सातै प्रदेशमा फोरजी सिम वितरण अभियान

567

काठमाडौं । नेपाल टेलिकमले पूर्वको विर्तामोडदेखि पश्चिमको महेन्द्रनगरसम्म सातै प्रदेशका विभिन्न प्रमुख शहरमा सहुलियतमा फोरजी सिम वितरण, परिवर्तन र स्तरोन्नति कार्यलाई अभियानका सञ्चालन गरेको छ । कार्यक्रमअन्तर्गत गत कार्तिक २० गते विर्तामोड र २२ गते वीरगञ्जमा सिम वितरणका फोरजी सेवाको प्रचारप्रसार तथा व्यापार प्रबद्र्धन कार्य सम्पन्न गरेको छ । 

आइतबार चितवनको भरतपुरस्थित नारायणी नदी किनारमा सिम वितरण गरेकोमा मंगलबार नेपालगञ्जको रामलिला मैदान, बिहीबार सुर्खेतको आँखा अस्पताल क्षेत्र, शनिबार महेन्द्रनगरको खुला मञ्च र मंसिर ४ गते पोखराको अमरसिंह मैदानमा सिमकार्ड वितरण गर्ने कार्यक्रम रहेको टेलिकमले जनाएको छ । टुजी वा थ्रीजी सिम भएका कम्पनीका ग्राहकले २ सय एमबी डाटा बोनससहित फोरजी सिम प्राप्त गर्न सक्नेछन् । 

अभियानअन्तर्गत ग्राहकले नेपाल सरकारले जारी गरेका परिचयपत्र, नागरिकता वा मतदाता परिचयपत्र वा सवारी चालक अनुमतिपत्रको फोटोकपी र एकप्रति फोटो पेश गरी सिमकार्ड प्राप्त गर्न सक्नेछन् । गृष्मा ब्रोडकास्टिङले सातै प्रदेशका विभिन्न स्थानमा प्रतिष्ठित कलाकारका साथमा गरिरहेको सांगीतिक कार्यक्रम सप्तरङ २ मार्फत पनि टेलिकमको फोरजी सेवाको प्रचारप्रसार तथा व्यापार प्रबद्र्धन गरिएको टेकिलमले जनाएको छ । 

सांगीतिक कार्यक्रमको प्रमुख आकर्षण महानायक राजेश हमाल रहेका छन् भने साथमा जितु नेपाल, गायक सुगम पोखरेल, हिमाल सागर, मेलिना राई, प्रकाश सपूत, रवि ओडलगायत रहेको बताइएको छ । कम्पनीले नवीनतम् प्रविधिसहितको फोरजी सेवाको गत असोज १५ गते देशभर सातै प्रदेशमा एकैसाथ सेवा प्रवाहको शुभारम्भ गरेको थियो ।