बीबीसी चन्द्रागिरि गोल्डकपको सेमिफाइनलमा

150

काठमाडौं । विभागीय ‘ए’ डिभिजन प्रतिद्वन्द्वी त्रिभुवन आर्मी क्लबलाई पराजित गर्दै ब्रिगेड ब्वाइज क्लब (बीबीसी) राजधानीमा जारी तेस्रो संस्करणको चन्द्रागिरि मेयर गोल्डकप ‘ए’ डिभिजन फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । बीबीसीले आर्मीलाई १–० ले पराजित गर्दै प्रतियोगिताको अन्तिम चारमा पुग्न सफल भएको हो । 

चन्द्रागिरि नगरपालिकास्थित नैकाप फुटबल मैदानमा बिहीबार भएको प्रतिस्पर्धात्मक खेलमा बीबीसीले खेलको ३०औं मिनेटमा विदेशी खेलाडी उदे ग्लोरीको गोलबाट खेलमा अग्रता बनाएको थियो । त्यही गोल नै बीबीसीको जितमा निर्णायक बन्यो । 

पहिलो हाफमा बीबीसीले आर्मीलाई दबाबमा राखेको थियो । १५औं मिनेटमा ग्लोरीले नै पहिलो पोष्ट आक्रमण बुनेको थियो । १९औं मिनेटमा कप्तान जय गुरुङको प्रहार पोष्टबाट थोरै बाहिरिएको थियो । ३०औं मिनेटमा विदेशी खेलाडी ग्लोरीले कर्नर क्षेत्रबाट ३ डिफेन्डरलाई बिट गर्दै पहिलो बारमा गोल गर्दा आर्मीका गोलरक्षक विश्वास चौधरीले रोक्ने कुनै मौका नै पाएन । एक गोलले पछि परेपछि आर्मीले सुधारिएको खेल पस्के पनि गोल गर्न नसक्दा पहिलो खेलबाटै घर फर्किन बाध्य बन्यो । आर्मीले दोस्रो हाफमा लगातार पोष्ट आक्रमण बुने पनि गोलरक्षक विशाल सुनुवार बाधक बन्यो । 

५३औं मिनेटमा दिनेश हेन्जनको प्रहार दोस्रो बारबाट थोरै बाहिरिँदा आर्मीले बराबरीको सुन्दर मौका खेर फाल्यो । ६०औं मिनेटमा दिनेशकै प्रहार गोलरक्षक विशालले बचाइदिए । ६९औं मिनेटमा सुदिल राईले बक्स भित्र पाएको सुन्दर मौकालाई सदुपयोग गर्न नसक्दा आर्मी बराबरीबाट चुक्यो ।

इन्ज्युरी समयको थप गरिएको तेस्रो मिनेटमा आर्मीले बराबरी गर्ने अर्काे सुन्दर मौकालाई बीबीसीका डिफेन्डर रन्दीप पौडेलले क्लियर गर्दै बराबरी टारे । दिनेश हेन्जनको हेडर रन्दीपले गोललाइनबाटै हेड गर्दै क्लियर गरिदिएका थिए । खेलमा निर्णायक गोल गरेका बीबीसीका विदेशी खेलडी उदे ग्लोरी नै खेलको म्यान अफ दि म्याच घोषित भए । उनलाई ५ हजार रुपैयाँ र म्यान अफ दि म्याचको अवार्ड चन्द्रागिरि नगरपालिका वडा नम्वर १४ का वडा अध्यक्ष रामहरि बस्नेत र आयोजक दिपशशिखा युवा समूहका अध्यक्ष रवि बुढाथाकीले प्रदान गरे । अब बीबीसीले सेमिफाइनलमा पुलिस र च्यासल युथ क्लबीचको विजेतासँग मंसिर १० मा खेल्नेछ । पुलिस र च्यासलबीच ७ मंसिरमा क्वार्टरफाइनल खेल हुनेछ । 

प्रतियोगितामा शुक्राबार दोस्रो क्वार्टरफाइनलमा फ्रेन्डस र रुस्लान थ्री स्टार क्लबबीच खेल हुनेछ । खेल दिउँसो २ः३० बजेपछि हुनेछ । तेस्रो संस्करणको प्रतियोगितामा ‘ए’ डिभिजनका १० टोली र आयोजकको दुई गरी १२ टोलीको सहभागिता छ । १४ मंसिरमा फाइनल खेल हुनेछ । विजेताले ६ लाख ५० हजार रुपैयाँ पाउनेछ । दोस्रो हुनेले ३ लाख ५० हजार रुपैयाँ हात पार्नेछ । सर्वाेत्कृष्ट खेलाडी र सर्वाधिक गोलकर्ताले समान ३० हजार रुपैयाँ प्रदान गरिनेछ । पहिलो संस्करणमा हिमालय शेर्पा क्लब तथा दोस्रो संस्करणमा भ्याली च्यासल युथ क्लब च्याम्पियन बनेको थियो ।