शाहरूखकी श्रीमतीको आग्रह, ‘फिल्मबाहेक अर्को करिअर रोज्नुस्’

मुम्बई । बलिउड अभिनेता शाहरूख खान बलिउडका सुपरस्टार हुन् । उनले अभिनय गरेका अधिकांश चलचित्र सुपरहिट छन् । तर पछिल्लो समय उनले काम गरको एकपछि अर्को चलचित्रले सोचेअनुरूप व्यापार गर्न सकेका छैनन् । अर्थात् असफल हुँदै गएका छन् । 

लगातार असफलता भोगेपछि अब भने शाहरूख आफ्ना आगामी चलचित्रमा कुनै पनि किसिमको सम्झौता गर्न चाहँदैनन् । तसर्थ उनी यतिबेला ब्रेक लिएर उत्कृष्ट स्क्रिप्टको खोजीमा छन् । लामो समयदेखि चलचित्रमा नदेखिएका शाहरूखलाई दर्शक पर्दामा हेर्न आतुर छन् । तर शाहरूख खान भने नयाँ फिल्मको घोषणा गर्न समय लगाइरहेका छन् । यसैबीच शाहरूख खानकी श्रीमती गौरी खानले भने शाहरूख खानलाई चलचित्रबाहेक अर्को करियर रोज्न सुझाब दिएकी छन् । 

गौरी खानले मुम्बईमा आफ्नो डिजाइनर स्टोरमा बलिउड कलाकार तथा नजिकका साथीहरूका लागि पार्टीको आयोजना गरेकी थिइन् । सोही पार्टीमा मिडियासँगको कुराकानीमा गौरीले श्रीमान् शाहरूखको डिजाइनिङ सेन्स धेरै राम्रो रहेको बताइन् । 

शाहरूखले घरको इन्टेरियरमा कैयौं परिवर्तन गरेको, जुन निकै उत्कृष्ट रहेको बताइन् । गौरीले रमाइलो गदै भनिन्, ‘शाहरूख यतिबेला कुनै पनि फिल्ममा काम गरिरहेका छैनन्, तसर्थ म उनलाई दोस्रो विकल्पमा डिजाइनिङलाई राख्न सल्लाह दिन्छु । किनकि उनी एक उत्कृष्ट डिजाइनर बन्न सक्छन् । उनीभित्र त्यो कला पनि छ ।’ गौरी खानले आफ्नो हाँसो उडाउँदा शाहरूख पनि चुप लागेर बस्न सकेनन् । उनले हाँसेरै गौरीलाई जवाफ दिँदै भने, ‘मलाई यस्तो यसकारण भनिएको हो, किनकि मेरा पछिल्ला केही फिल्महरू चल्न सकेनन् ।’