संगीतोलोजी

संसारको सबैभन्दा सरल भाषा संगीत हो, यसै भन्छन् जानिफकारहरू । होला पनि । संगीतको जात, सीमा, धर्म इत्यादि केही हुन्न रे । होला । ‘आङ्लाङपाङ्लाङ आङ्लाङपाङ्लाङ ओपा गाम्नाम स्टायल’ सबैले बुझ्यौँ कुनैबेला । सीमा, भाषा, रंग, धर्म, रीतिरिवाज कुनै कुराले कसैलाई छेकेन । सबै बाटामा ‘ओपा गाम्नाम स्टायल’ भन्दै नाच्दै हिँडे, हिँडियो । त्यै गाम्नाम स्टायल चलेका हाराहारी बेला मलाई पनि एउटा धुन चल्दै थियो एउटा गीत ‘रिमेक’ गर्ने । 

पछि कुनैबेला अवसर आएछ भने त्यो गीत दिलासा अझै छ । कुन गीत हो, त्योचाहिँ भन्न मिलेन ! नेपाली संगीत आफ्नै पाराको छ । हाम्रामा शास्त्रीय संगीत त्यति फस्टाउन सकेन, कहिल्यै सकेन । स्वच्छन्द पाराका आफ्नै भाकाका लोकगीत र तिनै लोक भाकामा आधारित भएर बनाइएका आधुनिक गीतले विशेष स्थान ओगटे । अहिले नयाँ पुस्ताले ‘-याप’ हान्दा पनि लोकभाका छाड्न सकेका छैनन् । न उत्तरआधुनिक (पोस्टमोडर्न) न त लोक (फोक), बीचको धारमा अहिलेको नयाँ पुस्ता संगीतको यात्रा गर्दै छ । 

गीत रिमेक गर्ने कुराले सिड्नीमा दीक्षित र बुल्सन निक्कै उत्साहित भए । त्यसैबेलामा एउटा नेपाली फिल्म पनि सुटिङ हुँदै थियो सिड्नीमा । बुल्सन राम्रा लेखक हुन्, छोटा कथा लेख्छन् । नजानिँदा पाराले निक्कै राम्रा गीत पनि लेख्छन् । ‘हो दाइ, गीत रिमेक गर्ने आइडिया मलाई पनि मन प-यो !’ बुल्सनले मलाई उकासे । सही थप्दै दीक्षितले भने ‘दाइ -याप पनि हान्नुपर्छ, यो गीत त बबाल चल्छ ।’ 

यस्तैमा बुल्सनले सोधे, ‘दाइको मनपर्ने गायकचाहिँ को हो नि ?’ मैले भने ‘योगेश्वर अमात्य’ । बुल्सन र दीक्षित मुखामुख गरेर गललल हाँसे । भने ‘कस्तो सोच्दै नसोचेको, कल्पनासम्म पनि नगरेको जवाफ दिनुभयो दाइ तपाईंले त । कमसे कम नारायणगोपाल, फत्तेमान, प्रकाश श्रेष्ठ भन्नुहोला भनेको त !’ अनि मैले फेरि थपेँ ‘अनि मलाई लाहुरेको -याप असाध्यै मन पर्छ ।’ केटाहरू ट्वाँ !

सन् साठीका दशक प्रसिद्ध अंग्रेजी ब्याण्ड बिटलका सदस्य जर्ज हृयारिसन भारतीय सितारबादक रविशंकरकहाँ सितार सिक्न गए । सामान्यतया कतैबाट पनि साइनो नलाग्ने अवस्थालाई ‘गोरु बेचेको साइनो’ पनि नलाग्ने भन्ने चलन छ नेपालीमा । गोरु बेच्दासमेत एक प्रकारको साइनो लाग्छ भन्ने हाम्रो परम्परालाई हेर्ने हो भने रविशंकर र हृयारिसनको गोरु बेचेको साइनो पनि लाग्दैन । रविशंकर एकछिन अक्कनबक्क भए हृयारिसनलाई देखेर । फेरि जब हृयारिसनले ‘जेन्युइन्ली’ सितार सिक्ने उत्कट इच्छा प्रकट गर्दा रविशंकर गुरु बन्न राजी भए, पछिको नतिजा सबैलाई थाहा छ । यो अहिलेको मात्रै परम्परा होइन । 

भारतमा ऊबेलामा तानसेन भनिने ‘रहश्यमयी’ संगीतज्ञ थिए रे । राजा अकबरका पालामा । उनी बाजा बजाएर पानी पार्थे रे । सनातन धर्ममा संगीतको ठूलो महव छ । सामवेद ‘सांगीतिक वेद’ हो रे । समग्रमा वेद वाचनको एउटा निश्चित लय र छन्द हुन्छ जसलाई चलनचल्तीका भाषामा ‘सारस्वर’ भनिन्छ । छन्दले लय अथवा संगीतको ताल अथवा भनौँ भाका निर्देशित गर्दछ । यहाँ बुझ्नुपर्ने कुरा के हुन्छ भने ‘छन्द’ कवितात्मक हुन्छ भने त्यही छन्दलाई वाद्यसामग्रीले बजाउँदा राग बन्छ । राग संगीतको छन्द हो भन्दा तलमाथि नपर्ला ।

वैष्णव सम्प्रदायका स्वामी हरिदाससँग रहश्यमयी संगीत सिकेका तानसेनले पछि फेरि सुफी सम्प्रदायका सन्त संगीतज्ञ मोहम्मद गौससँग अरू शिक्षा लिए रे । वैष्णव तानसेन पछि मुसलमान बने रे । यो साम्प्रदायिक विचलन नभएर ‘संगीत’ ले बाँधेको डोरी मात्रै थियो भन्ने अनुमान आजका संगीत दार्शनिकहरूको छ । यो संगीतको दुनियाँमा ‘कहाँ कसले’ भन्दा पनि ‘कसले कसरी’ भन्ने तथ्य स्थापित गरेको पाइन्छ । एकदिन तानसेन त्यसबेला लगभग लोप भइसकेका ‘राग दीपक’ र ‘राग निशा मोहिनी’ का चमत्कारका विषयमा छलफल गर्दै थिए रे । कसोकसो राजा अकबरले पनि कुरो छासछुस सुन्न भ्याएछन् । 

तुरुन्तै आदेश दिएछन्, ‘मलाई यी दुईवटै राग अहिल्यै सुन्नु प-यो !’ तानसेनले बिन्ती बिसाए रे, ‘महाराज यी राग सन्ध्या टरेपछि रात छिप्पिने बेलामा बल्ल बजाउन मिल्छ, अहिले दिउँसो यस्तो मध्यान्हमा बजाउन मिल्दैन ।’ अकबरले राजाको झ्वाँक देखाउँदै भनेछन् ‘तानसेन, तिमीले मलाई के हुन्छ, के हुँदैन भन्ने होइन । म राजा हुँ, मैले आदेश दिने हो, तिमीले खुरुखुरु बजाउने हो । बजाऊ ।’ तानसेनले पनि परेको राजाले नै ब्यहोरून् भनेर सभामा राग दीपक बजाउन सुरु गरे । छेवैमा राखेको पानसमा आफैँ बत्ती बल्यो ।

फेरि उनले नरोकी खुरुखुरु राग निशा मोहिनी बजाउन थाले । सभामा उपस्थित सबै लामोलामो हाइ काढ्न थाले । अचम्म त यो भयो कि दिउँसै अँध्यारो हुँदै आयो । राजा अकबर डराएर तानसेनलाई संगीत रोक्न आदेश दिए रे । तानसेनले भने रे, ‘महाराज, संगीत भनेको हामीले सुरु गर्ने हो, सक्ने राग आफैँले हो, हाम्रा हात राग सकिएपछि आफैँ रोकिन्छन्, त्योभन्दा अगाडि होइन ।’ राजा अक्कनबक्क भए रे । त्यस उपरान्त राजा अकबरले तानसेनले भनेको मान्न थाले भन्ने उड्तिउड्ति कथा छ ।

सुफी सम्प्रदाय संगीतलाई परमात्मासँग साक्षात्कार गर्ने सबैभन्दा छोटो मार्ग मान्छ । एक सुफी सन्त लेख्छन् ‘वो धुन हि क्या जो विराट सन्नाटाकी धुन सुना न सके, वो बुँद हि क्या जिसमे सारा समुन्दर समा न सके (त्यो धुन के धुन र जसले विराट सन्नाटा नसुनाओस्, त्यो पानीको थोपा के थोपा जसमा सारा समुद्र नसमाओस् !’ अर्का सन्त भन्छन् ‘कागा सब तन खाइयो, चुनचुन खाइयो मासस दो नयना मत खाइयो, मोहे पिया मिलनकि आश (काग रोजी रोजी मेरो सबै मासु खानू, तर यी मेरा दुई आँखा नखानू, मलाई अझै ‘पिया’ आएको हेर्ने आशा छ ¤’ 

एक दिन वाग्मती किनारमा चक्कर काट्दै गर्दा एउटा अचम्मको दृश्य देखेँ । कालो मेखाला लगाएको अघोरी ‘तिम्रो म दिवानी…’ भन्दै आफ्नै पारामा आफैँले गाएर लरीबरी गर्दै हल्लिँदै नाच्दै थिए । मान्छे छेउछाउ जान डराउँदै तर्किएर हिँड्दै थिए । परै बाट ‘नर्सिङ ट्वाक’ को बास्ना हरर आउँदै थियो । एक छिनमा उनको संगीत ‘सेसन’ सकियो । 

मलाई देखेर मुसुमुसु हाँस्दै भने, ‘मलाई यो पागलहरूले पागल भन्नी, अनि म पागल हुनी । यो शिवेले मलाई पागल बनाउनी । उसले धुन बजाउनी, अरू कसैले नसुन्नी ! म सुन्नी, मै नाच्नी !’ भक्ति दर्शनमा भगवान एकमात्र पुरुष हुन्छ, संसार सबै स्त्री ! जसलाई यो भक्तिको रसले छोएको हुन्छ उसैले मात्रै यो ‘लिंग’ बुझेको हुन्छ । कविरदास भन्नुहुन्छ, ‘मै रामकी बहुराइन, रामही मेरा पति होए’ ! यो कुरो अहिलेको नयाँ पुस्ताले पचाउँदैन, ‘कस्तो होमोसेक्सुअल कुरो गरेको यार अंकल गे जस्तो’ भन्छ ।

अरू सम्प्रदायको कुरो त्यति थाहा छैन तर सनातन धर्मको उच्चतम उपलब्धि संगीत नै हो भन्दा अत्युक्ति नहोला । कृष्ण बाँसुरी लिएर आउँछन्, कंशका सेनाले गाई हरेर लैजाँदा एउटा सांगीतिक नमुना प्रस्तुत गर्छन्, गाई सबै फिर्ता आउँछन् । कंशका सेनाको केही जोर चल्दैन । त्यो धुन कुन थियो ? सरस्वतीका हातमा विणा छ, शंकरका हातमा डमरु ! हाम्रो परम्परा नै सांगीतिक । योग, मन्त्र, तन्त्र सबै सांगीतिक । योगमा एउटा गोप्य गुरुगम्य अभ्यास छ, ‘नादविन्दु योग’ । यस योगका माध्यमले शिव र शक्तिको मिलन हुन्छ भनिन्छ ।

नाद झन्कारित भएपछि सुषुप्त अवस्थामा बसेकी शक्ति हठात् उठेर शिवसँग मिल्न आतुर भई सुशुम्णा नाडीको बाटो गरेर आज्ञा चक्रमा पुगी शिवसँग लय हुन्छिन् रे । यो संगीत साक्षात्कार संगीत । यसमा केही कुरा अझ भनौँ । आवाज दुई प्रकारका हुन्छन्, एउटा ठक्कर अथवा घर्षणबाट उत्पन्न हुने र अर्को विनाघर्षण उत्पन्न हुने । विना घर्षण उत्पन्न हुने आवाजलाई ‘अनाहद ध्वनि’ भनिन्छ । यो अनाहद ध्वनि नै परमात्मासँग मिलन गराउने, लय गराउने कडी हो । सांसारिक आवाज कान ठाडा पारेर सुन्नुपर्ने हुन्छ । अनाहद ध्वनि चाहिँ कान थुनेर सुन्नुपर्छ । आजभोलि पश्चिमीकरण भएको बौद्ध ध्यान पद्धतिले यसलाई ‘साउण्ड अफ साइलेन्स’ भन्छ ।

संगीतलाई अरूले कसरी बुझेका छन् त्यो मलाई थाहा छैन तर मैले आफ्नै पाराले बुझेको छु । यसमा दुईवटा प्रक्रिया हुन्छन्, एउटा बाहिर निस्किने र अर्को भित्र पस्ने । बाहिर निस्किने प्रक्रियाले संगीत प्रस्तुत गर्छ, बजाउँछ, गाउँछ उसले पूरा गर्छ । भित्र पस्ने प्रक्रिया चाहिँ श्रोताको हुन्छ । वाद्य सामग्री होस् अथवा गायकले गाएको गीत, राम्रोसँग  बाहिर फ्याँक्ने प्रक्रिया सम्पन्न गरेको छैन भने त्यो गीतसंगीतले कसैलाई पनि आकर्षित गर्दैन । गीत राम्रो हुँदाहुँदै पनि नचल्नु, लोकप्रिय नहुनुको कारण यही होलाजस्तो मलाई लाग्छ । 

एउटा उदाहरण प्रस्तुत गरौँ । एउटा धनुर्धर छ । अगाडि निशाना छ । उसले धनुष उठाउँछ, ताँदो चढाउँछ, तीर सही निशानामा पनि ताक्छ तर छाड्ने बेलामा पूरा शक्ति लगाएर छाड्दैन भने उसको सबै प्रक्रिया पूरा हुँदाहुँदै पनि तीरले निशाना चुम्दैन । किन ? ‘फोर्स’ पुगेन ! त्यो धनुर्धरले यदि आफ्नो पूरा शक्ति धनुषमय भएर उतार्ने हो भने त्यो निशाना अभेद्य रहँदैन । संगीतमा पनि मेरा हिसाबले त्यही कुरा लागू हुन्छ । पुराना गीत शब्दले ‘हिट’ खाए, अहिले पनि गीत ‘हट’ खाँदै छन् तर शब्द छैन ! किन ? 

नारायणगोपालका गीत सबै कर्णप्रिय छन् । एकपटक नारायणगोपालले गीत गाउँदा तीनवटा माइक्रोफोन जोड्नु प-यो रे । बायाँ कुनामा, मध्यमा र दायाँ कुनामा । संगीतका धुनमा ‘हार्मोनी’ बजाउँदै राग तान्दा टाउको लच्किएर साविक माइक्रोफोन भन्दा धेरै वरपर भयो रे ! आँखा चिम्म गरेर गाउन थालेका नारायणगोपालले गीत सकेपछि बल्ल अरू दुईवटा माइक्रोफोन थपेको थाहा पाए भन्ने उड्ति उड्ति हल्ला सुनिन्थ्यो उस् बेलामा ।

एकपटक योगेश्वर अमात्यतिर फर्किऊँ । स्वर नारायणगोपालको जस्तो राम्रो भन्न मिल्दैन, यो मेरो अभिव्यक्ति हो । हिरो हुन अनुहार चिटिक्क परेको हुनुपर्छ भन्ने छैन भन्ने कुरा ‘मिष्टर विन’ हेरेपछि थाहा हुन्छ । अमात्य जब गाउन थाल्छन्, यसरी गाउँछन् मानौँ उनी आफूलाई त्यै गीतसँगै बाहिर सर्लक्क फ्याँकिदिन्छन् । नारायणगोपालले ‘फ्याँकिदिन्छु आफैँलाई दिनभरिको माझमा’ भने जस्तै अमात्य गह भरिएर आँसु पोखिइरहँदा आफू त्यै आँसुमा शब्द र संगीतसँगै सर्लक्क बाहिर आउँछन् । 

जब उनको बाहिर निस्किने प्रक्रिया सकिन्छ, उनी श्रोताका कानमा सर्लक्क पूरै पस्छन्, अनि त्यही आँसु बनेर फेरि श्रोताका आँखाबाट बाहिर निस्किन्छन् । यसरी योगेश्वरको सांगीतिक योगले मलाई चुम्बकले झैँ तान्छ । योगेश्वरलाई एउटा अन्तर्वार्तामा हेरेँ । उनलाई एउटा गीत गाउन अनुरोध गरियो । अन्तर्वार्ता लिनेले योगेश्वरलाई गितार समाउन दिए । गितार हातमा लिँदा लिँदै योगेश्वरको पूरै शरीर लचकदार भयो, मानौँ एक हजार भोल्ट बिजुली प्रसारित भयो । उनले बजाउने गितारभन्दा उनको शरीरको गितार जुन गतिमा बज्दै थियो, त्यसले बाँकी गितार र गीतको अपेक्षा गर्दैनथ्यो । 

त्यो तीन–चार सेकेण्डको समय मेरो स्मृतिमा यसरी छापियो, जसले मेरो संगीतप्रतिको दृष्टिकोण नै बदलिदियो । अब मलाई संगीतमा बाजा फिक्का लाग्न थाले, शब्द अधुरा लाग्न थाले । जहाँ कला छ तर अभिव्यक्ति छैन, राम्रा राम्रा गीत छन्, संगीत झनै कर्णप्रिय छन् तर कता कता खुलेको छैन, के न के खुलेको छैन झैँ हुन्छ । कला र अभिव्यक्ति दुवै मिश्रित भयो भने संगीत र स्वर गौंण कुरा हुँदा रहेछन् । 

लाहुरेको ¥याप हान्ने शैली अलग्गै छ । बीसौं शताब्दीको उत्ताराद्र्धतिर ‘पप म्युजिक’ भन्ने सांगीतिक विधा ‘जन्रा’ सुरु भएकै बखत अर्को ‘रक एण्ड रोल’ भन्ने विधाका चर्चित गायक एल्विस प्रिस्लेलाई ‘संगीत के हो’ भन्ने प्रश्न गर्दा उनी भन्छन्, ‘जुन धुनले तपाईंमा धुन उत्पन्न गर्छ, त्यो संगीत हो’ । पप म्युजिकलाई सतही हिसाबले ‘पपुलर म्युजिक’ भनेर व्याख्या गरेको पाइन्छ । खासमा ‘पप’ को अर्थ हुन्छ शब्दलाई स्वरलेभन्दा पनि धुन र भावले ‘एसेन्स’ व्यक्त गर्ने प्रक्रिया । 

जुन धुन तपाईंभित्र पसेर धुन उत्पन्न गर्छ त्यो संगीत हो । संगीत हामी सबैमा छ । प्राचीन शास्त्र स्वरोदय ज्ञानअनुसार हाम्रो शरीरमा बहत्तर हजार नाडी छन् रे अनि ती सबै नाडीमा अलग अलग संगीत बज्छन रे । यसरी हेर्दा हाम्रो शरीर आफैँमा एउटा अनुपम सांगीतिक अभिव्यक्ति रहेछ भन्ने महसुस हुन्छ । अब एकपटक फेरि सुफीको कुरो ल्याऊँ । वो धुन हि क्या जो विराट सन्नाटाकि धुन सुना न सके ¤ संगीत सुन्दा सुन्दै हामी आफैँभित्र प्रवेश गर्छौं। 

जब बाहिर सुनेको संगीतभित्र पुग्छ अनि भित्रको संगीतसँग एकाकार हुन्छ । त्यो एकाकार भावले विस्तारै बाहिरको संगीत धुमील बनाउँदै भित्रको प्रगाढ बनाउँदै लैजान्छ । भित्रको धुन जति प्रगाढ बन्छ त्यति सुनसान महसुस हुन्छ । जति सुनसान महसुस हुन्छ, त्यति नै खालीपना ‘एम्प्टिनेस’ अनुभूत हुन्छ । जति खाली हुन्छ, त्यति नै आनन्द आउँछ । जति आनन्द आउँछ उति नै खाली हुन्छ, मानौं खाली र आनन्द परस्पर समन्वयात्मक हुन्छन् । 

यो खालीपन नै ‘विराट सन्नाटा कि धुन’ हो । यहाँ जो स्थित छ, ऊ संगीतमय छ । उसलाई जात, धर्म, लिंग, वर्ण, राष्ट्रियता इत्यादि कुनै कुराको मतलब हुँदैन । यो संगीत ‘युनिभर्सल’ हुन्छ । सबै आफ्ना, कोही पराया हुँदैनन् । कसैसँग साइनो लगाउनु पर्दैन, खोज्नु पर्दैन । डेभिड हृयारिसन रविशंकरसँग निर्धक्क सितार बजाउन सिक्छन् अनि तानसेन गौससँग संगीत ¤ वास्तवमा संगीत आफैँलाई आफैँसँग जोड्ने विधा हो । 

संसारमा हामी एकआपसमा सम्बन्धित भएजस्तो देखिन्छौँ तर मूल रूपमा भने आफू आफैँसँग रहने प्रयत्न गरिरहेका हुन्छौँ । संगीतले यो ‘ग्याप’ पूरा गर्छ भने त्यो तिम्रो, मेरो, सबैको हुन्छ । यसले ‘मेरो उमेर र वर्णअनुसार मैले यस्तै संगीत सुन्नु पर्ने हुन्छ’ भन्ने पुरानो किसिमको सांगीतिक मनोविज्ञान (संगीतोलोजी) को पर्खाल भत्काउँछ । ज्याक्स डेरिडाको विनिर्माणवाद जस्तो ¤ अनि लाहुरे भन्छन्, ‘फेरि आएँ लाज पचाएर ¤’

(अष्ट्रेलियाबाट)