समाजवादी पार्टी तत्कार सरकारबाट नहट्ने

124

काठमाडौं । समाजवादी पार्टी तत्काल सरकारबाट नबाहिरिने भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् पुनर्गठनका क्रममा सो पार्टीका अध्यक्षसमेत रहेका उपप्रधानमन्त्री उपेन्द्र यादवको जिम्मेवारी हेरफेर गरेपछि विकसित परिस्थितिबारे समीक्षा गर्न बसेको पदाधिकारी बैठकले तत्काल सरकार नछोड्ने निर्णय गरेको हो ।

पार्टी अध्यक्ष यादव भारत भ्रमणबाट फर्किएपछि शनिबार बसेको पदाधिकारी बैठकले तत्काल सरकारबाट नबाहिरिने निर्णय गरेको हो । यादव शुक्रबार राति स्वदेश फर्किएका हुन् । शनिबार बिहानदेखि आन्तरिक छलफल गरी अपराहृन पदाधिकारी बैठक बोलाइएको थियो । राति करिब १० बजे सम्पन्न बैठकले सरकारसँग वार्ता गर्नका लागि चार सदस्यीय कार्यदलसमेत गठन गरेको छ । 

सरकारमा सहभागी हुनुपूर्व गरिएको दुई बुँदे सम्झौता कार्यान्वयनका सन्दर्भमा वार्ता गर्न गठित कार्यदलमा पार्टीका दुवै अध्यक्ष उपेन्द्र यादव र डा. बाबुराम भट्टराईका अतिरिक्त वरिष्ठ नेता अशोक राई र सहअध्यक्ष राजेन्द्र श्रेष्ठ छन् ।

ओलीले गत बुधबार मन्त्रिपरिषद् पुनर्गठन गर्दै उपप्रधानमन्त्री यादवलाई स्वास्थ्य तथा जनसंख्या मन्त्रालयबाट कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयको जिम्मेवारी दिएका छन् । सोही पार्टीबाट स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा राज्यमन्त्री रहेका डा. सुरेन्द्र यादवलाई बर्खास्त गरिएको थियो । सत्तारुढ नेकपासँग दुई बुँदे सम्झौता गर्दै सरकारमा दुई मन्त्री र एक राज्यमन्त्रीसहित सहभागी भएको समाजवादी पार्टीबाट हाल सरकारमा दुईजनाको मात्र प्रतिनिधिŒव छ ।

सो पार्टीका कतिपय नेताले मन्त्रिपरिषद् पुनर्गठनको नाममा आफ्नो पार्टीको अपमान गरिएको गुनासो गर्दै आएका छन् । यद्यपि पदाधिकारी बैठकले तत्काल सरकारबाट बाहिरिनु उचित नहुने निष्कर्ष निकाल्दै दुई बुँदे सहमतिको सन्दर्भमा सरकारसँग वार्ता गर्न कार्यदल बनाएको पार्टीका नेता डा. शिवजी यादवले जानकारी दिए ।

मन्त्रिपरिषद् पुनर्गठन भएको चार दिनपछि समाजवादी पार्टीले सरकारमा रहिरहने वा बाहिरिने भन्ने सवालमा आन्तरिक छलफल गरेको हो । अध्यक्ष यादव भारत भ्रमणमा रहेका कारण यतिन्जेलसम्म यसबारे आन्तरिक छलफल हुन सकेको थिएन । 

पार्टीसँग छलफल नै नगरी हतारहतार मन्त्रिपरिषद् पुनर्गठन गरिएकोमा आपत्ति रहे पनि समाजवादी पार्टीले विविध परिस्थितिका कारण सरकारबाट तत्काल बाहिरिन नहुने निष्कर्ष निकालेको शिवजी यादवले जानकारी दिए । उनले सत्ता साझेदार दलसँग छलफल नगरी मन्त्रिपरिषद् पुनर्गठन गरिएकोबारे सरकारसँग वार्ताकै क्रममा आफ्नो असन्तुष्टि राखिने जनाए ।

‘अहिले सरकारलाई कमजोर बनाउने परिस्थिति छैन,’ उनले भने, ‘विभिन्न चुनौतीसँग जुधिरहेका बेलामा मन्त्रालय हेरफेर वा मन्त्रिपरिषद्मा आफ्नो पार्टीको प्रतिनिधित्व संख्या घटाइयो भनेर साथ नै छाड्नु उपयुक्त हुँदैन भन्ने निष्कर्ष रहृयो ।’ यसअघि कात्तिक अन्तिम साता बसेको संघीय परिषद् र केन्द्रीय कार्यसमिति बैठकले सरकारमा रहने वा बाहिरिने भन्ने सवालमा निर्णय गर्ने अधिकार पदाधिकारीलाई सुम्पिएको थियो ।