रंगशालाभित्र सेन्टी भाइरसको गीत सुटिङ

71

चितवन  । यही आउँदो फागुन ९ गतेबाट प्रदर्शनमा आउने तयारीमा रहेको चलचित्र सेन्टी भाइरसको प्रमोशनल गीत सुटिङ गरिएको छ । चितवनको भरतपुरमा निर्माणाधीन गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला परिसरमा पार्टीलाई जिताइदे बोलको गीतको सुटिङ गरिएको हो ।

भिडियोका निर्देशन तथा चलचित्रका लेखक दीपक आचार्यका अनुसार चलचित्रको गीत प्रमोशनका लागि प्रयोग गरिनेछ । भिडियोमा चलचित्रका मुख्य कलाकार कुञ्जना घिमिरे, सन्दीप क्षेत्री, विल्सनविक्रम राईलाई देख्न सकिनेछ । भिडियोमा राजनीतिक पार्टीको प्रचार तथा दुई पार्टीबीचको झैझगडालाई देखाइएको छ । 

सुबिहानी फिल्मस् प्रालिको ब्यानरमा निर्मित सो चलचित्रमा शंकर थापा स्माइल, राजनराज सिवाकोटी र कालीप्रसाद बास्कोटाको संगीत छ । 

२ करोडको लागतमा बनेको चलचित्रको निर्माण डिन्डु लामा हृयोल्मोले गरेका हुन् । चलचित्रका सहनिर्माता फूर्पा लामा हुन् । कुमार कट्टेल र दीपक आचार्यले लेखेको कथामा बनेको चलचित्रका निर्देशक ‘कबड्डी’ फेम्ड निर्देशक रामबाबु गुरुङ हुन् । यो चलचित्रको आम्दानीको ५० प्रतिशत चितवनमा निर्माण भइरहेको ‘क्रिकेट रंगशाला’ निर्माणमा खर्च गरिने बताइएको छ । कलाकार सितारामले फिल्म हेर्न काटेको टिकटको रकम रंगशाला निर्माणमा सहयोग हुनेभएका कारण सम्पूर्ण नेपालीलाई चलचित्र हेर्न आग्रह गरेका छन् ।