साउदीमा मृत्युदण्ड पाएका उमेश सकुशल स्वदेश फर्किए।

राजकरण महतो/अन्नपूर्ण,,

जनकपुरधाम:= मृत्युदण्डलाई जितेर धनुषाका ३९ वर्षीय उमेश यादव नेपाल फर्किएका छन् ।पाकिस्तानी सहकर्मीको हत्या आरोपमा उनलाई साउदी अरेबियामा मृत्युदण्डको सजाय सुनाइएको थियो । धनुषाको कमला नगरपालिका ३ का बासिन्दा उमेश २००६ मा वैदेशिक रोजगारीको शिलशिलामा साउदी पुगेका थिए।

पाकिस्तानी नागरिक मोहम्मद लतिफ वासिरको हत्या गरेको अरोपमा जुवेलका जेनर कोर्टले १५ अप्रिल २०१८ मा मृत्यु दण्डको सजाय सुनाएको थियो। उमेशलाई घाँटी काटेर २४ घण्टा झुण्डयाउने अदालतले आदेश दिएको थियो। बैदेशिक रोगजागरिमा गएको केहि समयपछि विवादकै क्रममा पाकिस्तानी नागरिकको मृत्यु भएपछि उमेशलाई त्यहाँका प्रहरीले हत्या आरोपमा पक्राउ गरी कारबाही प्रक्रिया अघि बढाएको थियो। जुवेल जेनरल कोर्टको आदेशमा उमेशलाई साउदीकै जुवेल जेलमा राखिएको थियो।

उनको जीवन रक्षाका लागि दुई वर्षदेखि अभियान चलाएका जनकपुरका समाजिक अभियन्ता सरोज रायले उनलाई बिहानै विमानस्थलमा स्वागत गरेका छन्। उमेशले मृत्यु दण्डको सजाय पाउने समाचार दुईवर्ष अघि सार्वजनिक भएपछि जनकपुरका समाजिक अभियन्ता रायले उनको जीवनरक्षाको निम्ति पहल अघि बढाएका थिए। अभियन्ता रायले दुईवर्षदेखि ‘ब्लडमनी’ को लागि चन्दा संकलन सुरु गरेका थिए। उनले परराष्ट्र मन्त्रालय, दुताबासको सहयोगमा मृतक पाकिस्तानीको घरमा समेत पुगेर उमेशको जीवनरक्षाको निम्ति गुहार गरेका थिए।

मृतक परिवार उमेशलाई बचाउन सकारात्मक भएपछि अभियन्ता राय ब्लडमनीलगायत अदालती प्रक्रियामा अगाडी बढेका थिए। उनले चन्दा संकलन गरी पाकिस्तानी मृतक परिवारलाई ३० लाख पाकिस्तानी रुपैयाँ ‘ब्लडमनी’ समेत दिएपछि उमेश जेलबाट रिहा भएका थिए।