ब्रिटिस महारानी र राजकुमार हृयारीबीच वार्ता हुने

125

लण्डन  । ब्रिटिश महारानी र राजकुमार हृयारीले ड्युक एवं डचिस अफ ससिक्सको भावी भूमिकाबारे सोमवार छलफल गर्ने भएका छन् । दरबारका अधिकारीले बीबीसीलाई बताए अनुसार प्रिन्स अफ वेल्स र ड्युक अफ केम्ब्रिज पनि त्यो बैठकमा सहभागी हुने ठानिएको छ । 

गतहप्ता ड्युक र डचिस अफ ससिक्स राजकुमार हृयारी र मेगनले राजपरिवारको विशेष जिम्मेवारी त्यागेर आर्थिक रूपमा आत्मनिर्भर हुन काम गर्ने घोषणा गरेका थिए । तर सोमवारको छलफलमा के सहमति हुन्छ भन्ने विषय भने पेचिलो छ । बीबीसीका शाही संवाददाता जोनी डाइमण्डका अनुसार उक्त छलफलले केही दिनभित्रै समाधान खोज्ने महारानीको चाहना अनुरूप राजकुमार हृयारी र उनकी पत्नी मेगनको राजपरिवारसँगको नयाँ सम्बन्ध परिभाषित गर्ने विषयलाई ‘अर्को चरण’मा पु¥याउने आशा गरिएको छ ।

उनका अनुसार छलफलमा अझै ‘जटिल अवरोध’ पार गर्नुपर्ने अवस्था छ । राजपरिवारको विशेष जिम्मेवारी त्याग्ने ड्युक र डचिस अफ ससिक्सको घोषणापछि विभिन्न चरणमा भएका बैठक र परामर्शपछि सोमबार छलफल हुन लागेको हो । राजकुमार हृयारी र उनकी पत्नीको ब्रिटेनको राजपरिवारमा अब के भूमिका हुन्छ भन्ने विषयमा छलफल चलिरहँदा डचिस अफ ससिक्स मेगन मार्कल क्यानडा गएकी छन् । 

हृयारी र मेगन क्रिस्मसको बिदामा छोरा आर्चीलाई लिएर क्यानडा गएका थिए । त्यहाँबाट स्वदेश फर्किएपछि उनीहरूले अप्रत्याशित रूपमा एउटा विज्ञप्ति प्रकाशित गर्दै त्यस्तो घोषणा गरेका थिए । हृयारी र मेगनको घोषणाका कारण राजपरिवार ‘आहत’ भएको बताइएको छ । बकिंघम प्यालेसस्थित स्रोतहरूले बीबीसीका शाही संवाददाता जोनी डाइमण्डलाई बताए अनुसार उक्त विज्ञप्तिबारे राजकुमार हृयारी र मेगनले राजपरिवारका कुनै सदस्यसँग पनि परामर्श गरेका थिएनन् । 

उनीहरूले युके र उत्तर अमेरिका दुवैतिर समय व्यतीत गर्ने आफ्नो योजना भएको उल्लेख गरेका थिए । ‘हामी राजपरिवारका ‘वरिष्ठ’ सदस्यको भूमिका त्याग्न र आर्थिक रूपमा आत्मनिर्भर हुन काम गर्न चाहन्छौं । यद्यपि हामी महारानीलाई निरन्तर पूर्ण समर्थन गरिरहनेछौं,’ उक्त दम्पतीको विज्ञप्तिमा उल्लेख छ । 

महारानी, कमनवेल्थ र आफू संरक्षक भएका संस्थासँग सम्बन्धित कर्तव्य निर्वाह गर्दै युके र उत्तर अमेरिकामा समय व्यतीत गर्ने आफ्नो योजना भएको उनीहरूले बताएका छन् । ‘यो भौगोलिक सन्तुलनले हामीलाई हाम्रा छोरालाई शाही परम्पराको सम्मान गर्दै हुर्काउन समर्थ बनाउनेछ । त्यसो गर्दा हाम्रो परिवारलाई नयाँ परोपकारी संस्थाको आरम्भ गरी नयाँ अध्यायमा केन्द्रित हुन ठाउँ दिनेछ ।’