सहकारीमा एउटा उपयोगी पुस्तक

137

हालै ‘सहकारीको नतिजामुखी व्यवस्थापन’ शीर्षकको पुस्तक प्रकाशन भएको छ र यो पुस्तक शिवजी सापकोटाद्वारा लेखिएको छ । नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ (नेफ्स्कून) ले यो पुस्तकको प्रकाशन गरेको छ । सहकारी अभियानमा ३ दशक तथा नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ (नेफ्स्कून) लिको उपल्लो निकायमा ९ वर्षे नेतृत्वकालको अन्तिम औपचारिक सम्बोधनमा संघका निवर्तमान अध्यक्ष डिबी बस्नेतले ‘पढाइभन्दा अनुभव धेरै महŒवपूर्ण हुने’ बताएका थिए । 

व्यावसायिक कलेवरमा आर्जित विशिष्ट, बहुआयामिक र व्यापक अनुभवहरूको सामाजिक पुँजीलाई जिम्मेवार व्यक्तिले आफ्नो जीवनपद्धति बनाउनेमात्र होइन ‘बहुजन हिताय’ उपयोग गर्न पनि सक्नुपर्छ । यसै विषयलाई ध्यानमा राखेर नेपालको सहकारी क्षेत्रमा बिताएका २ दशकीय अनुभवलाई नेफ्स्कूनका प्रमुख कार्यकारी अधिकृत शिवजी सापकोटाको पुस्तकाकार रूपमा ‘सहकारीको नतिजामुखी व्यवस्थापन’ भर्खरै बजारमा आएको छ । उच्च व्यवस्थापकीय जिम्मेवारीका सिलसिलामा मुलुकभित्र र बाहिर सँगालेका विविध अनुभवहरूको विश्लेषणात्मक निचोडका साथ उनको यो पहिलो कृति प्रकाशित भएको हो । नेफ्स्कूनको २८ औं साधारण सभाको अवसर पारेर विद्वत्वर्गको उपस्थितिबीच विभागीय मन्त्रीले यही पुस ४ गते सापकोटाको उक्त पुस्तक सार्वजनिक गरेका हुन् । 

२ सय ५६ पृष्ठको पुस्तक २५ शीर्षकमा विभक्त छ । सहकारीको परिचय, मूल्य, मान्यता र सिद्धान्तदेखि संस्था सञ्चालनमा दैनिक अत्यावश्यक विषयहरू व्यवस्थापकको भूमिका, रणनीतिक योजना, वार्षिक कार्ययोजना, कार्यालय व्यवस्थापन, ऋण लगानी र जोखिम व्यवस्थापन, नीति निर्माण, पल्र्स अनुगमन प्रणाली, स्थिरीकरण कोषको विश्वव्यापी अवधारणा र औचित्य, एकीकरण, सफलताको योजनालगायत शीर्षक यसमा समाविष्ट छन् । आम जनमानसमा सहकारीका विषयमा जति सरल र सतही बुझाइ छ व्यवस्थापकीय नेतृत्वमा रहेकाहरूका लागि यसको सञ्चालन त्योभन्दा कैयौं गुणा चुनौतीपूर्ण छ । चुनौतीका बियाँहरू निफन्ने विधि सापकोटाको पुस्तकले सिकाउँछ । वैचारिक तीक्ष्णतामा सैद्धान्तिक आयातन अन्तर्घुलनको परिणामतः कृति जन्मिएको भान हुन्छ ।

आज मुलुकमा ३४ हजार बढी सहकारीमध्ये १४ हजार वित्तीय सहकारी छन् । तिनले परिचालन गर्ने पुँजीको आकार दिनप्रतिदिन बढ्दो छ । सहकारीका माध्यमबाट हजारौंले लोकतान्त्रिक नेतृत्व र लाखौंले समुचित रोजगारीको अवसर पाएका छन् । उद्यमशीलता, सामाजिक सहकार्य, सहज वित्तीय पहुँच, वित्तीय साक्षरता, सांस्कृतिक र पर्यावरणीय जनचेतनाका समन्यायिक अवसरहरू यिनले सिर्जना गरेका छन् । तर, स्वायत्तताको नाममा सहकारीमा वित्तीय अपचलन, अनुत्पादक क्षेत्रमा लगानी, पारिवारिक घेराभित्र अवसरहरूको सीमितता, अदूरदर्शी रणनीतिजस्ता बग्रेल्ती समस्या नभएका होइनन् । 

त्यही भएर पनि सहकारीकर्मीलाई यस्तो अध्ययन सामग्रीले बेलैमा सचेत गराई ठूलो दुर्घटनाबाट जोगाउनेमात्र होइन प्रगति उन्मुखहरूलाई थप सफलताका लागि उत्प्रेरणा दिन्छ । नीति, विधि र पद्धतिका माध्यमबाट सहकारी सञ्चालनका लागि आवश्यक औजारहरूका बारेमा पुस्तकले यथेष्ट कुरा समेटेको छ । सहकारी सञ्चालनको वैज्ञानिक र वस्तुनिष्ठ पद्धति यसको केन्द्रबिन्दुमा छ । एक सफल सहकारी त्यसमा पनि वित्तीय सहकारी सञ्चालनमा अत्यावश्यक नीति, मापदण्ड, अनुगमन, योजना र शिक्षाजस्ता मूलभूत विषयमा पुस्तकले प्रकाश पारेको छ । 

जीवनको ऊर्जाशील समय सहकारीमै खर्चिएका सापकोटा नेपालको समग्र सहकारी आन्दोलनलाई नजिकबाट अध्ययन, परीक्षण र विश्लेषणमात्र नभई लागु गरी पुष्टि गर्ने ल्याकत राखेकै कारण सुझावहरू दिन सक्षम छन् । नेतृत्वदायी ओहोदामा रहेर सफलता प्रमाणित गरिसकेको आधारमा पनि उनलाई यो पुस्तक लेख्ने नैतिक बल पुगेको ठम्याइ छ । त्यसैले त पुस्तक प्रकाशनका लागि यतिका समय लगाउनुको कारणबारे सापकोटाको उत्तर छ ‘पहिला कामले लेखनको प्रामाणिकता पुष्टि गर्नुप¥यो ।’

सफल सहकारी सञ्चालनका विद्यमान चुनौतीका चाङहरूको चिरफार गर्दै उपचारात्मक विधिहरू सुझाउनु पुस्तकको विशेषता हो । यसबाहेक बचत तथा ऋण सहकारीहरूका लागि नेफ्स्कूनले प्रदान गर्ने उच्चदेखि तल्लो तहसम्मका ३० भन्दा बढी प्रकारका तालिमका लागि आवश्यक खुराक पनि यसमा पाइन्छ । तालिम सहजकर्ताहरूलाई पनि पुस्तक सहयोगी बन्न सक्छ । यो पुस्तक सहकारी सञ्चालनको नीतिगत अपरिहार्यता, संस्थागत सुशासन, प्रणालीगत सुधार, व्यवस्थापकीय लगनशीलता अनि सामयिक सुधारको पक्षमा लेखकको अविच्छिन्न र अविश्रामित पक्षधरताको प्रथम दस्ताबेजीकरण हो । 

पुस्तक पढेर सहकारी सञ्चालक र व्यवस्थापकको विचार होइन यसको नामझँै नतिजामुखी परिणाम प्राप्त भयो भने लेखकीय परिश्रमको उच्च मूल्यांकन हुनेछ । किनकि, आजको आवश्यकता विचारको मन्थन होइन व्यावहारिक रूपान्तरण हो । वित्तीय सहकारी व्यवस्थापनको जटिल विषय उठानका कारण पनि हुनसक्छ अल्पव्ययी वाणीका सापकोटाको कलममा भने वाक्य संयोजनको सरसपूर्ण आभा खट्किन्छ । शब्द बनोट र वर्णविन्यासमा ध्यान पु¥याउनुपर्ने देखिन्छ । केही आयातीत शब्दहरूको बेमेल संयोजन गरिएको भए सुवासित हुन्थ्यो । 

वस्तुगत र व्यावहारिक विश्लेषणको खम्बामा अडेको पुस्तकले सिद्धान्त र इतिहासको जग त्यति धेरै नखनेको भान हुन्छ । साजसज्जा, कागजको गुणस्तर, चित्र र तालिकाहरूको अभाव खट्किन्छ । मूल्य पाँच सयमा खोट लगाउने ठाउँ छैन । सहकारीका राष्ट्रिय र अन्तर्राष्ट्रिय सभा सम्मेलनमा सयौँ कार्यपत्र पेस गर्नुका साथै थुप्रै लेखरचना पनि प्रकाशन गर्दै आएका कलमजीवी सापकोटाका अविष्मरणीय, रोचक, मार्मिक र प्रेरणादायी प्रसंगहरू पुस्तकमा अटाउनुपथ्र्यो भन्ने हो । उच्च व्यवस्थापकीय जिम्मेवारी बहन गर्दाका लेखकका वैयक्तिक घटना परिघटनाले पनि पाठकलाई एकै बसाइमा पुस्तक सक्न अधीर बनाउन सक्थ्यो कि ? पुस्तक पाइने ठाउँ नेफ्स्कून केन्द्रीय कार्यालय र फिल्ड कार्यालयको जनाउले पाठकलाई सहजीकरण गराएको छ । 

कुनै पनि कृतिको ओज त्यसको विचार, भाषाशैली र प्रस्तुतिमा भर पर्छ । तर, नचाहँदा नचाहँदै पनि यो कृतिसँग सापकोटाको नाम र पद कागजमा गमझैँ टाँसिन्छन्, त्यही भएर अध्येताहरूको अपेक्षा अग्लिन्छ । सबै अपेक्षाहरू पहिलो प्रयासमै सम्बोधन हुन्छन् भन्ने छैन तर कम्तीमा सुरुवात साधुवादको हकदार छ । सामाजिक सञ्जालमा पोखिएका बहुसंख्यक विचार, साथीभाइको हौसला र शुभचिन्तक सहकारीकर्मीको सुरुवाती स्याबासीले सापकोटालाई सजिलो सिरानी प्रदान गरोस् । सहकारी खोजकर्ताहरूलाई खँदिलो खुराक, अध्येताहरूलाई आनन्ददायी अवसर, पेसाधर्मीहरूलाई पेसागत पथ प्रर्दशन र नवीनताका पक्षधरहरूलाई वैचारिक बहस विनिर्माणमा सहयोगी सिद्ध बन्न सकोस् एक सहकारीकर्मीको कामना । जय सहकारी ।

(तालिम अधिकृत, नेफ्स्कून)