मेरो बिहे

609

चियाको एकदम सौखिन थिएँ । त्यसैले कहिले त सात–आठ कपसमेत पिएको हुन्थेँ सहर हुदाँ पनि तर आज जति मीठो चियाँ कहिले कुनै होटेलकै लागेको थिएन मलाई शायद, आमाले बनाएर दिएकाले पनि होला जसमा अलिकति माया मिसिएको थियो । लगभग १० महिनापछि सहरबाट घर आएकी म खुसीको सीमा नै थिएन मभित्र । 

असारको महिना भएकाले होला बाहिर सिमसिम पानी परिरहेको थियो, म एकसुरले चिया पिइरहेकी थिएँ । पछाडिबाट आमाले एक्कासि भन्नुभयो, ‘सानु अब बिहे गर यही असारमा ।’ आमाको यो कुरा सुन्नै नपाई अघिसम्मको मीठो मुख तीतो भएको आभास हुन थाल्यो, मन भतभति पोलेको महसुुस भएर आयो, एक्कासि डर लाग्न थाल्यो कता कता । तर, आफूलाई समाल्दै भने जम्मा २१ वर्ष त भएँ आमा के बिहे गर्नु अझै पढ्न बाँकी नै छ । 

भो छोड्दे यस्ता कुरा निकै राम्रो केटो आएको छ, नायब सुब्बा रे अब यस्तो केटो पाइँदैन बिहे गर् । 

आमा अलि कडा स्वरमा उत्रिनु भयो । 

हेर, कुल घरानको छ, जागिर खान्छ, जात मिल्ने छ, तँलाई सुखले पाल्छ ।

अघिसम्मकी कडा आमा फेरि केही नरम भएर देखापर्नु भयो ।

आमाको बिहे गर् भन्ने आज्ञार्थक सल्लाहलाई प्रश्नमा परिणत गर्दै भनेँ, ‘केका लागि बिहे गर्ने ?’ मेरो प्रश्न सुन्नसाथ आमाले भन्नुभयो, ‘तिम्रो भलाइका लागि ।’ ‘मलाई बिहे गर्नु नै छैन अहिले जुन बिहे मन नलाग्दा नलाग्दै गरिन्छ त्यसले कसरी भलाइ गर्छ र मेरो ?’ मैले फेरि आमालाई प्रश्न राखेँ । 

जब आमालाई प्रश्नमाथि प्रश्न थप्दै गएँ अनि आमा केटाका बारेमा वृत्तान्त सुनाउन थाल्नुभयो । म केही नबोली आमाका कुरा चुपचाप सुनिरहेकी थिएँ । आमाका कुरा सकिएसँगै सोच्न थाले बिहे मैले गर्ने, मेरो जिन्दगी बनाउन र सुखी हुन गर्ने हो तर अरू कसैको सम्पत्ति र जागिर कस्तो छ भनेर हेरेर गर्नुपर्ने यो कस्तो नियम । 

आमा भान्सामा लाग्नु भयो म पनि पछिपछि आमासँगै भान्सातिरै गएँ । अनि पुनः मैले आमालाई प्रश्न राखेँ, ‘आमा ऊ नायब सुब्बा थिएन भने के म भन्दा १२ वर्ष जेठो केटालाई मेरो हात सुम्पिन इच्छा गर्नुहुन्थ्यो त ?’ आमा केही बोल्नुभएन चुपचाप मेरो मुख एकोहोरो हेरिरहनु भयो । 

अनि बिस्तारै सम्झाउँदै भनेँ, ‘आमा म आफूलाई पाल्नका लागि आफैँ सक्षम भइसकेकी छु । अब कसैको भरमा बाँच्नुपर्ने आवश्यकता छैन मलाई । यदि सम्पत्ति छ, जात–गोत्र सबै मिल्छ तर म त्योसँग खुसी हुन सक्दिनँ भने त्यो सबै कुरा मिलेर के काम । आमा, त्यसैले त्यो बिहे होइन, बन्धन हुनेछ । बिहे त सम्पत्ति, जात, गोत्र हेरेर होइन आमा, मेरो ख्याल गर्ने र मेरा कुरा बुझ्ने केटो तर जात नमिल्ने भए पनि त्यसैसँगै गर्दिनुस् ।’