राजपामा भाँडभैलो

109

काठमाडौं । आसन्न राष्ट्रियसभाको निर्वाचनका उम्मेदवार चयनपछि राष्ट्रिय जनता पार्टी (राजपा) मा आन्तरिक विवाद चुलिएको छ । टिकट वितरणमा अध्यक्ष मण्डलले अपनाएको प्रक्रियालाई लिएर राजपामा विवाद चुलिएको हो ।

राजपाले राष्ट्रियसभा निर्वाचनको संयोजन गर्ने जिम्मा अध्यक्ष मण्डलका संयोजक राजेन्द्र महतोलाई दिएको थियो । चार दर्जनभन्दा बढी आकांक्षीबाट अध्यक्ष मण्डलले दुईजना उम्मेदवार छनोट गरेको थियो ।

अध्यक्ष मण्डलका सदस्यहरू महन्थ ठाकुर र महेन्द्रराय यादव पार्टीको निर्णयबाट असन्तुष्ट छन् । सोमबारको बैठकमा अध्यक्ष मण्डलका सदस्य यादव अनुपस्थित भए भने बैठकमा पुगेका अर्का सदस्य ठाकुर ‘तपाईंहरूलाई जे गर्नु छ गर्नुस्’ भन्दै केहीबेरमै बैठक छोडेर हिँडेका थिए ।

दुईजना सदस्यले बहिष्कार गरे पनि बैठकले राष्ट्रियसभा निर्वाचनमा मत दिने आफ्ना जनप्रतिनिधिहरूलाई प्रशिक्षण दिनेलगायत निर्णय गरेको छ । पुस २७ गते मतदाताहरूसँग बर्दिबासमा बैठक गर्ने, माघ ७ र ८ गते बर्दिबासमै प्रशिक्षण, प्रदेश २ को संयोजन गर्ने जिम्मेवारी प्रदेश २ का संसदीय दलका नेता जितेन्द्र सोनललाई दिने निर्णय बैठकले गरेको छ ।

राष्ट्रियसभा सदस्यका लागि राजपाबाट मृगेन्द्रसिंह यादव र शेखर सिंहले टिकट पाएका छन् । दुवैजना सप्तरीवासी हुन् । मृगेन्द्र संयोजक महतो र शेखर अध्यक्षमण्डल सदस्य भण्डारीनिकट मानिन्छन् । राष्ट्रियसभा सदस्यका लागि टिकट पाएका मृगेन्द्र तीन पटक क्षेत्रीय प्रशासक बनिसकेका छन् ।

टिकट वितरणमा अन्य जिल्लालाई महŒव नदिइएको भन्दै राजपाभित्र विरोधको स्वर बढिरहेको छ । पार्टीले योग्य र प्रतिबद्ध नेतालाई टिकट नदिएको राजपाका कतिपय नेता–कार्यकर्ताहरूको आरोप छ ।

राजपाका कतिपय नेताले त टिकट वितरणमा पैसाको चलखेल भएको दाबी गरेका छन् । संयोजक महतो र सदस्य भण्डारीले पैसाको चलखेल गरेर टिकट बाँडेको भन्दै यस विषयमा छानबिन हुनुपर्ने राजपाका नेताहरुले माग गरेका छन् । पार्टीका एकजना शीर्ष नेताले यदि पैसाको चलखेल भएको हो भने त्यो पैसा पार्टीको कोषमा जम्मा हुनुपर्ने बताए ।

महतो संयोजक भएको बेला पार्टीभित्र केही न केही गडबडी हुने गरेको कार्यकर्ताहरूको भनाइ छ । अहिले पनि महतोले विगतझैँ गडबडी गरेको उनीहरूको आरोप छ । महाधिवेशन तयारी समितिको संयोजक ठाकुर रहे पनि उनको अनुपस्थितिमा चारजना सदस्यले सोमबारको बैठकमा महाधिवेशनसम्बन्धी निर्णय गरेको राजपाका असन्तुष्ट कार्यकर्ताहरूको भनाइ छ ।

पार्टीभित्र सबै कुरा ठिकठाक नरहेको राजपाका एकजना शीर्ष नेताले स्वीकारे । ‘राष्ट्रियसभा सदस्यको टिकट वितरणदेखि सोमबारको बैठकबाट भएको निर्णयले यसअघि रहेको मतभेद मतभेदमा परिणत भएको छ,’ ती नेताले हिमालय टाइम्सलाई बताए ।

पार्टीभित्रको पछिल्ला निर्णयहरूबाट पूर्व–तमलोपाका नेता कार्यकर्ताहरू आफूलाई असुरक्षित महसुस गर्न थालेका छन् । राजपाका एकजना पूर्व–तमलोपा नेताले भने, ‘पार्टीभित्र पूर्व–तमलोपाका नेता–कार्यकर्ताको भविष्य असुरक्षित रहेको जस्तो लागेको छ । हामी पार्टीभित्र कसरी बस्ने समस्या देखिएको छ, अरू नै बाटो खोज्ने बेला आइसकेजस्तो लागेको छ ।’