सैन्य ‘कु’ पछि थाइल्याण्डमा पहिलो पटक निर्वाचन

2158

बैंकक । सन् २०१४मा भएको सैन्य ‘कु’ पछि थाइल्याण्डमा आइतबार पहिलोपटक निर्वाचन भएको छ । विद्यालय, मन्दिर, सरकारी कार्यालयलगायत ठाउँमा बिहानैदेखि मतदान गर्नेको भीड लागेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

बहुप्रतीक्षित निर्वाचनप्रति थाइल्याण्डका धेरै जनता उत्साहित देखिएका छन् भने राजाले पनि आफ्नो असल नेता छान्न आहृवान गरेका छन् । थाइ नरेश माहा वाजिरालोङकोर्नको आहृवानलाई स्थानीय सबै टेलिभिजनले पटकपटक प्रसारण गरिरहेका छन् । राजाको सो आहृवान दुर्लव भएको उनीहरूको भनाइ छ ।

थाइल्याण्डमा संवैधानिक राजतन्त्र छ भने राजाले राजनीतिमा कुनै भूमिका खोज्ने गरेको पाइएको छैन । राजपरिवारलाई नकारात्मक असर पर्नेगरी टिकाटिप्पणी तथा व्यवहार गर्न नपाइने कानुनी व्यवस्था छ । निर्वाचनका लागि देशभर पाँच करोड दश लाखभन्दा बढी मतदाता छन् । तीमध्ये झण्डै एक लाख २० हजार मतदाताले देश बाहिरबाट मतदान गर्न पाउनेछन् । निर्वाचन आयोगका अधिकारीले दिएको जानकारीअनुसार देश बाहिरबाट मतदान गर्नेहरू ६७ देशमा छन् । मतदान गर्ने आप्रवासीमध्ये सबैभन्दा धेरै अष्ट्रेलियामा रहेका छन् भने दोस्रो धेरै अमेरिकामा रहेका छन् ।

निर्वाचनका लागि झण्डै दश हजार उम्मेदवार चुनावी मैदानमा उत्रिएका छन् । थाइल्याण्डमा देशभर कुल ३५० निर्वाचन क्षेत्र छन् । हरेक निर्वाचन क्षेत्र र पार्टीको सूचीबाट निर्वाचन हुने कुल सांसदको संख्या पाँच सय छ । निर्वाचनका लागि करिब ४० राजनीतिक दलले निर्वाचन आयोगमा नाम दर्ता गराएका छन् । सैनिक शासक रहेकाले उक्त निर्वाचनमा दलले सहभागिता नजनाउने अनुमान गरिएका बेला सरकारले दललाई दर्ताका लागि बाटो खोलिदिएपछि निर्वाचनको वातावरण थप बनेको हो । पूर्वप्रधानमन्त्रीद्वय थाक्सिन सिनावात्रा र यिंलक सिनावात्राको थाई रक्षा चार्टनामक पार्टीलाई अदालतले विघटन गरिदिएपछि सो पार्टी निर्वाचनमा सहभागी हुनबाट वञ्चित भएको छ । थाकिसन सिनावात्रालाई सन् २००६ मा सैनिक सत्ताविद्रोहबाट पदच्यूत गरिएको थियो । त्यसपछि सन् २०१४ मा उनकी बहिनी यिंलकको सत्तामा पुनरागमन भएको थियो । तर उनलाई पनि भ्रष्टाचारको आरोपमा सत्ताबाट हटाइएको थियो । त्यसपछि पाँच वर्षदेखि सैनिक नेता प्रयुत चान–ओ–चाले सरकारको नेतृत्व गरेका छन् । उनी पनि अहिले निर्वाचनमा प्रतिस्पर्धा गरिरहेका छन् ।