सागमा २ हजार ३५ अफिसियल

104

काठमाडौं । नेपालमा हुने १३औं दक्षिण एसियाली खेलकुद (साग) का लागि प्राविधिक समितिले तयारी अन्तिम चरणमा पुगेको जनाएको छ । प्राविधिक समितिले शनिबार आयोजना गरेको पत्रकार सम्मेलनमा संयोजक गंगाबहादुर थापाले सागमा समावेश खेलका प्रतियोगितास्थल तोक्नेदेखि प्राविधिकको संख्यासम्म निर्धारण गर्ने काम सम्पन्न भएको जानकारी दिए । 

साग आयोजनाका लागि राष्ट्रिय र अन्तर्राष्ट्रिय गरी २ हजार ३५ जना अफिसिलको आवश्यकता पर्ने प्राविधिक समितिले जनाएको छ । जसमा अन्तर्राष्ट्रिय रेफ्री तथा जज र जुरी गरी ६ सय १३ जना नेपाल आउनेछन् भने राष्ट्रियस्तरका रेफ्री तथा जज र जुरीको संख्या ७ सय ३२ जना छ । यस्तै प्रावधिक सहायकको रूपमा ६ सय ९० जनशक्ति परिचालन हुने छन् । 

सागमा ३१७ स्वर्ण र त्यतिकै संख्यामा रजत पदकका लागि प्रतिस्पर्धा हुनेछ । यसैगरी कास्य पदकको संख्या भने ४८१ रहेको छ । सागमा स्विमिङमा सर्वाधिक ३८ स्वर्ण पदकका लागि प्रतिस्पर्धा हुनेछ । यसैगरी एथ्लेटिक्समा ३६ स्वर्ण पदकका लागि प्रतिस्पर्धा हुँदा उसुमा २२ स्वर्णका लागि प्रतिस्पर्धा हुनेछ । तेक्वान्दोमा २९ भारतोलन, कुस्ती र सुटिङमा २०–२० स्वर्ण पदकमा प्रतिस्पर्धा हुनेछ । 

करातेमा १९ तथा बक्सिङमा १६ स्वर्ण पदका लागि भिडन्त हुनेछ । यसैगरी जुडोमा १५, फेन्सिङमा १२ र आर्चरीमा १० स्वर्ण पदमा खेलाडीले प्रतिस्पर्धा गर्नेछन् । साइक्लिङमा ८ तथा ब्याडमिण्टन, टेवल टेनिस र टेनिसमा ७–७ स्वर्ण पदकका लागि भिडन्त हुनेछ । ट्रायथलनमा पाँचवटा स्वर्ण पदकमा प्रतिस्पर्धा हुँदा स्क्वास र गल्फमा चारवटाका लागि भिडन्त हुनेछ । यस्तै बास्केटबल, थ्री बाई थ्री बास्केटबल, क्रिकेट, फुटबल, हृयाण्डबल, कवड्डी, खो खो, भलिबल र बीच भलिबलमा २–२ वटा स्वर्ण पदकमा प्रतिस्पर्धा हुनेछ ।

पोखरा रंगशालामा सिट जडान

यसैबीच प्राविधिक समितिका अध्यक्ष थापाले महिला फुटबल पोखरा रंगशालामै आयोजना गर्नेगरी तयारी भइरहेको बताए । पोखरा फुटबल मैदानको ग्यालरी ‘सी’अन्तर्गतको विशिष्ट श्रेणीसहितको प्यारापिटमा शनिबार सिट जडान सम्पन्न भएको छ ।

पोखरा रंगशाला फुटबल मैदानमा महिला फुटबल प्रतियोगिता हुने भएपछि यतिबेला फुटबल मैदानको कामसमेत धमाधम भइरहेको छ । पोखरामा मुख्य खेलको रूपमा हेरिएको महिला फुटबलका लागि निर्माणाधीन फुटबल मैदानमा प्रतियोगिता तत्काल पूर्व र पश्चिम भागमा प्यारापिट जडान गरिनेछ । 

मैदानलाई दुवो भारतको कोलकत्ताबाट ल्याइएको हो भने प्यारापिट स्टिल मोडुलर ग्राण्ड स्ट्याण्डका सामान भने फ्रान्सबाट ल्याइएको हो । उक्त प्यारापिट जडान गर्न फ्रान्सबाट दुईजना प्राविधिकसमेत पोखरा आएका छन् । आजमात्रै ९ वटा मालबाहक ट्रकहरू भारतको बन्दरगाहबाट सामान लिएर पोखरा आइपुगेका छन् । ती सामानले पूर्वतर्फको प्यारापिट जडानको काम हुनेछ । 

पोखरा रंगशालामा नवनिर्मित प्यारापिटमा जडित सिटहरू रातो र निलो रंगका छन् । ती सिटहरू नेपालको झण्डासँग मिल्ने गरी राखिएको हो । मैदानको काम लगभग अन्तिम अवस्थामा रहेको र करिब १० हजार दर्शक क्षमताको सिट जडान गरिने प्रोजेक्ट म्यानेजर बरालले जानकारी दिए ।

सागअन्तर्गत महिला फुटबल प्रतियोगिता पोखरा रंगशाला फुटबल मैदानमा हुनेछ भने अभ्यासस्थलका लागि दोबिल्लामा रहेको सहारा एकेडेमीको खेल मैदान, हेम्जामा रहेको गौरीशंकर खेल मैदान, प्रहरी गण तालिम केन्द्र र पश्चिम पृतना विजयपुरको खेल मैदान तोकिएका छन् ।

महिला फुटबल मंसिर १७ गतेदेखि २४ गतेसम्म हुनेछ । प्रतियोगितामा चार राष्ट्रको सहभागिता छ । आयोजक नेपालसहित भारत, माल्दिभ्स् र श्रीलंकाले खेलमा सहभागिता जनाएका छन् भने बंगलादेश, भुटान र पाकिस्तानले भने सहभागिता जनाएको छैन । यसैगरी ट्रयाक एण्ड फिल्डका लागि अन्तर्राष्ट्रिय एथलेटिक्स महासंघका प्राविधिक टोलीहरू आइतबार पोखरा आइपुग्ने प्रोजेक्ट म्यानेजर बरालले बताए ।