बिरामीमाथि कमिसनको खेल : स्वास्थ्यमन्त्री

144

काठमाडौं । स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकालले सरकारी अस्पतालमा भर्ना भएका बिरामीलाई अस्पतालकै कर्मचारीहरूको मिलेमतोमा निजी अस्पतालमा पठाउने गरेको बताएका छन् । 

मंगलबार कान्ति बाल अस्पतालबाट वार्षिकोत्सव कार्यक्रममा बोल्दै मन्त्री ढकालले बिरामीलाई निजी अस्पतालमा पठाउन अस्पतालका जिम्मेवार कर्मचारी, एम्बुलेन्स र ट्याक्सी चालकहरूसम्मको मिलेमतो हुने सूचना आफूले पाएको बताए । 

‘अस्पताल आस्थाको केन्द्र हो । अस्पताल नै बिरामी भयो भने बिरामीहरूको हालत स्वाभाविक रूपमा निको हुँदैन’, उनले भने, ‘धेरै अस्पतालमा भर्ना भएका बिरामीहरूलाई निजीमा पठाउने गरेको भन्ने सुनेको छु । अस्पतालका जिम्मेवार कर्मचारी, एम्बुलेन्स र ट्याक्सी ड्राइभरसम्मको मिलेमतो हुन्छ । सरकारीबाट अर्को ठाउँमा पु¥याएबापत ककमिसन प्राप्त हुन्छ ।’

कमिसनको लोभमा बिरामीको जीवनमाथि खेलवाड गर्ने परिपाटीले अस्पताललाई नै ग्रसित गर्न थालेको मन्त्री ढकालको भनाइ छ । उनले चिकित्सकहरूको आचरण र व्यवहार राम्रो भए सरकारी अस्पताल सुधार हुन धेरै समय नलाग्ने बताए । 

मन्त्री ढकालले निजी क्लिनिकहरूको घेराबन्दीमा अस्पताल परेको बताए । उनले कर्मचारी सरुवा गर्दा पैसा बुझाउने परिपाटीको निर्ममतापूर्वक अन्त्य गर्ने र औषधि खरिद र अस्पतालका औजार खरिद बिक्रीमा हुने मोटो कमिसनको खेल अन्त्य गर्ने प्रतिबद्धतासमेत जनाए ।  

आफ्नो डेढ महिने कार्यकालमा मेडिकल काउन्सिललाई पूर्णता दिएको, नर्सिङ काउन्सिलमा एक सदस्यबाहेक सबै पूर्णता दिएको मन्त्री ढकालले बताए । अब आफ्नो प्राथमिकता संरचनागत दरबन्दी समायोजनको काम पूरा गर्नु रहेको उनको भनाइ छ । 

‘एक वर्षमा २ लाखको उपचार’

कान्ति बाल अस्पतालले एक वर्षको अवधिमा २ लाखभन्दा बढी बालबालिकाको उपचार गरेको छ । गत आर्थिक वर्षमा ओपिडीतर्फ १ लाख ५५ हजार र आकस्मिकतर्फ ५५ हजार बालबालिकालाई सेवा दिइएको कान्ति बाल अस्पतालले जनाएको छ । गत वर्ष १० हजारले अन्तरंग सेवा लिएको र २ हजार बालबालिकाको शल्यक्रिया गरिएको अस्पतालका निर्देशक डा. आरपी बिच्छाले बताए । 

चालु आर्थिक वर्षमा अहिलेम्म ७५ हजार बढी बालबालिको ओपिडीमार्फत र २७ हजार बालबालिलाई आकस्मिक सेवा प्रदान गरिएको उनले बताए । हरेक वर्ष कान्ति बाल अस्पतालमा करिब १२ प्रतिशत सेवाग्राही बढेको उनको भनाइ छ । 

अस्पतालमा सघन उपचार कक्ष (आइसियु) अभावले देशका विभिन्न ठाउँबाट आउने बिरामीलाई अन्य अस्पतालमा पठाउनुपर्ने अवस्था रहेको उनको डा. विच्छाले बताए । दुई महिनाअघि १० शय्याको इन्टरमिडियट केयर युनिट स्थापना गरिएपछि करिब ७० प्रतिशत बालकालिकालाई निजी अस्पतालमा रिफर गर्नुपर्ने बाध्यता हटेको उनको भनाइ छ ।

कुरुवाहरू अहिले भुइँमा सुत्नुपर्ने बाध्यता छ । ५० जना कुरुवा बस्न मिल्ने गरी भवन निर्माण भइरहेको डा. विच्छाले बताए ।