कांग्रेसका शीर्ष नेताहरूसँगको बैठकमा र गृहमन्त्री रामबहादुर थापाले संसद्बाटै स्पष्ट पारिसकेको कानुन मन्त्री ढकालको भनाइ थियो । सभामुख कृष्णबहादुर महराले बुधबार संसद बैठक प्रारम्भ भएको घोषणा गर्नासाथ कांग्रेसका सांसदहरू आसनबाट उठेका थिए । त्यसपछि सभामुख महराले कोही बोल्न चाहनुहुन्छ भनेर सोधेपछि कांग्रेस सांसद् दिलेन्द्रप्रसाद बडूले हात उठाएका थिए ।

सभामुखले समय दिएपछि सांसद बडूले बाँके आक्रमणका दोषीलाई कारबाही गर्न सरकारको ध्यानाकर्षण गराएका थिए । घटनालाई ढाकछोप गर्न खोजिएको आरोप लगाउँदै उनले सरकारको स्पष्ट जवाफ नआएसम्म सदन चल्न नदिने अडान दोहो¥याएका थिए । त्यसपछि कांग्रेस सांसदहरू उठेर विरोध जनाए । लगत्तै सभामुख महराले सरकारको तर्फबाट कानुनमन्त्री ढकालले बोल्न समय माग गरेको जानकारी गराएपछि कांग्रेस सांसदहरू बसेका थिए ।

कांग्रेसको दोस्रो चरणको राष्ट्रिय जागरण अभियानअन्तर्गत बाँकेको खजुरा गाउँपालिका २, सीतापुरमा आयोजित कार्यक्रममा सत्तारुढ नेपाल कम्यनिस्ट पार्टी (नेकपा) कार्यकर्ताहरूले आक्रमण गरेका थिए । आक्रमणमा परी बाँके सभापति किरण कोइरालाको हात भाँच्चिएको छ । उक्त आक्रमण वडा १ का अध्यक्ष सुमन मल्लको निर्देशनमा भएको दाबी गर्दै कांग्रेसले उनीविरुद्ध ज्यान मार्ने उद्योगअन्तरगत जाहेरी दर्ता गर्न खोजेको थियो । प्रहरीले जाहेरी दर्ता गर्न मानेको थिएन ।

सोही विषयको विरोधमा कांग्रेसले आइतबार संसद अवरुद्ध गरेपछि प्रहरीले सोही दिन जाहेरी दर्ता गरेको थियो । सोमबार बसेको प्रतिनिधिसभा बैठक अघि बढाउन कांग्रेस सहमत भएको थियो । नेकपा सांसद नन्दलाल रोकायाले घटनाबारे कांग्रेसले झुठो बोलेको र घटनामा आक्रमण नभएको भन्दै किटानी जाहेरी परेका वडा अध्यक्ष मल्लमाथि कारवाही सैहृय नहुने चेतावनी दिएपछि भने कांग्रेसले अवरोध जारी राखेको थियो । सांसद रोकायाले कांग्रेसले आन्दोलन गरे नेकपाले पनि गर्ने चेतावनी दिएपछि कांग्रेस सांसदहरूले नाराबाजी गर्दै बैठक अवरुद्ध गरेका थिए ।