संसदीय समितिबाट सहयोग भएन : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नै पार्टीका सांसदहरूले सरकारका काम कारबाहीमा सहयोग नगरेको गुनासो गरेका छन् । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) अध्यक्षसमेत रहेका ओलीले शनिबार पार्टीको संसदीय दलको बैठकलाई सम्बोधन गर्दै आफ्नै पार्टीका सांसदहरूको असहयोगका कारण काम गर्न अप्ठेरो भएको गुनासो गरे ।

प्रधानमन्त्री ओलीले संसदीय समितिहरूले जथाभावी सरकारलाई निर्देशन दिने गरेको बताए । ‘संसदीय समितिहरूले सरकारलाई पटक्कै सहयोग गरेनन्,’ बैठकका एक सहभागीले प्रधानमन्त्रीले व्यक्त गरेको धारणा उद्धृत गरे, ‘सरकारको चाहनाविपरीत संसदीय समितिहरूको निर्देशन आउँदा सरकारलाई काम गर्न गाह्रो भएको छ ।’ 

सार्वजनिक लेखा समितिबाहेक सबैजसो संसदीय समितिमा सत्तारूढ दलकै पकड छ । विभिन्न संसदीय समितिले सरकारका निर्णय र कार्यशैलीमाथि प्रश्न उठाउँदै सरकारलाई आवश्यक निर्देशन दिँदै आएका छन् । 

केही दिनअघि सभामुख कृष्णबहादुुर महराले समेत प्रधानमन्त्रीबाट संसदीय समितिले सरकारलाई सहयोग नगरेको गुनासो आएको बताएका थिए । उनले सांसदहरूको दायित्व र भूमिका प्रष्ट पार्दै सरकारलाई निर्देशन दिने तर नियन्त्रण गर्ने होइन भनेका थिए ।

स्थानीय तहमा कर्मचारी भर्नाका लागि लोकसेवा आयोगले गरेको विज्ञापन रद्द गरी करारमा भर्ना गर्न प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिले दिएको निर्देशनमा सरकार गम्भीर असन्तुष्ट रहेको थियो । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री लालबाबु पण्डितले समितिको निर्देशन असंवैधानिक रहेको भन्दै र सरकारले पालना नगर्ने जनाउन दिएका थिए । 

उक्त निर्देशनपछि संसदका समितिले दिएको निर्देशनको हैसियत के हुने भन्ने वहस पनि चलेको थियो । समिति सभापति शशी श्रेष्ठले संविधानको धारा २९३ उद्धृत गर्दै समितिको निर्देशन पालना अनिवार्य हुने जिकिर गरेकी थिइन् । सरकारले निर्देशन मानेन । लोकसेवा आयोगले निर्धारित कार्यक्रम अनुसार परीक्षा सञ्चालान ग¥यो । 

संसदीय दलको बैठकमा प्रधानमन्त्री ओलीले सरकारका राम्रा कामहरूका बारेमा जनतामाझ पुगेर जानकारी दिन सांसदहरूलाई निर्देशनसमेत दिए । सरकारविरुद्ध भ्रम छर्ने गतिविधि बढेको भन्दै उनले सांसदहरूलाई सरकारका कामको प्रचार गर्न निर्देशन दिएका हुन् । 

चुनाव जितेर मात्रै केही नहुने भन्दै उनले जनताको भरोसा र आशा टुट्न नदिन आग्रह गरे । ‘तपाईंहरूले चुनाव त जित्नुभयो । अहिलेसम्मकै ठूलो कम्युनिष्ट पार्टीको चुनाव जितेर मात्रै भएन । पार्टी, सरकार र तपाईंप्रतिको आशा भरोसालाई जोगाउन पनि जनताका माझमा जानुहोस्,’ प्रधानमन्त्री ओलीको भनाइ उद्धृत गर्दै नेकपा सांसद अमनलाल मोदीले भने, ‘अहिलेसम्मको आस्था र भरोसा हामीले टिकाउन सकेनौँ भने भोलि केही गर्न सकिँदैन ।’

आफूले लडेर ल्याएका एजेण्डाहरूका विरुद्ध केही तŒवहरू संगठित रूपले लागेको ओलीले बताए । ‘हामीले लडेर ल्याएका एजेण्डाविरुद्ध केही तŒवहरू, केही अराजकतावादीहरू, विखण्डन र अराजकता चाहनेहरू षड्यन्त्रमूलक तरिकाले सरकारको विरुद्धमा गएका छन् । उनीहरूले छरेका भ्रमलाई चिर्नुप¥यो,’ ओलीले भने । 

प्रधानमन्त्री ओलीले कहिले कुनै परिवर्तनमा सहभागी नभएकाहरू नै अहिले सरकारलाई असफल बनाउन लागिपरेको आरोप लगाए । ‘सामाजिक सञ्जालमा भ्रम छरेर हुन्छ, कि के गरेर हुन्छ । उनीहरू सरकारलाई असफल बनाउन लागिपरेका छन्,’ ओलीको भनाइ उद्धृत गर्दै  मोदीले भने, ‘तपार्इं (सांसद) हरूले जनतामाझ गएर सबै कुरा बताइदिनुप¥यो । हामीले संविधान कार्यान्वयनमा खेलेको भूमिका, संघीयता कार्यान्वयनमा खेलेको भूमिका, हाम्रो सरकारले कति कानुन निर्माण ग¥यो । कति अन्तर्राष्ट्रिय सम्बन्धहरू स्थापित भए ।’ 

नेकपाको सरकारले विकासको आधारशीला तयार पारेको भन्दै ओलीले आफ्नो सरकारले गरेको सबै विकास निर्माणका कामका विषयमा जनतालाई बताउनुपर्ने बताए । ‘हामीले गरेका विकासका कामका विषयमा अझै अराजक तŒवहरू भ्रम छर्ने गरी प्रचार गरिरहेका भन्ने कुरा जनतालाई बुझाउनुहोस्’, ओलीले सांसदहरूलाई भने । प्रधानमन्त्री ओलीले आफूमा भएका कमजोरी लुकाउनुको सट्टा गल्तीहरू रियलाइज गरेर जनतामाझ जान आग्रह गरेको मोदीले बताए ।

दलको बैठकमा पार्टीका अर्का अध्यक्ष पुष्पकमल दाहालले दशैं, तिहार तथा छठको शुभकामना लिएर जनतामाझ जान निर्देशन दिएको उनले बताए । ‘जनतामाझ शुभकामना सन्देश लिएर जानुहोस् । शुभकामना आदाप्रदानसँगै आफ्ना कुराहरू राख्नुहोस्,’ दाहालले भने, ‘हामीले यत्रो परिवर्तन गरेका छौँ । हामीले लडेर ल्याएको परिवर्तनविरुद्ध केही तŒवहरू घेराबन्दी गर्न षड्न्त्रमूलक तरिकाले लागिराखेका छन् । संगठित रूपमा लागिराखेका छन् ।’

सरकार र परिवर्तनविरुद्ध भइरहेका संगठित षड्यन्त्रलाई सफल हुन नदिन पनि उनले आग्रह गरे ।