विस्तार हुँदै कलेजो प्रत्यारोपण

काठमाडौं । नेपालमा पछिल्लो समय कलेजो प्रत्यारोपणले सफलता पाउन थालेको छ । नेपालमा वर्षेनी एक हजारभन्दा बढी व्यक्तिको कलेजो बिग्रिने गरेको विभिन्न स्वास्थ्य संस्थाको अनुमान छ । उक्त समस्याको समाधान स्वदेशमै गर्ने उद्देश्यले सरकारी अस्पतालमा पनि कलेजो प्रत्यारोपणको हुन थालेको छ । 

त्रिवि शिक्षण अस्पताल महाराजगञ्जले गत जेठ १७ गते पहिलोपटक कलेजो प्रत्यारोपण सफलतापूर्वक सम्पन्न गरेको थियो । उक्त अस्पतालले अब, नयाँ योजनासमेत सुरु गरेको छ । शिक्षण अस्पतालले अब, महिनामा एकपटक कलेजो प्रत्यारोपण गर्ने जानकारी पनि आफ्नो अस्पतालको वार्षिकोत्सवको अवसर पारेर आइतबार जानकारी गराएको छ । 

महिनामा एकपटक कलेजो प्रत्यारोपण गर्दा पनि 

विदेशिने अधिकांशलाई रोक्न सकिने अस्पतालले जनाएको छ । साउन ३ गते पनि त्रिवि शिक्षण अस्पतालले दोस्रोपटक कलेजो प्रत्यारोपण ग¥यो । शिक्षण अस्पतालले सरकारी अस्पतालमा सर्वसुलभ तरिकाले कलेजो प्रत्यारोपण सेवा दिनुपर्नेमा जोड दिएको छ । कलेजोजस्तो अन्य अंग प्रत्यारोपण र क्यान्सर जस्तो घातक रोगको उपचार गर्न विदेशिने बिरामीलाई रोक्न प्रयास हुनुपर्ने शिक्षण अस्पतालको भनाइ छ ।

वीर अस्पतालले पनि कलेजोको उपचार सेवा दिँदै आएको छ ।

नेपालमा पहिलोपटक मानव अंग प्रत्यारोपण केन्द्र भक्तपुरमा २०७३ सालमा कलेजो प्रत्यारोपण भएको थियो । केन्द्रले पहिलोपटक भक्तपुरकै एक बिरामीको कलेजो प्रत्यारोपण गरेको थियो । ‘मानव अंग प्रत्यारोपण नियमावली २०७३’ ले कलेजो प्रत्यारोपणको बाटो खोलेको थियो । उक्त नियमावली पारित भएपछि स्वास्थ्य मन्त्रालयअन्तर्गत मानव अंग प्रत्यारोपण केन्द्र भक्तपुरले पहिलोपटक कलेजो प्रत्यारोपण गरेको थियो । 

नेपालका कलेजोका बिरामीले कलेजो प्रत्यारोपण गर्न चाहे पनि नियमावली तथा प्रत्यारोपण सुविधा नहुँदा विदेशमा करौडौं खर्च गरेकाले पनि नेपालमै सेवा अनिवार्य भएको चिकित्सकहरू बताउँछन् । कलेजो प्रत्यारोपणमा विदेशमा एक करोडभन्दा बढी खर्च गर्नेहरू पनि केन्द्रमै आउने गरेको केन्द्रका कार्यकारी निर्देशक डा. पुकारचन्द्र श्रेष्ठ बताउँछन् । उनले नेपालमा १५ देखि २० लाख रुपैयाँमा कलेजो प्रत्यारोपण हुने गरेको जानकारी दिए । 

केन्द्रमा तीन दर्जनभन्दा बढीको कलेजो प्रत्यारोपण भइसकेको छ ।

कार्यक्रममा शिक्षण अस्पतालका कार्यकारी निर्देशक प्राडा. प्रेमकृष्ण खड्काले मिर्गाैला प्रत्यारोपण कार्य सफलतापूर्वक अघि बढेको बताए । उनले अस्पतालले अनिवार्य रूपले आफ्नै ‘फार्मेसी’ सेवा सञ्चालन गर्नुपर्ने व्यवस्था गरेपछि गतवर्ष १९ करोड ७६ लाख रुपैयाँ बराबरको औषधि बिक्री पनि जानकारी दिए । 

कलेजोले शरीरमा संक्रमणबाट जोगाउने, रगतबाट ब्याक्टेरिया र विषाक्त पदार्थ हटाउने, रगत जम्न सघाउने प्रोटिन बनाउने, प्रतिरक्षा प्रणाली नियन्त्रणमा राख्ने, औषधि र हार्मोन प्रशोधन गर्ने जस्ता काम गर्छ । यसैगरी बोसो, कोलेस्ट्रोल र बोसोमा घुलनशील भिटामिन अवशोषण गर्न सघाउने र पित्तको उत्पादन गर्ने काम गर्छ ।