सुनको मूल्य अझै बढ्ने संकेत

96

काठमाडौं । सुनको मूल्य निरन्तर बढ्दो क्रममा रहेको छ । नेपाली बजारमा सोमबार सुनको मूल्य तोलाको ७६ हजार रुपैयाँ पुगेकोमा मंगलबार भने नेपाली बजारमा ७५ हजार ५ रुपैयाँ कायम भएको छ । तथापि अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । महासंघका अध्यक्ष मोहन सुनारका अनुसार मंगलबार बिहान सुनको मूल्यमा केही कमी आए पनि अपराहृनतिर अन्तराष्ट्रिय बजारमा सुनको मूल्य बढेकोले मूल्य बढ्ने संकेत देखिएको छ । अमेरिका र इरानबीच युद्ध जोखिम बढ्दै गएपछि  अन्तराष्ट्रिय बजारमा सुनको मूल्य उकालो लागेको हो । अमेरिका र इरानबीच तनाव, चीन र अमेरिकाबीच व्यापारिक युद्ध लगायतका कारण लगानीकर्ताहरू सुरक्षित लगानीका लागि सुनतर्फ आकर्षित हुन थालेका कारण सुनको मूल्य बढ्न गएको महासंघका अध्यक्ष मोहन सुनारले हिमालय टाइम्सलाई बताए । उनले भने, ‘अमेरिका र इरानबीच युद्धको संकेत, चीन र अमेरिकाबीच व्यापारिक युद्धले लगानीकर्ताहरू सुनतर्फ आकर्षित भएका छन् । अन्तराष्ट्रिय बजारमा अमेरिकी डलर कमजोर भएको छ भने अन्तराष्ट्रिय शेयर बजार पनि ओरालो लागेको छ । जसकारण लगानीकर्ता सुरक्षित लगानीको खोजी गर्दैै सुनतर्फ आकर्षित हुन थालेका छन् ।

सुनको भाउ लगातार बढेपछि बजारमा सुनको बिक्री लगभग बन्द भएको पनि उनले बताए । उनका अनुसार दैनिक २० केजीभन्दा बढी सुनको माग हुने गरेकोमा अहिले २५ प्रतिशतमा झरेको छ । अध्यक्ष सुनारले भने, ‘विगतमा दैनिक २० सुनले पनि नपुग्नेमा अहिले दैनिक १० सुन पनि बिक्री हुन सकेको छैन ।’ त्यसो त पुस महिना सुनका लागि अफसिजन मानिन्छ तर पनि तुलनात्मक रूपमा कारोबार निकै खस्किएको उनले बताए । गरगहना खरिद गर्ने ग्राहक घटे पनि गरगहना बिक्री गर्न आउने ग्राहकको संख्या भने बढेको उनले बताए । उनले भने, ‘ग्राहकहरू नै गरगहना बिक्रीका लागि आउन थालेका छन्, बिक्री ठप्प जस्तै छ ।’ त्यसो त सुनको अस्थिर मूल्यका कारण विगत केही महिनादेखि नै अपेक्षाअनुसार सुनको कारोबार हुन सकेको छैन । ग्राहकमा सुनको मूल्य घटला र खरिद गराँैला भन्ने सोच रहेकोले पनि यस्तो भएको हुनसक्ने सुनारले बताए । विगतमा क्राइमियालाई लिएर रुस र युक्रेन तनाव हुँदा होस् वा सिरिया युद्धको समयमा पनि सुनको भाउ उकालो लागेको थियो ।