स्तब्ध :- लघु कथा ।

लेखक: सरू बस्नेत ,,

झरी परेको निकै लामो समय भइसकेको थियो।वर्षायामको समय धान रोप्ने काम लगभग सकिएको तर पानी भने परिरहेकै थियो ।खेतमा पानी भरिएर बगिरहेको थियो ठाउँ ठाउँमा ।
आकाश सफा होला भन्ने आशै थिएन ।जताततै हिलो र पानी मात्र देखिन थाले ।लगाइएको बाली पनि पानी बढी भएर बिग्रे ,बग्न थाले।

श्यामको चुहिने घरको छानोबाट पनि पानी छिर्न थाल्यो ।घरको आर्थिक अवस्था कमजोर भएको कारण गतिलो घर बनाउन सम्म सकेको थिएन ।जेनतेन साहूको खेत कमाएर घर चलिरहेको थियो ।
श्यामका तिन सन्तान थिए। छोरीहरू असाध्यै मेहनती तर छोरो अति नै अल्छी, कामचोर थियो। पढाईमा मन लगाउँदैनथ्यो। छोरीहरू भने पढाइ भ्याएर घरको कामकाजमा पनि सहयोग गर्थे ।यो देखेर श्याम र उसकी पत्नी विनिता असाध्यै खुसी थिए तर छोरोदेखी चिन्तित। एउटा छोरोलाई दुखी बनाउन पनि चाहाँदैनथे। गरिबीको चपेटामा पिल्सिनुपर्दाको पीडा छँदैछ । “विनिता हामीले जति मेहनत गर्दा पनि सुखी हुन सकेनौँ ।तिमीहरूलाई सुख दिन सकिनँ ।भाग्यले पनि मेहनतीलाई नै ठग्दो रहेछ ।बरु मसँग नआएकी भए यस्तो कष्ट भोग्नुपर्ने थिएन होला ।मैले ठूलो पाप गरेको छु तिमीहरूमाथि। “आँखाभरि आँसु बोकी श्रीमानले मलिन अनुहार लिएर भने ।


“होइन के भन्नुभएको यस्तो पनि बोल्ने हो ?म खुसी छु तपाइसँग ।चोखो माया जो पाएकी छु ।भगवान जस्तो पति पाएकी छु ।मनकारी हुनुहुन्छ यही काफी छ मलाई ।अर्को जुनीमा पनि तपाईं नै पाऊँ पतिका रुपमा भनेर प्रार्थना गरेकी छु ।तपाईं चाहिँ…..” यति भन्दै गर्दा बोली रोकियो विनिताको पनि।
बाआमाको कुरा ढोकाबाट सुनिरहेको थियो छोराले।बाआमाको प्रेम देखेर अनि आँखामा आँसु देखेर उसको मन भावुक भएर आयो अनि बाबुआमा समक्ष गएर भन्यो – अहिलेसम्म मैले हजुरहरूलाई बुझ्न सकेको रहेनछु । हाम्रो गरिबीसँग जुध्न म अब हजुरसँगै काँधमा काँध मिलाएर चल्नेछु बाबा । जवान छोराको यो कुराले एकाएक उनीहरू स्तब्ध भए।
[सरू बस्नेत ]
(निजगढ बारा
)