यसरी भयो प्रतिनिधिसभा बैठक चालु

74

काठमाडौं । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले संवैधानिक आयोगहरूलाई सरकारको दबाब र प्रभावबाट मुक्त भएर कार्यसम्पादन गर्न सचेत गराउँदै प्रतिनिधिसभामा अवरोध अन्त्य गरेको छ । 

ललितानिवास जग्गा घोटाला प्रकरणमा सरकारले राजनीतिक पूर्वाग्रह राखेको आरोप लगाएको कांग्रेसले मंगलबार संवैधानिक आयोगहरूलाई निष्पक्ष र तटस्थ भएर कार्यसम्पादन गर्न सचेत गराउँदै प्रतिनिधिसभाको अवरोध हटाएको हो ।   

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सरकारको दबाबमा परेर संसदीय दलका उपनेतासमेत रहेका पार्टी उपसभापति विजयकुमार गच्छदारमाथि भ्रष्टाचार मुद्दा दायर गरेको भन्दै कांग्रेसले प्रतिनिधिसभामा लगातार तीन वटा अवरुद्ध गरेको थियो । 

मंगलबारको बैठकमा कांग्रेस संसदीय दलकी सचेतक पुष्पा भुसालले अख्तियारले सरकारको प्रभावमा परेर राजनीतिक प्रतिशोधका आधारमा उपनेता गच्छदारमाथि भ्रष्टाचार मुद्दा लगाएकाले संसद् अवरुद्ध गरेर विरोध गर्नुपरेको बताइन् । उनले अख्तियारको ध्यानाकर्षण गराउन र आगामी दिनमा यस्ता गल्ती नदोहो¥याउन सचेत गराउन संसद् अवरुद्ध गरेको बताइन् । उनले गच्दारमाथिको मुद्दा राजनीतिक ढंगले अगाडि बढाउने पनि बताइन् । 

‘संविधानले परिकल्पना गरेको तटस्थ र निष्पक्ष ढंगबाट अधिकार क्षेत्रमा रहेर कामहरू गर्नुपर्ने अख्तियारले सरकारको प्रभावमा परेर अधिकार क्षेत्रभन्दा बाहिर गएर मुद्दा दायर गरेको थियो । त्यसमा पूर्णरूपबाट राजनीतिक प्रतिशोध भएको कुरा अख्तियारको आरोपपत्र पढ्दा स्पष्ट भएको थियो,’ मंगलबार संसद् बैठकको अवरोध खोल्नुअघि आप्mनो भनाइ राख्दै सचेतक भुसालले भनिन्, ‘त्यसको विरोधमा संसद्मा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले विरोधस्वरूप सदनलाई बन्द गराएको थियो ।’ 

उनले संवैधानिक आयोगहरूले सरकारको प्रभावमा परेर निर्णय गर्दा लोकतान्त्रिक अभ्यास कमजोर हुँदै जाने र जनताको अधिकार सुनिश्चित नहुने बताइन् । ‘अख्तियार लगायतका संवैधानिक अंगहरू सरकारको प्रभावमा परेर कुनै पनि गलत काम गर्नु हुँदैन । कुनै निर्णय गर्नु हुँदैन । सरकारको छाया बन्नु हुँदैन,’ भुसालले भनिन्, ‘त्यो भयो भने लोकतान्त्रिक अभ्यास फेरि कमजोर हुँदै जान्छ । र जनताको अधिकार सुनिश्चित हुँदैन ।’ 

अख्तियारले दायर गरेको आरोप पत्रको वकालत गर्नुले अख्तियारले राजनीतिक पूर्वाग्रह साँधेर आरोपपत्र दायर गरेको कुराको पुष्टि भएको भुसालको भनाइ थियो । ‘अख्तियारले राजनीतिक पूर्वाग्रह साँधेर आरोपपत्र दायर गरेको कुराको पुष्टि सरकारले ग¥यो । नेपाल सरकारको प्रवक्ता सूचनामन्त्रीले यो सरकारको ठूलो उपलब्धि हो भन्नुभयो ।’ उनले सरकारका प्रवक्ताको यस्तो अभिव्यक्ति किन आएको भन्ने जानकारी गराउन माग गरिन् । 

भुसालले कांग्रेसले आगामी दिनमा सरकारको प्रभावमा गएर संवैधानिक आयोगहरूले लोकतन्त्रलाई कमजोर गराउने प्रयास गरे चुप लागेर नबस्ने चेतावनी पनि दिइन् । उनले लोकतन्त्रलाई कमजोर बनाउने प्रयास भए विरोध गर्ने बताइन् । भुसालले कांग्रेसले संवैधानिक आयोगहरूले आगामी दिनमा गर्ने काम नजिकबाट नियाल्ने पनि बताइन् ।

प्रतिनिधिसभासँगै प्रदेश १ को प्रदेशसभा बैठक पनि चालु भएको छ । सोमबार कांग्रेसले प्रदेशसभा बैठक अवरुद्ध गरेको थियो । 

प्रतिनिधिसभा बैठक हुनुअघि सिंहदरबारमा भएको कांग्रेस संसदीय दल कार्यसमिति बैठकले संसद्मा प्रतिनिधिसभाको अवरोध खुला गर्ने निर्णय गरेको थियो । सोमबार भएको कांग्रेस केन्द्रीय कार्यसमिति बैठकले पनि गच्छदारमाथिको मुद्दाविरुद्ध राजनीतिक र कानुनी लडाइँ एकसाथ लड्ने निर्णय गरेको थियो । 

मंगलबार प्रतिनिधिसभा बैठकको शून्य समयमा सांसदहरूले समसामयिक र क्षेत्रगत विषयमा सरकारको ध्यानाकर्षण गराए । सांसद मीन विश्वकर्माले चीनबाट फैलिएको कोरोना भाइरसका कारण संसार आक्रान्त भइरहेका बेला बारम्बार कुरा उठाउँदा पनि सुनुवाइ नभएको भन्दै चीनमा रहेका नेपालीलाई स्वदेश फिर्ता ल्याई सुरक्षित बनाउन माग गरे ।

सासंद बिमला विकले तत्कालीन सरकारले २०७१ सालको बाढी प्रभावित बर्दिया, बाँके लगायतका बाढी प्रभावितलाई भूकम्प प्रभावितसरह राहत उपलब्ध गराउने भने पनि अहिलेसम्म कार्यान्वयन नभएको भन्दै सरकारको ध्यानाकर्षण गराइन् ।

सांसद भवानीप्रसाद खापुङले मुलुकभरका १८ हजार सामुदायिक विद्यालयका प्रारम्भिक बालशिक्षामा कार्यरत शिक्षक र विद्यालयका २६ हजार कर्मचारीले सरकारले तोकेको न्यूनतम पारिश्रमिक नपाएकोतर्फ सरकारको ध्यानाकर्षण गराए । बालशिक्षामा कार्यरत शिक्षकले मासिक तलब ६ हजार र विद्यालयका कर्मचारीले मासिक तलब ६ हजार ५ सय देखि ७ हजार ५ सय रहेको भन्दै उनले न्यूनतम पारिश्रमिक १३ हजार ५ सय उपलब्ध गराउने व्यवस्था मिलाउन आग्रह गरे ।  

सांसद भैरवबहादुर सिंहले बझाङको खोड्पे बजार–जयपृथ्वी राजमार्गको अवस्था नाजुक भएकाले यात्राको समयमा स्थानीयवासीले जोखिमपूर्ण यात्रा गर्न बाध्य भएको भन्दै सो राजमार्गको स्तरोन्नति गर्न सकारसँग माग गरे । प्रतिनिधिसभाको अर्को बैठक बुधबार दिउँसो १ बजे बस्ने भएको छ ।