विदेशमा मृत्युदण्ड कुर्दै २५ नेपाली

काठमाडौं । नातेदारको हत्यामा दोषी ठहर भएका उदयपुरका विवेक दाहाल अहिले साउदी अरबको जेलमा छन् । उनलाई साउदीको पुनरावेदन अदालतले ८ महिनाअगाडि व्यक्ति हत्याको अभियोगमा मृत्युदण्डको फैसला सुनाएको थियो ।

उनीजस्तै श्रम बेच्न परदेशिएका नेपालीमध्ये अरू चार जनालाई साउदीकै अदालतले मृत्युदण्डको फैसला सुनाएको छ । आफ्नो सामान्य आवश्यकता पूरा गर्न र परिवारको दैनिक गुजारा सहज बनाउन भनेर परदेशमा पसिना बेच्न गएका नेपालीमध्ये विभिन्न देशका जेलमा २५ नेपाली मृत्युको तारेख कुरेर बसेका छन् । सबैभन्दा बढी मलेसियामा १६ जना नेपालीलाई मृत्युदण्डको सजाय सुनाइएको छ । साउदी अरबमा मृत्युदण्डको सजाय पाएका पाँच नेपाली देश र परिवार सम्झिँदै जेलमा दिन काटिरहेका छन् । कुवेतमा तीन र युएईमा एक जना नेपालीलाई मृत्युदण्डको सजाय तोकिएको छ । 

वैदेशिक रोजगार बोर्ड सचिवालयका अनुसार श्रम स्वीकृति लिएर विदेश गएका नेपालीमध्ये ५४५ जना विभिन्न अभियोगमा विदेशी जेलमा छन् । जेलमा रहेकामध्ये ५२६ पुरुष र १९ महिला छन् । तीमध्ये २५ जनालाई सम्बन्धित देशको अदालतले मृत्युदण्डको फैसला सुनाएको छ भने २०६ जनालाई विभिन्न अवधिको कैद सजाय तोकिएको छ । त्यस्तै, जेलमै भए पनि सजाय तोकिन बाँकी २९४ जना छन् । वैदेशिक रोजगारीमा गएका नेपालीमध्ये सबैभन्दा बढी २०५ जना मलेसियाको जेलमा छन् । जसमध्ये १६ जनालाई अदालतले मृत्युदण्डको सजाए सुनाइएको छ भने बाँकी १९० जनाको सजाय तोकिन बाँकी छ ।

युएईको जेलमा १८५ नेपालीले सजाय भुक्तान गरिरहेका छन् । यीमध्ये एकजनालाई मृत्युदण्डको सजाय सुनाइएको छ भने आजीवन कारावास सजाय तोकिएका ४ जना छन् । यस्तै, एक वर्षदेखि १५ वर्षसम्म जेल सजाय तोकिएका ५०, तीन महिना सजाय तोकिएका ७५, सजाय तोक्न बाँकी ४८ र जरिवाना तोकिएका सात जना छन् ।

कुवेतको जेलमा ५८ जना नेपाली छन् । जसमध्ये मृत्युदण्डको सजाय तोकिएका तीन जना छन् भने आजीवन कारावास तोकिएका ९ जना छन् । १० वर्षदेखि १५ वर्षसम्म जेल सजाय तोकिएका ४२ र सजाय तोक्न बाँकी ४ जना छन् ।

यस्तै, कतारको जेलमा ३५ जना नेपालीले सजाय भोगिराखेका छन् । यीमध्ये आजीवन कारावास सजाए पाएका तीन, एक वर्षदेखि १५ वर्षसम्म जेल सजाय तोकिएका १३, सजाय तोक्न बाँकी १८ र जरिवाना तोकिएका एक जना छन् ।

साउदीको रियादस्थित जेलमा रहेका २३ जना नेपालीमध्ये मृत्युदण्डको सजाय तोकिएका ५ जना छन् । १० वर्षभन्दा कम जेल सजाय तोकिएका एक, सजाय तोकिन बाँकी ११ र जरिवाना तोकिएका ६ जना नेपाली छन् ।

साउदी अरबकै जेद्दा जेलमा रहेका ३१ नेपालीमध्ये १० वर्षभन्दा कम जेल सजाय तोकिएका एक, सजाय तोकिन बाँकी २६ र जरिवाना तोकिएका चार जना छन् । बहराइनको जेलमा पाँच नेपालीले सजाय काटिरहेका छन् । उनीहरूलाई १० वर्षदेखि २५ वर्षसम्म कैद सजाय सुनाइएको छ ।

यस्तै, ओमनको जेलमा रहेका तीन जना नेपालीलाई १० वर्षदेखि २५ वर्षसम्म जेल सजाय तोकिएको छ । यो त श्रम स्वीकृति लिएर विदेश गएकाको तथ्यांक मात्रै हो । श्रम स्वीकृति नलिई गएका र अध्ययनका सिलसिलामा विभिन्न देशमा पुगेका नेपाली योभन्दा धेरै संख्यामा विदेशी जेलमा रहेको अनुमान छ ।