श्रीलंकन थारंगा ललितपुरबाट खेल्ने

106

काठमाडौं । श्रीलंकाका ओपनर ब्याट्सम्यान उपुल थरंगाले चौथो संस्करणको एभरेष्ट प्रिमियर लिग (ईपीएल) क्रिकेट खेल्ने भएका छन् । श्रीलंकन राष्ट्रिय टोलीका थरंगाले साबिक विजेता ललितपुर प्याट्रियट्सबाट ईपीएलमा खेल्ने भएका हुन् ।

ललितपुरले सोमबार प्रेस विज्ञप्ति निकाल्दै थरंगाले खेल्ने पक्का भएको जनाएको छ । ‘ललितपुरमा विकेटकीपर ब्याट्सम्यान थरंगाको उपस्थितिले टिमको सन्तुलन मिल्नेछ । हामी हाम्रो युवा खेलाडीलाई उनको मार्गनिर्देशन दिन खोजिरहेका छौँ । ड्रेसिङ रूममा हाम्रा खेलाडीले पक्कै केही सिक्नेछन्,’ ललितपुरका मालिक किशोर महर्जनले विज्ञप्तिमा भनेका छन् ।

ब्याट्सम्यान तथा विकेटकीपर ३४ वर्षीय थरंगाले श्रीलंकाका लागि ३१ टेष्ट, २ सय ३५ एकदिवसीय र २६ टी(ट्वाण्टी अन्तर्राष्ट्रिय खेलिसकेका छन् । विज्ञप्तिमा थरंगाले नेपाली क्रिकेटका युवा पुस्तालाई आफ्नो ज्ञान बाड्न आफू तयार रहेको बताएका छन् ।

‘ईपीएलमा ललितपुरको सदस्य बन्न पाएकोमा सम्मानित महसुस गरेको छु । नेपालको बढ्दो क्रिकेट संस्कृतिको अंश हुन पाउँदा खुसी छु र आउँदा वर्षमा पनि सामेल हुन चाहन्छु,’ थरंगाले भनेका छन्, ‘नेपाली क्रिकेटरको युवा पुस्तालाई म मेरो ज्ञान साझा गर्न तयार छु ।’ ईपीएल चैत १ गतेदेखि १५ गतेसम्म टियु क्रिकेट मैदानमा हुनेछ ।