रोपाइँको रमाइलो

1464

काठमाडौं । पहाडका फाँटदेखि तराईको मैदानसम्म असारमा खेतका गह्रा–गह्रामा असारे भाका गुञ्जिन्छन् । फरक हुन्छ त लय, शैली र भाषा मात्रै । ‘छुपु छुपु रोपी धानको बिउ एउटा रोपी मुरी उब्जाऊँ’ भन्दै रमाउँदै छन् मूलपानी चौरका रोपारहरू ।

धान रोप्ने बेला यस्ता थुप्रै मौलिक गीत गुञ्जिन्छन् । गीत गाउँदै रोपाइँ गर्दा थकाइ बिर्सिन्छन् । सबै खेतालालाई मनोरञ्जन हुन्छ । गीतले गर्मीमा राहत दिन्छ । काम गर्न जाँगर दिन्छ । ‘आफ्नै गीतमा रमाउँदै रोपाइँ गर्दा झन् आनन्द लाग्ने काठमाडौंको मूलपानी चौरकी मञ्जु बस्नेतको भनाइ छ । 

उनका अनुसार मौलिक गीत पुराना पुस्तामा सीमित बन्दै गएको छ । नयाँ गीतलाई पनि त्यही भाकामा गाउँदा खुब रमाइलो हुन्छ । नयाँ पुस्ताले नसिक्दा पुराना गीत लोप हुने चिन्ता छ । रोपाइँको समयमा मनका पीडा पोख्ने खालको गीत हाँसीमजाक गर्दै गाउँछन् रोपारहरू । दहीचिउरा र रोटीको खाजा खाएर रमाइलो गर्दै काम गर्ने मौका हो रोपाइँ । 

मञ्जु भन्छिन्, ‘रोपाइँको गीत एक्लै गाउन मिल्दैन, साथ दिने अर्को समूह चाहिन्छ । हामी पुरानै गीत गाउँछौं । पुराना गीत राम्रो आउँदैन तर लय मिलाएर गाउँछौं, असारे भाकामा पीडाका गीत गाउँदा पनि रमाइलो हुन्छ ।’ 

खेतमा असारे गीत गाउने प्रतिस्पर्धा नै चल्थ्यो । हाल आएर पुस्तौनी गीत कम गाउन थालिएको छ । ‘रोपाइँको रमाइलो हिलो छ्याप्दै र माटो खेल्दै काम गर्दाको खुसी अन्य कुरामा कहाँ पाइन्छ र,’ यति भनेर मञ्जु मुस्कुराइन् । 

रोपाइँमा समुदायका थुप्रै मौलिक गीत छन् । युवा पुस्ताले भने वास्ता गर्न छाडेका छन् । मूलपानीमा असारे धान रोपाइँमा हिलाम्य खेतमा नाच्दै रमाइलो गर्ने चलन छ । ‘बाह्र मुठा धान रोपे बाह्र मुरी धान’ फल्छ भन्छन् यहाँका रोपारहरू । ‘धान रोपाइँको दिनमा ननाच्ने महिला कोही हुँदैन । हिलो छ्याप्ने धान रोप्ने, साथीलाई हिलोमा लडाएर हाँस्ने, यस्तै हो रमाइलो,’ बाउसे राजीव श्रेष्ठले भने । 

‘जहाँ गए नि जे गरे नि, भागेन है मनको पीर’ बेली बिसुंखेले भाका हालिन् । सबै रोपारले उनको लयमा लय मिलाए । सबै एकाएक गायकजस्ता सुनिए । 

बेलीका अनुसार असारको रोपाइँमा रोपारहरू । उनले भनिन्, ‘धान रोप्ने दिनमा पनि हामीले यस्तै गीत गाउँछौं ।’ उनले यति भनेर उनले भाका अघि बढाइन्, ‘असार लाग्यो लाउनु रे खेती, माया लाउनु रे आफूभन्दा जेठी ।’ किसानका लागि असार महिना एउटा उत्सव हो । यही उत्सवमा हिलो र धानको बिउँसँगै दिनभर खेतमा रमाउँछन् किसानहरू । किसानका लागि वास्तविक चाड असार हो । एक काम गरेर वर्षभरि खान पुग्ने धान उब्जाउनुपर्छ । मानु खाएर मुरी उब्जाउने भन्ने आहान नै छ । बिहानदेखि बेलुकासम्मै कृषकहरू खेतमै हुन्छन् । 

रोपारेमध्येकी ज्येष्ठ कान्छी माया विसुङ्खे भनिन्, ‘ज्यामिरे, विरुवा, सिसुवा, निबुवाको फाँट हुन्थ्यो । बाह्रबीसे, सातबीसे र सेराको फाँट हुन्थ्यो । उज्यालो नहुँदै खेतमा पुथ्यौं र साँझ परेपछि फर्किन्थ्यौं ।’ 

फाँटभरी रोपाइँको चहलपहल र रमाइलो आफ्नै पाराको हुन्छ । त्यो बेलाको रमाइलो सम्झिँदा पनि आनन्द लाग्छ तर अहिले त्यस्तो छैन, खेत मासिँदै गयो ।