योग अभ्यासमा आकर्षण बढ्दै

364

काठमाडौं । बदलिँदो जीवनशैलीका कारण उत्पन्न हुने विभिन्न किसिमका शारीरिक तथा मानसिक तनाव समाधान गर्ने प्रभावकारी उपचार मानिएको योगप्रतिको मानिसहरूको आकर्षण बढ्दै गएको छ । विशेषगरी योग अभ्यासले रोग प्रतिरोधात्मक क्षमता बढाउने, शरिरलाई स्वस्थ र स्फूर्त बनाउने भएकाले पनि यस प्रतिको अकर्षण बढ्दै गएको हो । योगले पाचन प्रक्रियालाई सही ढंगबाट चलाइ स्वासप्रश्वासको गति नियन्त्रण गर्ने भएकाले विभिन्न किसिमका रोग लाग्ने सम्भावना पनि कम हुने योग विज्ञहरूको भनाइ छ । पछिल्लो समय अस्पतालमा उपचार गराउँदा गराउँदा हार खाएपछि योग आश्रममा पुग्नेहरूको संख्या पनि बढ्दै गएको पाइन्छ ।

सुनसरीका ५४ वर्षीय सुबोध प्याकुरेलले अन्य उपचार पद्धतिभन्दा योग अभ्यास उपयुक्त लागेर आफु योग केन्द्रमा जाने गरेको बताए । गौशलाको आरोग्य आश्रममा भेटिएका उनको पाँच वर्षअघि शारीरिक अवस्था निकै दयनीय थियो । धेरै अस्पतालमा धाए पनि निको नभएपछि पाँच वर्षअघि उनी उक्त केन्द्रमा उपचारका लागि पुगेका थिए । मोटोपन, उच्च रक्तचाप र सुगरका कारण उनलाई प्यारालाइसिस भएको थियो । तर अहिले योग आश्रममा आएर योगपद्धतिबाट उपचार गराउन थालेपछि उनी विगत जस्तै पूर्ण रुपमा हिँड्डुल गर्नसक्ने भएका छन् ।  

यस्तै, ३३ वर्षीय उमाकान्त चौलागाईं पनि इन्टरनेसनल आरोग्य पोलिक्लिनिकमा भेटिए । उनलाई दुई वर्षअघिदेखि मेरुदण्डको समस्या भएपछि उपचार गराउँदै आएका छन् । शारीरिक व्यायाम, थेरापी र अन्य योग विधिबाट उपचार हुने भएकाले निकै नै आराम महसुस भएको उनको भनाइ छ । उनले भने, ‘हिजोआज नियमित रुपमा योग अभ्यास गर्ने गरेको छु, पहिलेको तुलनामा धेरै नै आराम हुँदै गएको छ ।’ 

इटहरीका ४३ वर्षीया सुशीला श्रेष्ठको चार वर्षअघि अचानक दायाँ हात र दायाँ खुट्टाले काम गर्न छोड्दै गयो । उनी त्यसको उपचारका लागि काठमाडौंका झण्डै १०÷१५ वटा अस्पताल धाइन् । ६ महिनासम्म लगातार उपचार गर्दा पनि निको हुनुको साटो उनी झन्झन् कमजोर हुँदै गइन् । उनलाई सुगर, प्रेशर, थाइराइड जस्ता रोगले च्याप्दै लगेको थियो । अस्पतालमा उपचार सम्भव नदेखेपछि छिमेकीको सल्लाहमा उनी आरोग्य आश्रम आएको बताउँछिन् । यहाँ उपचार गराउन थालेपछि अहिले उनलाई सञ्चो भइसकेको छ । उनले भनिन्, ‘अहिले घरमा पनि नियमित रुपमा शारीरिक व्यायाम र योग गर्दै आएकी छु ।’ 

यी त प्रतिनिधिपात्र मात्रै हुन्, पटक पटक अस्पताल गएर पनि रोग निको नभएपछि योग आश्रमतिर धाउनेहरूको संख्या दिनप्रतिदिन बढ्दै गएको छ । नियमित रुपमा शारीरिक व्यायाम गरेमा रोग लाग्ने सम्भावना ज्यादै कम रहने योग गुरुहरूको भनाइ छ । 

केहि महिनाअघि मात्रै आयुर्वेद तथा वैकल्पिक चिकित्सा विभागले पनि योग कक्षा सञ्चालन गरेको छ । हरेक हप्ताको शुक्रबार विभागमा योग कक्ष सञ्चालन हुँदै आएको विभागका महानिर्देशक डा. बासुदेव उपाध्यायले बताए । उनले आयुर्वेद विभाग, स्वास्थ्य सेवा विभागका कर्मचारी र स्वास्थ्यसँग सरोकार राख्ने व्यक्तिहरूले सजिलै योग सिक्न सक्ने बताए । उनले सर्ने रोगभन्दा पनि नसर्ने रोगको जोखिम बढ्न थालेकाले यसलाई कम गर्नका लागि पनि योग आवश्यक भएको बताए ।