भारतको प्रदूषण निकै हानिकारक

125

नयाँ दिल्ली । केही हप्तादेखि भारतको उत्तरी भेग चरम प्रदूषणको मारमा छ । दिल्लीको प्रदूषणले पुनः एकपटक एसियाली शहरहरूको हावाको गुणस्तरको चर्चा हुन थालेको छ । पछिल्ला केही दशकदेखि चीनको राजधानी बेइजिङ विषाक्त हावाका लागि चर्चित छ तर तथ्यांकले भने भारत, पाकिस्तान र बंगलादेशको हावाको गुणस्तर चीनको भन्दा नराम्रो रहेको देखाउँछ । आइक्यू नामक युरोपेली संस्थाले गरेको अनुसन्धानका अनुसार विश्वका सबैभन्दा प्रदूषित ३० शहरमध्ये २२ भारतमा पर्छन् । बाँकी आठ शहर पाकिस्तान, बंगलादेश र चीनमा पर्छन् तर त्यसमा बेइजिङ भने पर्दैन । प्रदूषणका हिसाबले बेइजिङ १२२औँ स्थानमा छ । राजधानीहरूकै कुरा गर्ने हो भने पनि सबैभन्दा प्रदूषित शहरहरूमा एसियाली मुलुकहरूका राजधानी पर्छन् । देशहरूमा सबैभन्दा अगाडि बंगलादेश छ । पाकिस्तान र भारतले त्यसपछिको स्थान ओगटेका छन् । यो सूची वार्षिक औसत वायु गुणस्तरमा आधारित छ । 

यी देशहरूमा प्रदूषण मापन गर्ने फरक आधार र सार्वजनिक गरिएको डेटाको पारदर्शितामा भिन्नता भएकाले उक्त तथ्यांकलाई संकेतका रूपमा बुझ्न जरुरी छ । शहरी क्षेत्रमा सवारीसाधन, धेरै इन्धन खपत गर्ने पावर प्लाण्ट र ठूला उद्योग प्रदूषणका प्रमुख कारण मानिन्छन् ।

भारतमा किसानहरूले अन्नबाली भित्र्याएपछि खेतका ठुटा र खोष्टामा आगो लगाउने गरेका छन् । त्यस्तो गतिविधि धेरैजसो शरद् ऋतुमा गरिन्छ । ‘भारतमा धेरै प्रदूषण हुनुको प्रमुख कारण किसानहरूले लगाएको आगो नै रहेको जस्तो देखिन्छ,’ लण्डन स्कुल अफ इकोनोमिक्सका सहायक प्राध्यापक टमस स्मिथ बताउँछन्, ‘यो कुरा चीनले सल्टाइसकेको छ । चीनमा खेतका ठुटा र खोष्टा जलाउन पूर्णरूपमा बन्द गरिएको छ ।’ प्रदूषण गम्भीररूपमा बढेपछि भारतको सर्वोच्च न्यायालयले दिल्ली र आसपासका अन्य दुई राज्यमा आगो लगाउन प्रतिबन्ध लगाएको छ । 

तर जाडो मौसमका कारण चिसिएको हावा र बाक्लो तुवाँलोले वायुमा रहेका हानिकारक कणलाई अड्काइ राखेको छ । प्रत्येक वर्ष नोभेम्बर र डिसेम्बर महिनामा दिल्लीको हावा विषाक्त बन्ने गरेको छ । प्रदूषणको स्तर वायुमा हुने हानिकारक कणको मापनमा आधारित हुन्छ । त्यसपछि नतिजा राम्रोदेखि खतरनाकको रूपमा वर्गीकृत गरिन्छ । ‘प्रदूषणको असर प्रत्येक मानिसलाई फरक ढंगले पर्ने गर्छ,’ युनिभर्सिटी अफ निउ साउथ वेल्सकी क्रिस्टिन कोवी बताउँछिन्, ‘यसको असर सबैभन्दा बढी वृद्ध मानिसहरूमा पर्छ । श्वासप्रश्वास र मुटुको समस्या रहेका युवाहरूलाई पनि प्रदूषणले असर पार्छ ।’ उनका अनुसार प्रदूषित क्षेत्रमा एकैछिन् बस्नाले समेत दम रोगको समस्या पर्न सक्छ भने मस्तिष्कघातको जोखिम पनि बढाउँछ र यसबाट बच्ने उपायहरू भने सीमित छन् । प्रदूषणबाट बच्न सकेसम्म घरबाहिर ननिस्कनु, व्यायाम घटाउनु र मास्क लगाउनु हो । तर, आर्थिकरूपमा विपन्न राष्ट्रका नागरिकको हकमा भने यीमध्ये कुनै पनि विकल्पले धेरै काम गर्दैन ।

भारतको तुलनामा युरोप, अष्ट्रेलिया र अमेरिकाको प्रदूषणको स्तर निकै कम छ तर यी क्षेत्रको अवस्था पहिलेदेखि यस्तो थिएन । १९औँ र २०औँ शताब्दीमा लण्डनले प्रदूषणका कारण कुख्याति कमाएको थियो । सन् १९५२ सम्म पनि बाक्लो तुवाँलोले लण्डनलाई छोप्ने गथ्र्यो जसले गर्दा शहर नै लगभग ठप्प हुने गथ्र्यो । लण्डनको हावामा फरक किसिमका प्रदूषणको कण रहेपनि त्यहाँको अवस्था हाल भारतको राजधानी दिल्लीभन्दा फरक नभएको हुन सक्ने न्यासनल युनिभर्सिटी अफ सिंगापुरका प्राध्यापक डेभिड टेलर भन्छन् ।