भक्तपुरका सडकमा सोलार बत्ती राख्न सुरु

173

काठमाडौं । अरनिको राजमार्ग खण्डको जडीबुटी मनोहरा पुलदेखि मध्यपुरथिमिको राधेराधेसम्म सोलार बत्ती राख्ने काम सुरु भएको छ । ‘उज्यालो, सफा र हराभरा भक्तपुर’ भन्ने नारालाई सार्थक बनाउने क्रममा पहिलो चरणमा मनोहरा पुलबाट सूर्यविनायकसम्म हरियाली अभियान सफल भएपछि सडक उज्यालो बनाउने काम सुरु भएको हो । भक्तपुर जिल्लभित्र पर्ने अरनिको राजमार्गलाई सधैँ उज्यालो र हरियाली बनाउन मनोहरादेखि राधेराधेसम्म ४२१ वटा सोलार बत्ती राखिँदै छ । मध्यपुरथिमि नगरपालिकाको सहयोगमा एएमपिएम कम्पनीले बुधबारदेखि सोलार बत्ती राख्न सुरु गरेको हो । बत्ती जडानको पहिलो चरणमा राधेराधेसम्म र दोस्रो चरणमा सूर्यविनायक नगरपालिका क्षेत्रमा सोलार बत्ती राखिने भएको छ । सडक दुर्घटना न्यूनीकरण गर्न ट्राफिक आइलाइन र डिरेक्सन बोर्डसमेत राखिने बताइएको छ । एउटा सोलार बत्तीको करिब एक लाख रुपैयाँ पर्ने बताइएको छ । 

सडकमा सोलार बत्ती जडान भएकै दिन सांसद महेश बस्नेत र मध्यपुरथिमि नगरपालिकाका प्रमुख मदनसुन्दर श्रेष्ठको टोलीले गनुगमन तथा निरीक्षणसमेत गरेका छन् । सांसद बस्नेतले काठमाडौं उज्यालो सहरको रूपमा रहेको तर भक्तपुर सधैँ अध्यारो सडकको रूपमा रहँदा रातको समयमा दुर्घटना बढेको बताए । उनले भने, ‘अरनिको राजमार्गलाई हरियाली र सौन्दर्य बनाउन वातावरण विभागको सहयोगमा बेल्जियमको दुबो लगाई हरियाली बनाउने कार्य भएको छ, अब अरनिको राजमार्गलाई सोलार बत्तीबाट उज्यालो बनाई उज्यालो भक्तपुरको अभियान पनि पूरा गर्दैछौँ ।’ कार्यक्रममा मध्यपुरथिमिका नगर प्रमुख श्रेष्ठले सोलार बत्ती र हरियाली बनाउने कार्य राम्रो भएको र यसको संरक्षण गर्नु महŒवपूर्ण कार्य भएको बताए ।